निर्णय नं. ६२१४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२१४ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/०२/२१ २६२७ निर्णय नं. ६२१४ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्बत् २०५१ सालको रिट नं. २९०४ आदेश मिति २०५३।२।२१।२ विषयः उत्प्रेषण । निवेदक- का.जि. किर्तिपुर बाहिरी गा.वि.स. वडा नं. ५ भञ्ज्याङ्ग गाउँ बस्ने हरिलाल महर्जन विरुद्ध निवेदकले नेपाल बैंक लिमिटेड प्रधान कार्यालयबाट चेक सहितको पत्र नेपाल बैंक लिमिटेड किर्तिपुर शाखामा बुझाउन लिईएकोमा सो पत्र अनधिकृत व्यक्ति अम्बर बहादुर श्रेष्ठलाई बुझाएकोमा विभागीय कारवाही चली मिति २०४१।४।१६ मा बर्खास्ती पत्र महाप्रवन्धकबाट दिएको देखिएको छ । निवेदकले महाप्रवन्धकले दिएको सो बर्खास्ती आदेश उपर कतै कुनै अधिकार प्राप्त अधिकारी समक्ष पुनरावेदन गरेको समेत नदेखिनुको साथै निवेदकले आफ्नो निवेदनमा पुनरावेदन गरेको समेत छु तथा पुनरावेदनको बाटो छैन भन्ने समेत उल्लेख गर्न नसकेको एवं वर्खास्ती गरेको मितिले करिव १० बर्ष पछि अनुचित विलम्ब गरी भ्रष्टाचार मुद्दामा पुनरावेदन अदालत पाटनबाट समेत मिति २०५१।७।८ मा निवेदकले सफाई पाउने निर्णय भएपछि मात्र रिट निवेदन दिएको देखिँदा अनुचित बिलम्ब गरी दिएको रिट निवेदनको औचित्य तर्फ विचार गर्नु नपर्ने । (प्र.नं. १०) निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री बालकृष्ण मैनाली विपक्षी तर्फबाट- विद्वान अधिवक्ता श्री अनुपराज शर्मा अवलम्बित नजिर- × आदेश न्या. ओमभक्त श्रेष्ठ- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ (२) को आधारमा परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- 2. म २०३० सालमा विपक्षी नेपाल बैकमा पियन पदमा स्थायी नियुक्ति पाई काम गर्दै आई रहेकोमा प्रधान कार्यालय लेखा विभागले २०३४ सालको ७ नं. जम्मा खर्च हिसाव मिलान कार्यको सन्दर्भमा काठमाडौं अफिसबाट रु. ७२,१२५।– खर्च गरेको सेडुल प्राप्त भएको तर किर्तिपुर अफिसले सो रकम जम्मा गरेको सेडुयुल प्राप्त नभएकोले रकम कुन खातामा कसरी जम्मा भै भुक्तानी हुन गएको रहेछ भनी हेर्दा किर्तिपुर अफिसको बचत नं. ३३१२५ को खातामा जम्मा भै सो रकम पटक पटक गरी पूर्ण बहादुरले भुक्तानी लगेको देखिनाले कारवाही गरी पाउँ भन्ने विपक्षी नेपाल बैक लिमिटेड प्रधान कार्यालयको २०३९।४।२८ को विशेष प्रहरी विभागलाई लेखेको पत्रको आधारमा म माथि विशेष प्रहरी विभागबाट अनुसन्धान कारवाही भयो । मैले भ्रष्टाचार नगरेको कुरामा भ्रष्टाचार गर्यो भनी विभागीय कारवाहीको लागि २०४१।३।५ मा विशेष प्रहरी विभागले विपक्षी नेपाल बैंक लिमिटेडको २०४१।४।३ मा निवेदकसँग स्पष्टिकरण माग गरेकोमा आफ्नो सम्पुर्ण व्यहोरा खोली २०४१।४।१४ मा स्पष्टिकरण दिएकोमा पियन जस्तो निम्न पदमा इमान्दारीपुर्वक कार्य गरिरहेको म माथि पुर्वाग्रह पीडित भई १(एक) ४७।६०६१ मिति २०४१।४।१६ गते नेपाल बैक लिमिटेड प्रधान कार्यालय कर्मचारी विभागबाट तपाईले चिठी अफिसमा नबुझाई बैंकमा बहाल नरहेको अम्बर बहादुर श्रेष्ठलाई दिएको स्वीकार्नु भएकोले बैक कर्मचारी नियमावलीको दफा ८.७(क) बमोजिम कसूर गरेको हुँदा नियमावलीको दफा ८.१(१)(च ) बमोजिम वर्खास्त गरिएको व्यहोरा सुचित गरिन्छ भनी वर्खास्त पत्र बुझाईयो । म समेतले आपसमा मिलेमतो गरी आफूहरुलाई गैर कानूनी फाइदा र नेपाल बैक लिमिटेडलाई गैर कानूनी हानी पुर्याउने काम गरेको हुँ म उपर भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा ७(२) अन्तर्गत कारवाही भै हदैसम्म सजाय गरी पाउँ भन