निर्णय नं. ७९८८ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९८८ - कर्तव्य ज्यान । भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६५/०७/२७ ३११९ निर्णय नं.७९८८ ने.का.प. २०६५ अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री बलराम के.सी सम्बत् २०६४ सालको फौ.पु.नं. .....०१६० आदेश मितिः २०६५।७।२७।४ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः गोरखा जिल्ला पन्दुङ गा.वि.स वडा नं. २ घर भै कारागार कार्यालय काभ्रेपलाञ्चोकमा थुनामा रहेको गंगाबहादुर गुरुङ विरुद्ध प्रत्यर्थी प्रतिवादीः जयबहादुर गुरुङको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या श्री काशीनाथ पोखरेल पुनरावेदन फैसला गर्नेः का.मु.मु.न्या ऋषिराज जोशी मा.न्या.श्री ठाकुर प्रसाद शर्मा § मानसिक रुपले विक्षिप्त भएको व्यक्तिले आफुले गरेको कामको परिणाम के हुनसक्छ भन्ने बुझ्न समर्थ नहुने र त्यस्तो व्यक्तिमा कामको परिणामको लेखा जोखा गर्न सक्ने क्षमताको अभाव रहने । § आफुले के गर्दैछु र त्यसबाट कस्तो परिणाम निस्कन्छ भन्ने बुझ्न नसक्ने गरी मानसिक रुपमा रोगी भएको व्यक्तिले अपराध गरेमा त्यस्तो व्यक्तिलाई आपराधिक दायित्वबाट मुक्त गर्ने फौज्दारी विधीशास्त्रीय मान्यता हो र फौजदारी कसूरमा मानसिक विक्षिप्ततालाई वैध प्रतिरक्षाको रुपमा लिइएकाले यसको लागि प्रतिवादी अपराध गर्दाको अवस्थामा मानसिक रुपले विक्षिप्त भएको थियो भन्ने कुरा निःसन्देहात्मक रुपमा प्रमाणित भएको हुनुपर्ने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री भिष्मराज कडरिया प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न बमोजिम छः– दाजु मिनबहादुरका छोरा प्रतिवादी गंगाबहादुर गुरुङको ४/५ वर्षदेखि मानसिक असन्तुलन भएको र मिति २०५९।९।२२ गते अं.३.३० वजे निज प्रतिवादीले श्रीमती पिरमाया गुरुङलाई सख्त घाइते हुने गरी कुटपिट गरेको खवर पाई घटनास्थलतर्फ जाँदा निज गंगाबहादुर गुरुङ फरार भैसकेको र पिरमाया गुरुङ वेहोस अवस्थामा लडिरहेको देखि उपचारको लागि म समेतले ल्याउँदै गर्दा बाटैमा मृत्यु भएकोले गंगाबहादुर गुरुङलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत ब्यहोराको जयबहादुर गुरुङले मिति २०५९।९।२३ मा दिएको जाहेरी दरखास्त । मृतक लाश रहेको स्थानमा रगत जमेको, कपाल रगतले भिजेको, नाक कानबाट रगत बगेको, दायाँ वायाँ कञ्चटमा दुवै तर्फ ३x१ इन्चको घाउ भएको भन्ने घटनास्थल तथा लास जांच मुचुल्का । The cause of death was head injury भन्ने शव परिक्षण प्रतिवेदन । मलाई वेला बखत रिस उठ्ने टाउको दुख्ने भईरहन्यो । मिति २०५९।९।२२ गते खाना खाने वेलामा श्रीमती पिरमायाले खानामा मुसा मार्ने विष मिसाएको भन्ने विषयमा विवाद झगडा परी कुटपिट गर्दा निज श्रीमती भागेकी र लखेट्दै जाँदा घर देखि करिव ३/४ शय गज पश्चिम निमबहादुर गुरुङको जग्गामा भेटाई उतिसको लाठोले टाउकोमा ४ पटक र पिठ्युमा एक प्रकट प्रहार गर्दा वेहोस भई लडेकी र घरमा आउँदा छिमेकीहरु जम्मा हुन थालेकोले घरबाट भागेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान । प्रतिवादी गंगाबहादुर गुरुङको स्वास्थ्य परिक्षण गर्दा Paranoid personality भन्ने समेत गोरखा अस्पतालको प्रतिवेदन । प्रतिवादी गंगाबहादुर गुरुङको मानसिक अवस्था ठिक रहेको र गोरखा अस्पतालको जाँच र