निर्णय नं. ४५१९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५१९ - बन्दीप्रत्यक्षीकरण भाग: ३४ साल: २०४९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४८/१०/२४ २८८५ निर्णय नं. ४५१९ ने.का.प. २०४९ (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४८ सालको रि.नं. १५६८ आदेश भएको मिति: २०४८।१०।२४।६ मा निवेदक : केन्द्रीय कारागार त्रिपुरेश्वरमा वादी बन्दी रहेको कोटीजियो मानिकाको हकमा मोतिराज गौतम विरुद्ध विपक्षी : श्री ५ को सरकार त्रिभुवन विमानस्थल भन्सार कार्यालयसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) पुनरावेदनको उपचारको लागि आफूले दिनु पर्ने धरौट वा जेथाजमानी दिनु पर्ने कानुनी बाध्यतालाई उछिनेर रिट क्षेत्रबाट प्रवेश गर्ने पक्षलाई सुविधा प्रदान गर्दै जाने हो भने धरौट वा जेथाजमानी राखेर मात्र पुनरावेदन गर्न पाउने कानुनी बाध्यताको कुनै अर्थ नआउने । (प्रकरण नं. १६) (२) यस अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग कुनै कानुनद्वारा तोकिएको जेथाजमानी राख्नु पर्ने कानुनी अनिवार्यताकलाई निस्कृय गराउनको लागि पनि होइन न त पुनरावेदनका उपचारको विकल्प रिटनिवेदन हुन सक्दछ । रिट निवेदकलाई सजायँ गर्ने गरेको भन्सार अधिकृतको आदेश के कस्तो तथ्यमा आधारित छ सो तथ्यले निवेदकको सम्बन्धमा के कस्ता अपराध कायम गर्छ वा गर्दैन र निकासी पैठारी ऐन, २०१३ वा भन्सार ऐन, २०१९ कुन ऐनको अपराध कायम हुन्छ भन्ने तथ्य र सबूद प्रमाणको जाँचबुझ रिट क्षेत्रबाट निरोपण गर्ने कुरा होइन । (प्रकरण नं. १६) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत फैसला न्या.केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ बमोजिम पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. म निवेदक पेशागत रुपमा इन्जिनीयर समेत भएकोले एउटा शिक्षित एवं प्रतिष्ठित ईटालियन पर्यटक हुँ । देश विदेश भ्रमण गर्न आफ्नो अभिरुची बमोजिम समय र कामको अनुकूलता मिलाई प्राय हरेक वर्ष घुम्ने सिलसिलामा गत २०४७ साल जेष्ठमा हङकङ आई पुगेको थिएँ । त्यहाँ घुम्ने र किनमेल गर्ने क्रममा आफ्नो मुलुक भन्दा सुनको भाउ निकै सस्तो भएकोले १० किलो ग्राम जति सुन समेत खरीद गरी स्वदेश फिर्ता जाने उद्देश्यले म बस्ने होटल प्रबन्धकसंग हवाई जहाजको टिकट बुक गरी माग्न कुरा गर्दा निज प्रबन्धकले यति नजीक आएर नेपालको सुन्दरता नहेरी फर्किनु हुन्छ भनी भन्दा सल्लाह तर्क उचित लागी मोटा मोटी खर्चको हिसाब सोधी काठमाडौंका लागि शाही नेपाल वायु सेवा निगमको टिकट बुक गराई मिति २०४७।२।२७ गतेका दिन काठमाडौं आई पुगेको थिएँ । काठमाडौं प्रस्थान गर्नु अघि आफूले किनी सकेको उक्त सुन बोकी हिड्ने असुविधा र असुरक्षित समेत हुने भएकोले निज होटल प्रबन्धकलाई नै २।४ दिन राखी दिन अनुरोध गरेकोमा निजले सुन राख्ने झंझट बोक्न नचाही काडमाडौं एयरपोर्टमा प्रज्ञापनपत्र सहीत ट्रान्जीटमा राखे हुन्छ भनी सल्लाह दिएकोले आफ्नो उक्त खरीदी सुन समेत लिई काठमाडौं त्रिभुवन विमानस्थलमा आई पुगेको थिएँ । जहाजबाट ओर्लिनासाथ अध्यागमन भन्दा पहिले भन्सार कर्मचारी कहाँ सिधै गई उल्लेखित सम्पूर्ण व्यहोरा सुनाई आफ्नो सुन ट्रान्जीटमा राख्ने प्रबन्ध मिलाई दिनु पर्‍यो भनी खरीदी सुनको बील सहित आग्रह गरेको थिए तर भन्सार कर्मचारीले यो सुन चोरी पैठारी गर्ने उद्देश्यले तिमिले ल्याएका हौं ट्रान्जीट राख्ने कुरा हुन सक्दैन । तिमिले अब यो सुन फिर्ता लग्नु भनी च