निर्णय नं. ४६१० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६१० - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०९/०८ २६९१ निर्णय नं. ४६१० ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा २०४६ सालको रिट नं. ७८७ आदेश भएको मिति: २०४९।९।८।४ मा निवेदक : का.न.पा. वडा नं. १० बस्ने भक्तबहादुर खड्का विरुद्ध प्रत्यर्थी : शाही नेपाल वायु सेवा निगमको सञ्चालक समितिसमेत विषय : उत्प्रेषण (१) शाही नेपाल वायु सेवा निगम ऐन, २०१९ को तत्कालीन दफा २७ अन्तर्गत शाही नेपाल वायु सेवा निगमका कर्मचारीहरुको सेवा नियमावली, २०३१ बनेको छ । तत्कालीन ऐनको दफा २७ मा नियम बनाउने अधिकार शाही नेपाल वायुसेवा निगमलाई सुम्पिएकै पाइन्छ । २०३४ सालमा मात्र मूल ऐनको दफा २७ संशोधन भई सो नियम बनाउने अधिकार श्री ५ को सरकारलाई सुम्पिएको पाइएबाट प्रस्तुत नियम तत्कालीन ऐनले दिएको अधिकार बमोजिम नै शाही नेपाल वायु सेवा निगमले बनाएकोले उक्त नियम अमान्य भन्ने स्थिति नरहने । (प्रकरण नं. ९) (२) जस्को निर्णय बदर गराउन निवेदक आएका छन् उसैलाई विपक्षी नबनाई निवेदन परेको अवस्था हुँदा यस्तो अवस्थामा रिट जारी गर्ने अवस्था नदेखिने । (प्रकरण नं. १०) (३) निवेदकलाई लोक सेवा आयोगको संस्थामा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०४३ को दफा ६.४(३) र ६.१(४) को साथै शा.ने.वा.नि. का कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम १२.२.१ बमोजिम कारवाही गरी सेवाबाट हटाएको देखिँदा गैरकानुनी रुपले निर्णय गरी सेवाबाट हटाएको भन्न नमिल्ने । (प्रकरण नं. १०) (४) जसको निर्णय बदर गराउन रिटनिवेदन परेको हो निजलाई रिटनिवेदनमा विपक्षी नबनाएको तथा निवेदकलाई अधिकार प्राप्त निकाय तथा अधिकारीबाट ऐन नियमले गरेको व्यवस्था अनुसार नै सेवाबाट हटाउने कारवाही तथा निर्णय भएको समेत देखिएकोले रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल, विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. मलाई विपक्षी शाही नेपाल वायु सेवा निगम उत्पादन महाशाखाबाट २०४४।२।१० का दिन १० बजेर ३ बजे तपाई शिवहरीप्रसाद राजभण्डारी मेकानिक्स–२ को घरमा गई २६ गतेको दिनमा जहाजमा हराएको सामान कस्ले लिएको छ भनी सोध्यो भन्ने उजूर पर्न आएकोले तपाईलाई केही भन्नु छ भने १२ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्नु भनी ०४४।२।१२ मा पत्र दिएको । मैले २ जना अपरिचित मनांगेले जबरजस्ती गरी शिवहरीको घर देखाइदेउ भनेकोले देखाई दिएको सम्म हुँ नाजायज काम गरेको होइन भनी स्पष्टीकरण दिएँ । त्यसपछि विपक्षी प्राविधिक विभागबाट २०४४।२।१५ मा आजका मिति देखि अर्को सूचना नभएसम्म निलम्बन गरिएको भन्ने पत्र दिएको । विपक्षी कर्मचारी व्यवस्था विभागबाट ०४४।३।३० मा तपाई उपर आरोप सम्बन्धी गठित छानबीन समितिको प्रतिवेदनबाट तपाई अवैध कारोबारमा संलग्न तथा कर्मचारीको घरमा गई धम्की दिने जस्ता खराब आचरण गरेकोले तपाईलाई किन बर्खास्त नगर्ने भन्ने २४ घण्टे स्पष्टीकरण माग गरेको । मैले कुनै अवैध काम गरेको छैन भनी स्पष्टीकरण पेश गरेको थिएँ । तत्पश्चात ०४४।४।३१ मा निगमको ग्रा.ई.अ.पदबाट मलाई हटाइएको व्यहोर