निर्णय नं. ८५८६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५८६ - उत्प्रेषण भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६७/१२/१० ४६३६ निर्णय नं. ८५८६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री भरतराज उप्रेती सम्वत् २०६६ सालको रिट नं १३०८ फैसला मितिः २०६७।१२।१०।५ विषयः– उत्प्रेषण । निवेदकः का.जि.का.म.न.पा. वडा नं ५ मालीगाउँ बस्ने गोपाल उपाध्यायको छोरी स्व. लीलानाथ पन्थकी श्रीमती वर्ष ५९ की सुशीला पन्थी विरुद्ध विपक्षीः ल.पु.जि.ल.पु.उप म.न.पा. वडा नं ६ प्रयागपोखरी बस्ने अं वर्ष ४५ को सम्शेरकुमार श्रेष्ठ समेत § विगो भरी भराउ गर्ने क्रममा विगो भराई पाउने व्यक्तिको निवेदनमा उल्लेख गरेका बाहेक अन्य सम्पत्तिबाट विगो भराई दिने काममा अदालत अग्रसर नहुने हुँदा प्रतिवादीको नामको सम्पत्तिमध्ये कुन सम्पत्तिबाट अदालतले विगो भराउने हो भन्ने कुरा प्रतिवादीले रोज्न पाउने अधिकार हुँदैन । तर प्रतिवादीको हक नै नलाग्ने कुनै सम्पत्ति विगो भराउने क्रममा अदालतले लिलाम गर्न लागेको अवस्थामा भने सम्बन्धित जग्गा धनीले उक्त कार्य रोक्न आवश्यक कानूनी उपचार माग गर्न सक्ने । (प्रकरण नं.३) § विगो भराउने कार्यमा प्रतिवादीको नाममा रहेको भनिएको सम्पत्तिको बजार मूल्य र यस्तो सम्पत्ति सहज रुपमा लिलाम सकार गरी लिने व्यक्तिको नाममा हस्तान्तरण हुन सक्छ वा सक्दैन भन्ने तर्फ पनि अदालतले गम्भीर भएर हेनुपर्दछ । निवेदकले नै लेखाई दिएको सम्पत्ति मध्येबाट विगो भराउने काम गर्दा उक्त सम्पत्तिको बजार मूल्य र सम्पत्ति हस्तान्तरण हुन नसक्ने कुरामा विगो भराई लिन पाउने व्यक्तिले त्यसबाट हुने नोक्सानी वा आर्थिक असरको मूल्याङ्कन गरेको हुने हुनाले विगो भराउने क्रममा निवेदनमा उल्लिखित सम्पत्ति वा निवेदन दिएपछि पत्ता लगाई निवेदकले अदालतलाई लेखाई दिएको सम्पत्तिमा नै सीमित रहनु अदालतको लागि न्यायसंगत तथा व्यावहारिक हुने । (प्रकरण नं.४) § बजार मूल्य नै नभएको वा बजार बिक्री मूल्य भएको भएपनि प्रतिवादीबाट यसको स्वामित्व हस्तान्तरण गराई लिन सकिने सहज सम्भावना नै नभएको सम्पत्ति वा विगो भराई लिन पाउने ठहर भएको व्यक्तिको नाममा देखाइ दिने आदेश मात्र अदालतबाट हुने हो भने यसको कुनै मतलव हुँदैन । यसबाट अदालती प्रक्रियाको उद्देश्य र न्यायको मर्म पनि समाप्त हुने । (प्रकरण नं.४) § धितो बजारको संयन्त्रबाट खरीद विक्री भएका शेयरहरू खरीदकर्ताले आफ्नो नाममा नामसारी गराई लिन र यसको भोग चलन गर्ने कार्यमा सम्बन्धित कम्पनी वा यसका अन्य शेयरधनीहरूले कानूनी रुपमा कुनै वाधा विरोध गर्न सक्दैन तर प्राइभेट कम्पनीको शेयरहरूको खुल्ला रुपमा शेयर बजारमा किनबेच गर्न नसकिने हुँदा यस्ता शेयरहरूको बजार मूल्य हुँदैन । यस्ता कम्पनीले जारी गरेका शेयरहरू कम्पनीले खुल्ला रुपमा खरीद बिक्री गर्न नसक्ने हुँदा यसको पञ्चकिर्ते मूल्य तय गर्न पनि सम्भव नहुने । (प्रकरण नं.७) § कुनै प्राइभेट कम्पनीले जारी गरेको शेयरहरू लिलाम सकारी लिने व्यक्तिको नाममा सहज रुपले नामसारी हस्तान्तरण गर्न सकिने अवस्था नहुँदा यस्तो शेयरलाई फैसला कार्यान्वयनको प्रयोजनको लागि मान्य हुने सम्पत्तिको रुपमा अदालतले ग्रहण नगर्न सक्ने । (प्रकरण नं.९) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरू श्री बलबहादुर राई, श्री हरिश्चन्द्र सुवेदी र श्री थम्मलाल शर्मा विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजीरः सम्बद्ध कानूनः § जिल्ला अदालत नियमावली, २०५२ को नियम ५४, ७४,७५ आदेश न्या.भरत