निर्णय नं. ४५५२ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५५२ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०५/१४ २७३६ निर्णय नं. ४५५२ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय २०४६ सालको रिट नम्बर ११५८ आदेश भएको मिति: २०४९।५।१४।५ मा निवेदक : जिल्ला बाँके, खजुरारोड स्थित नन्दिनी खाद्य उद्योग (प्रा.) लि. का तर्फबाट अख्तियार प्राप्त एकाउण्टेण्ट मानबहादुर बेलबासे विरुद्ध प्रत्यर्थी : कर कार्यालय, नेपालगंजसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) करदाताले पेश गरेको आय विवरणलाई अमान्य गरी कर कार्यालयबाट नै कर निर्धारणको प्रयोजनार्थ उद्योगको खुद आय कायम गर्दा आयकर ऐन, २०३१ को दफा ३३(२) ले विभिन्न कानुनी अवस्थाको उल्लेख गरी दिएको देखिन्छ । जुन आधारहरु कर कार्यालयले उद्योगको हकमा खुद आय कायम गर्दा परिपालना गर्नु पर्ने । (प्रकरण नं. १६) (२) निवेदक उद्योगबाट दाखेला हुन आएको आय विवरण कानुन बमोजिम छ छैन हेरी परीक्षण गरी गराई सो को आधारमा कानुन बमोजिम देखिन नआएको खण्डमा मात्र दाखेला भएको आय विवरण अमान्य ठहर गरी रीतपूर्वक आय निर्धारण गरी कर तोकी दिनु पर्ने । (प्रकरण नं. १८) (३) करदाताले पेश दाखेला गरेको आय विवरण कानुनी रुपबाट अमान्य घोषित नगरी कर कार्यालयले आयकर ऐन, २०३१ को दफा ३३(२) अनुसार निर्धारण गरेको आयले उल्लेखित आधारबाट मान्यता प्राप्त गर्न सक्छ नै भन्न कानुनसंगत नहुने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास, विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराई प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. यस कम्पनीले यस आ.ब.मा राखेको रीतपूर्वकको प्रमाणित लेखबाट जम्मा रु. ३६,८६५।२९ खूद मुनाफा गरेको देखाई ०३८।९।८ मा आय विवरण दाखिल गरेकोमा कर कार्यालयले ऐनको दफा ३३(२) बमोजिम खूद आय रु. २,४८,५६०।– कायम गरी ०४०।१।२१ मा रु. १,०३,५३०।– कर तथा जरिवाना रु. १।– लाग्ने ठहर्‍याई आय र कर निर्धारण आदेश गरे उपर राजश्व न्यायाधीकरणमा पुनरावेदन गर्दा ०४५।९।१९ मा शुरुको आदेश पर्चालाई नै सदर ठहर्‍याई फैसला भयो, सो उपर पुनरावेदन गर्न अनुमति पाई मिति ०४६।९।२६ का दिन क्षेत्रीय अदालत समेतबाट राजश्व न्यायाधीकरणको फैसला नै सदर गरेको ०४६।१२।८ मा नक्कल लिई थाहा भयो । ३. ऐनको दफा ३३(२) को प्रयोग गर्दा ऐ. को उपदफाको (क) देखि (छ) सम्मको कुन आधार मानी आय कायम गर्न लागिएको हो उल्लेख गर्नुपर्ने बाध्यात्मक कार्यविधि सम्बन्धी प्रकृया अनुसरण गरिएको छैन । ऐनको दफा ३३(२) प्रयोग गर्न निमित्त ऐ. दफा ३३(४) अन्तर्गत के कुन आधार कारण तथा प्रमाणबाट के कति कारोवार कायम गरी कति आय कायम गर्न लागिएको हो सो को वस्तुनिष्ट आधारमा सूचना दिई तत्सम्बन्धमा करदातालाई सफाईको मौका प्रदान गर्नु पर्नेमा कुनै पनि वस्तुनिष्ट तथ्य उल्लेख नगरी ऐनको दफा ३३(४) अनुसार आत्मनिष्ठ सूचना दिएकोबाट ऐनको व्यवस्थाको प्रयोजन पूरा भएको र सफाइको मौका प्रदान गरिएको भन्न मिल्दैन । ऐनको दफा ३३(२) प्रयोगको लागि तोकिएको पूर्वाधारमा करदाताले आय विवरण दाखिल नगरेमा झुठ्ठा विवरण दाखिल गरेमा, कारोवारको लेखा नराखेमा वा राखेको लेखालाई मान्यता दिन नमिल्ने भएमा भन्ने व्यवस्था भएकोमा कम्पन