निर्णय नं. ४५०८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५०८ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/०४/१५ ३५९३ निर्णय नं. ४५०८ ने.का.प. २०४९ (क) अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४८ सालको रिट नं. ५६ आदेश भएको मिति : २०४९।४।१५।५ मा निवेदक : का.न.पा.वा.नं. १४ बख्खुडाँडा बस्ने उषासिंह राजपुत विरुद्ध प्रत्येर्थी : जिल्ला कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषण (१) नगर पञ्चायतले हक बेहक परेको बाहेक अरु सडक नाली गल्ली समेतका कुरामा उजूर परेमा जाँची किनारा गर्न सक्ने अधिकार प्रदान गरेको पाइन्छ तर हक बेहक परेकोमा निर्णय गर्न पाउने अधिकार नगर पञ्चायतलाई प्रदान नगरेको । (प्रकरण नं. १९) (२) उजूरवाला तथा प्रतिवादीले मेरो भन्दैमा हक बेहकको प्रश्न उठेको हुने नभई कुनै पनि मुद्दामा वादी प्रतिवादी बीचमा मुख नमिली सबूद प्रमाण बुझी विवाद विषयमा हक निश्चित गर्नु पर्ने हुन आउँछ भने त्यो मुद्दामा हक बेहकको प्रश्न समावेश भएको भन्नु पर्ने (प्रकरण नं. २०) (३) न्यायिक तथा अर्धन्यायिक निकायबाट आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई गरेको निर्णयबाट आफ्नो हकमा असर पर्ने व्यक्ति आफ्नो हकको खोजिमा कानुन तथा नेपालको संविधान बमोजिम असाधारण अधिकार क्षेत्र गुहार्न अदालतमा प्रवेश गर्दछ भने अधिकार बिहिन निकायले गरेको निर्णय कानुनसंगत मान्न मिल्ने अवस्था नहुने । (प्रकरण नं. २०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त, विद्वान अधिवक्ता श्री बाबुराम गिरी अवलम्वित नजिर : ने.का.प. २०४३, भाग २८, अंक ९, पृष्ठ ८५८ आदेश न्या.कृष्णजंग रायमाझी १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परेको प्रस्तुत रिटनिवेदन सर्वोच्च अदालत संयुक्तइजलास समक्ष पेश भएकोमा सो इजलासका माननीय न्यायाधीशरु बीच राय मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :– २. का.जि. साविक कलंकी गाउँ पंचायत वार्ड नं. ९ ख. (हाल का.न.पं. वार्ड नं. १४) कि.नं. २५ को १–०–२ जग्गा मध्ये पश्चिम तर्फबाट पूर्व मिथिलेशकुमार सिंहलाई बकस दिएको जग्गा पश्चिम नन्दराज जोशीको कि.नं. ६ को जग्गा, उत्तर कि.नं. २७२ को जग्गा दक्षिण बाटो, यति ४ किल्ला भित्रको ०–१०–० जग्गा मिति २०३७।९।२ का दिन मा.का. मार्फत रजिष्ट्रेशन गराई भिमबहादुर थापा मगरबाट हालै देखिको बकसपत्र पाएको कित्ताकाट हुँदा कि.नं. ३५४ घर घटी भई ०–९–२ कायम हुन आएको नन्दीकेशर गुठीको लगत नं. ३०९ को खेत जनिएको गुठी मोही जग्गा हुँदा गुठी रैकर परिणत गराई सो को जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएको सो जग्गामा गुठी तहसिलबाट स्वीकृत पत्र लिई का.न.पं. बाट २०४३।६।१९ मा नक्सा पास पूर्जी पाई घर समेत बनाई सकेकी र चारै तर्फ पर्खाल लगाउनु पर्ने भएको र ऐनले पर्खाल बनाउन नक्सा पास गराउन नपर्ने भएको हुनाले २०४३ सालमा घर निर्माण गर्दा नै पर्खाल समेत निर्माण गरी आफ्नो घर कम्पाउण्ड घेरेर समेत गरी सकेको थिएँ । प्रत्यर्थी धनकुमारीको राजीनामाको चारै किल्लामा बाटो नै नभएको जग्गामा आवत जावत गर्न कतैबाट कुनै उपाय नदेखी २०४३ सालमा नै मैले निर्माण गरी सकेको पर्खाललाई ०४४।११।१६ मा निर्माण गर्न लागेको व्यहोरा देखाई सो पर्खाल भत्काई बाटो कायम गरी प