निर्णय नं. ८५८१ - उत्प्रेषण परमादेश समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५८१ - उत्प्रेषण परमादेश समेत । भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६७/११/२९ ३०२८ निर्णय नं. ८५८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६७ सालको रिट नं. १०४० आदेश मितिः २०६७।११।२९।१ विषय : उत्प्रेषण परमादेश समेत । निवेदकः सप्तरी जिल्ला, बनैनिया गाउँ विकास समिति वार्ड नं. १ घर भै सडक विभागको पुल दरवन्दीमा दरवन्दी रही हाल सुनसरी मोरङ पुल निर्माण आयोजना इटहरीमा आयोजना प्रमुख (रा.प.द्वि.प्रा.) पदमा कार्यरत कृत्यानन्द ठाकुर विरुद्ध विपक्षीः नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, समेत § मूल्याङ्कन गर्ने पदाधिकारीले दिएको अङ्क गणनामा त्रुटि देखिई सोलाई सच्याई दुवैतर्फ सही गरेकोलाई अन्यथा भन्न नमिल्ने । § सुपरीवेक्षकले अङ्क सच्याएको कार्यलाई अन्यथा उद्देश्य वा मनसायले गरेको प्रमाणित भएमा बाहेक स्वाभाविक क्रममा र रीतपूर्वक नै सो गरे भएको मान्नुपर्ने । (प्रकरण नं.२) § सुपरीवेक्षकले अघि दिएको अङ्क पछिबाट दुराशयपूर्ण तवरबाट घटाएको भन्न नमिल्ने कारणबाट निजामती सेवा नियमावलीले तोकेको पदाधिकारीले कार्यसम्पादन मूल्याङ्कन गरी दिएको अङ्कलाई गणना गरी सबैभन्दा बढी अङ्क पाएकालाई बढुवा गरेको बढुवा समितिको निर्णय तथा सोउपर उजूरी सुनी लोकसेवा आयोगले सदर गरेको निर्णय समेतलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.३) § का.स.मू. फाराममा दिएको अङ्कमा चित्त नबुझे निजामती सेवा ऐन, २०४९ को दफा २४क को उपदफा (६घ) अनुसार तोकिएको अधिकारीसमक्ष उजूर गर्न पाउने व्यवस्था भएकोमा सो अधिकारी नतोकिएको कारण उजूरीको सुनुवाई हुन नसकेकोमा कानूनबमोजिम काम गर्नुपर्ने कर्तव्य तोकिएको पदाधिकारीले उक्त कानूनी व्यवस्थाबमोजिम पदाधिकारी नतोकी आफ्नो कर्तव्य पूरा नगरेबाट आफ्नो उजूरीमा सुनुवाई हुने अधिकारबाट बञ्चित हुनु परेकोले उक्त ऐनबमोजिम अधिकारी तोक्नुपर्ने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की तथा विद्वान अधिवक्ता हरि उप्रेती प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश शर्मा पौडेल एवं विद्वान अधिवक्ता तारानाथ ढुङ्गाना अवलम्बित नजीरः सम्बद्ध कानूनः § निजामती सेवा ऐन, २०४९ को दफा २४(क)(६(घ) § निजामती सेवा नियमावली, २०५० को ८४ आदेश न्या.रामकुमारप्रसाद शाहः नेपाल अधिराज्यको संविधान, २०६३ को धारा ३२/१०७ (२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण एवं आदेश निम्न प्रकार छः निवेदक मिति २०३५।६।९ मा नेपाल इन्जिनियरिङ्ग सेवा सिभिल समूह तत्कालीन ट्रान्सपोर्टेशन उपसमूहको इन्जिनियर (रा.प.तृ.श्रेणी प्राविधिक) पदमा सेवा प्रवेश गरी मिति २०५२।८।१९ मा हाइवे उपसमूहको सिनियर डिभिजनल इन्जिनियर (रा.प.द्धितिय श्रेणी प्रा.) पदमा बढुवा भई सडक विभाग अन्तर्गत विभिन्न कार्यालयहरू हुँदै हाल सुनसरी मोरङ पुल निर्माण आयोजनामा कार्यरत छु । यसैबीच विपक्षी लोकसेवा आयोगद्वारा २०६६।६।२८ को गोरखापत्रमा प्रकाशित कार्यक्षमता मूल्याङ्कन बढुवा सूचना नं. १९९।०६६।०६७ को सि.नं. २ सूचना नं. २।०६६।०६७ को विज्ञापनमा नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूहको रा.प.प्रथम श्रेणीको पद संख्या २ (दुई) पद कार्य क्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवामा निवेदकले फारम भरी बढुवाको प्रतिक्षामा बसेको र बढुवा सिफारिश सूची प्रकाशन गर्नुभन्दा अगावै आ.व. ०६५।०६६ को का.स.मू.को अङ्क सच्या