निर्णय नं. ४५६७ - जग्गा खिचोला जालसाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५६७ - जग्गा खिचोला जालसाज भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०३/३१ ३३८३ निर्णय नं. ४५६७ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४५ सालको दे.पु.नं.७०२ फैसला भएको मिति: २०४९।३।३१।४ मा पुनरावेदक/प्रतिवादी: तेजप्रसादको पत्नी मोरंग जिल्ला बयरवन गा.वि.स. वडा नं.७ बस्ने कल्पनादेवी बराल विरुद्ध विपक्षी/वादी: विराटनगर न.पा. वडा नं.१४ बस्ने चुडामणी गौतम मुद्दा : जग्गा खिचोला जालसाज (१) विशेषज्ञले पनि नमूना दस्तखत र लिखतमा भएको सहिछाप एकै व्यक्तिको भएको भनी राय दिएको पाइन्छ । सो रायलाई पुनरावेदकले खण्डन गर्न सकेको पनि देखिंदैन, यस स्थितिमा वादीबाट पेश भएको लिखतलाई सद्दे रहेनछ भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. २४) (२) जुन राजीनामा लिखतको आधारबाट प्रतिवादीले वादी दावीको जग्गा मेरो आफ्नो हो भनी जिकिर लिएको हो, सो लिखत नै सद्दे नदेखिएको अवस्थामा वादी दावीको जग्गामा प्रतिवादीहरुले खिचोला गरेका रहेनछन् भन्न नमिल्ने । (प्रकरण नं. २४) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.कृष्णजंग रायमाझी १. पू.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमतिको निवेदन परी यस अदालतबाट पुनरावेदन गर्ने अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. जि. मोरंग बयरवन गा.पं. वार्ड नं.८(ङ) कि.नं.३ को ०–८–० ऐ. कि.नं.५ को ०–१६–० र ऐ. कि.नं.६ को ०–१०–०, समेत जम्मा ज.वि. १–१४–० मैले सुदर्शन चौधरीबाट ०३७।१२।५ मा रु. १५,०००।– मा राजीनामा पास गरी लिई २०३८ सालको बालीदेखि भोगचलन गरी आएको वन समितिको अनुरोधमा मालले दा.खा. गर्न बाँकी नै राखेकोले दा.खा. र धनी पूर्जा लिने काम सम्म बाँकी रहेको २०३९ सालको मालपोत समेत तिरेको छु, २०४०।१।३ गते बिहान अं. ८ बजेको समयमा विपक्षी मध्ये गणेशप्रसाद बरालले एकहल गोरु हली ल्याई मेरो जग्गा जोत्न लागे सो देखि मेरो जग्गा किन जोतेको भन्दा मेरो श्रीमतीको जग्गा पनि यो जग्गाको छेउमा पर्छ, सोही जगाको नाताले मैले जोताएको हुँ, जोत्छु जे गर्नु पर्छ गर भनी जवाफ दिए र गणेशकी श्रीमती विपक्षी कृष्णमायासंग जग्गा जोतेको बारेमा कुरा गरी सो नगर्न आग्रह गर्दा निजले पनि अब हामी तिम्रो जग्गा जोती खान्छौं भन्ने जवाफ दिइन्, सो दिनदेखि मेरो जग्गा खिचोला गरी कब्जामा लिई जग्गा खिचोला गरेकाले ज.मि. का १८ नं.म्याद भित्र फिराद गर्न आएको छु, सबूद प्रमाण बुझी मेरो हकको जग्गामा खिचोला गरेकोले सो खिचोला मेटाई जग्गाको चलन समेत चलाई पाउँ भन्ने समेतको वादीको फिराद । ३. वादीको जग्गामा म प्र.गणेशप्रसादले हलो र हली लगी जोतेको छैन, म कृष्णमायाले कब्जा गरेको छैन, हामी दुवै प्रतिवादीले खिचोला गरेको होइन, दावा झुठ्ठा हो मोरंग बयरवन गा.पं. वार्ड नं.८(ङ) कि.नं.३ को ०–८–०, ऐ. कि.नं.५ को ०–१६–० र ऐ. कि.नं.६ को ०–१०–० जग्गा तेजप्रसाद बरालकी श्रीमती कल्पनादेवी बरालले २०३९।९।१२ मा सुदर्शन चौधरी थारुसंग राजीनामा पास गराई लिएको छ । त्यसो हुँदा वादीको स्वामित्व नदेखिएकोले दावी खारेज गरिपाउँ बाँकी जग्गा विगाहा १–१४–० जग्गा हामीले खिचोला गरेको छैन, वादीले उल्लेख गरेको २०४०।१।३ गते हामी बयरवन गाउँमा थिएनौं, जग्गा जोत्न गएको पनि छैनौं, खिचोला गरेको पनि हैन, झुठ्ठा दावाबाट अलग फुर्सद गराई पाउँ भन्ने समेत प्रतिवादीहरु