निर्णय नं. ६१६६ - कीर्ते जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१६६ - कीर्ते जालसाजी भाग: ३८ साल: २०५३ महिना: असार अंक: ३ फैसला मिति :२०५२/०३/०७ ३३३९ निर्णय नं. ६१६६ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत २०५० सालको फौ.पु.नं. ६४२ फैसला मिति २०५२।३।७।४ मुद्दाः कीर्ते जालसाजी । पुनरावेदक- जिल्ला सप्तरी फत्तेपुर गाउँ विकास समिति वडा नं. ३ बस्ने जगत साहु हलुवाई वादी विरुद्ध विपक्षी- जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ४ बस्ने सुधिर कुमार चौधरी कैथल वैश्य प्रतिवादी सामान्यतया अर्को व्यक्तिको नामबाट सही गर्ने गराउने व्यक्तिले वास्तविक नामधारी व्यक्तिबाट लुकीछिपी नै त्यस्तो क्रिया गर्ने स्वाभाविक हुँदा त्यस्तो कीर्ते जालसाजीपुर्ण कार्यमा वास्तविक व्यक्तिहरुको संलग्नता थियो वा निजहरुलाई सो को जानकारी थियो भनी अन्यथा प्रमाणित नभएसम्म अदालतले अनुमान गर्न नमिल्ने। ( प्र.नं. १२) बस्तुतः अड्डामा फिराद दर्ता गराउने व्यक्तिको म्याद तामेलमा कुनै किसिमको भूमिका हुने नभई सम्बन्धित अड्डाको सम्बन्धित कर्मचारीको प्रत्यक्ष संलग्नता रहने हुँदा सो फिरादको आधारमा तामेल भएको म्याद जालसाजीपुर्ण देखिन आएमा फिराद दिएको कारणले मात्र फिरादकर्ताको संलग्नता थियो भन्न कानूनतः मिल्ने नदेखिने । (प्र.नं. १३) जुन कर्मचारीबाट म्याद तामेलीको क्रिया भएको हो सो क्रियालाई कीर्ते जालसाज भनी वादीले दावी लिएता पनि म्याद तामेलीको यावत प्रक्रियामा प्रमुख भूमिका राख्ने सम्बन्धित तामेलदार उपर कुनै दावी लिएको पाईदैन । केवल फिराद दिने र म्याद तामेलीमा साक्षी बस्ने भनिएका व्यक्तिहरु उपर दावी लिएकोबाट त्यस्तो कीर्ते जालसाजीपुर्ण म्याद तामेलीमा प्रतिवादी सुधिर कुमारको सहभागिता कहिकतैबाट प्रमाणित हुन आएको नहुँदा निजलाई कसूरबाट सफाई दिने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मनासिव ठहर्ने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाटः- विद्वान अधिवक्ता श्री इन्द्रशेखर खड्का विपक्षी प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह अबलम्बित नजीरः × फैसला न्या. इन्द्रराज पाण्डे- पुनरावेदन अदालत राजविराजको मिति २०४९।१२।२३ गतेको फैसला उपर वादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः- 2. फत्तेपुर गा.वि.स. वडा नं. १ बस्ने अन्तु चौधरी थारुसँग विगो नम्बर ९१२।४९४ को लेनदेन मुद्दामा जिल्ला सप्तरी गा.वि.स. भरुवा खाल वडा नं. ४ (ख) को कि.नं. ८३ को ०-१०-५ मध्ये ०-३-८ (तीन कठ्ठा आठ धुर) जग्गा लिलाम हुँदा सकार गरी सप्तरी जिल्ला अदालतको मिति २०४१।११।१।३ को पुर्जी बमोजिम म भुलकीवतीको नाममा कित्ताकाट भई कि.नं. ३३८ को ०-३-८ दर्ता मितिले भोगचलन गरी पोत समेत बुझाई आएकोमा विपक्षी मध्येको सुधिर कुमारले कि.नं. ८३ को ०-१०-५ भनी लेखी सो मध्ये पुर्व दक्षिणतर्फबाट ०-३-१० जग्गा २०४५।३।१५ गते खिचोला गरी चलन हटाई दिएकोले चलन चलाई पाउँ भन्ने समेत व्यहोराको हामी वादीहरुको नाममा १०५९ को जग्गा खिचोला चलन मुद्दा दिएकोमा हामीहरुको नाममा म्याद जारी भई जाँदा विपक्षी प्रतिवादी सुधिर कुमारले अदालतको तामेलदार उमेश राईलाई धोखा दिई हाम्रो नामको म्याद मेरो घरमा तामेल गर्न आउनु पर्नेमा नआई गा.प.स. हेम नरसिंहको घरमा मिति २०४५।७।३० का दिन अन्दाजी १:३० बजेको बखतमा प्रतिवादी सुधिर कुमार समेतका ४ जना प्रतिवादीले हामीहरुलाई थाहा नहुने गरी घर दैलोमा टाँसी तामेल गराई हामी वादीलाई उक्त जग्गा खिचोल