निर्णय नं. ४५७० - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५७० - उत्प्रेषण मिश्रित परमादेश भाग: ३४ साल: २०४९ महिना: असोज अंक: ६ फैसला मिति :२०४९/०३/२५ २७०७ निर्णय नं. ४५७० ने.का.प. २०४९ (ख) अङ्क ६ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा २०४९ सालको रिट नं.२५०० आदेश भएको मिति: २०४९।३।२५।५ मा निवेदक : वीरगंज चिनी कारखाना लि. को तह ४ को जुनियर अफिस असिष्टेण्ट पदबाट अवकाश दिएको विमल शम्शेर ज.ब.रा. विरुद्ध विपक्षी : वीरगंज चिनी कारखाना, लिमिटेड वीरगंजसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) उमेर भन्ने कुरा नोकरीमा प्रवेश हुँदा शैक्षिक योग्यता भए सो आधारमा र नभए सरकारी श्रेस्ताले कायम गरेकोलाई नै यकीन गर्नु भरपर्दो प्रमाण हुने । (प्रकरण नं. ७) (२) नोकरीबाट अनिवार्य अवकाश लिने स्थिति आइपरेपछि नागरिकता टोलीको श्रेस्तामा कायम भइरहेको श्रेस्ताका विपरीत पछि भारतको अजयनगर मधुवनी स्थित उच्च माध्यमिक विद्यालय भनिएको स्कुलको स्थानान्तर प्रमाणपत्रमा उल्लेखित जन्ममितिको आधार ग्राह्य गर्न नसकिने । (प्रकरण नं. ७) आदेश न्या.मोहनप्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. म निवेदक वीरगंज चिनी का.लि. मा मिति २०२९।८।११ का दिन देखि तह ३ को ग्यारेज सुपरभाइजर पदमा नियुक्ति भई २०४८ सालमा तह ४ जुनियर अफिस असिष्टेण्ट पदमा बढुवा भयो । मिति २०३२।०३३ सालमा पर्सा जिल्लामा नेपाली नागरिक सूचिकरण गर्ने टोली खटेकोमा म घरमा नभई नोकरीमा भएको अवस्थामा मेरो नाम अन्दाजी हिसाबबाट सूचिकृत गरी दिएको रहेछ । उक्त वीरगंज चिनी का.लि. मा नोकरी बहाली गर्दा नागरिकताको प्रमाणपत्र पेश गरेको थिएन । नागरिकताको प्रमाणपत्र पेश गर्नु भनिएको बखत प्रशासकीय अधिकृतले सूचित गरे अनुसार जिल्ला कार्यालय पर्सामा जाँदा उक्त टोलीको लगत अनुसार मिति २०३४।१।५ का दिन ४५ वर्षको उमेर देखाई नागरिकता प्रमाणपत्र दिइयो । आफूले अध्ययन गरेको विद्यालयको जन्म मिति खुलेको प्रमाणपत्र तत्काल फेला नपरेको हुँदा वीरगंज चिनी कारखानामा सो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नै पेश गरे पछि आफूले अध्ययन गरेको विद्यालयको प्रमाणपत्र फेला परेकोले सोही आधारमा नाम संशोधनको लागि जिल्ला कार्यालयमा निवेदन दिए अनुसार मिति २०४८।८।१७ को निर्णयले जन्म मिति १९९८।९।१८ कायम गरी उमेर सच्याई सो निर्णय भएको व्यहोरा दर्शाई २०४७।१२।३ मा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गरियो । ३. सो उमेर संशोधन गरिएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत साथै राखी उमेर संशोधन गरिपाउँ भनी ऐ.कारखानाका वरिष्ठ प्रशासकीय अधिकृतलाई संशोधन गरी मिति २०४७।१२।१७ मा निवेदन, ऐ.का महाप्रबन्धकलाई सम्बोधन गरी मिति २०४८।८।२५ मा, ऐ.का संचालक समितिको अध्यक्षलाई एक्सप्रेश डेलिभरी सर्भिस मार्फत मिति २०४८।१२।२२ मा त्यसपछि ऐ.का वीरगंज चिनी कारखाना वीरगंज कार्यालयमा मिति २०४८।१०।६ मिति २०४८।१२।३० का दिन निवेदन दर्ता गराएकोमा सो निवेदनहरुमा कुनै कारवाही भए नभएको सन्दर्भमा यकीन जानकारी दिइएन । ४. मिति २०४८।१२।३० प.सं.प्र. शा/एस.ए.वि. ४।१२८४ को पत्रद्वारा वरिष्ठ प्रशासकीय अधिकृतले वीरगंज चिनी कारखाना लि. को मिति २०४८।१२।३० को निर्णयानुसार मिति २०४९।१।५ देखि लागू हुने गरी मिति २०४९।१।४ मा उमेरको हद पूरा भएको हुनाले कारखानाको सेवाबाट अवकास दिएको सूचना दिइयो । मेरो उमेर अवकाश दिंदाको अवस्थामा ५० वर्ष २ महीना १६ दिन जति रहेको कुरा नेपाली नागरिकताको प्रमा