निर्णय नं. ८६२९ - काठ चोरी निकासी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६२९ - काठ चोरी निकासी भाग: ५३ साल: २०६८ महिना: असोज अंक: ६ फैसला मिति :२०६८/०३/३० ५९९४ ने.का.प. २०६८, अङ्क ६ निर्णय नं.८६२९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री तर्कराज भट्ट माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की फौ.पु.इ.नं. ०६७– CF– ००२४ फैसला मितिः २०६८।३।३०।५ मुद्दा :– काठ चोरी निकासी । पुनरावेदक वादीः रेञ्जर विजयकुमार गुप्ता समेतको प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला रुपन्देही केरवानी गा.वि.स. वडा नं ६ बस्ने वेलबहादुर थापा मगर समेत शुरु फैसला गर्ने :– मा.जि.न्या.श्री रामेश्वरनाथ अमात्य पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री हरिबाबु भट्टराई मा.न्या.श्री बमकुमार श्रेष्ठ § अवैध रुपमा वन पैदावर ओसार–पसार गर्ने कार्यमा सवारीधनी आफू संलग्न पनि नभएको वा अवैध वन पैदावर ओसार–पसार गर्ने निजको मनसाय पनि नभएको तथा आफ्नो सवारी साधन अवैध वन पैदावर ओसार–पसार गर्ने कार्यमा प्रयोग हुँदैछ भन्ने थाहा जानकारी पनि नभएको र त्यस्तो कार्यमा निजको अनुमति, मञ्जूरी वा सहमति रहेको पनि नदेखिएको अवस्थामा निजको सवारी साधन जफत हुनु न्याय वा औचित्य कुनै पनि दृष्टिबाट तर्कसंगत नहुने । (प्रकरण नं.८) § कानूनको व्याख्या गर्दा सर्वप्रथम कानूनमा प्रयोग भएका शब्द वा शब्दावलीले दिने सामान्य अर्थ सुस्पष्ट, व्यावहारिक, विवेकसम्मत् र न्यायपूर्ण भएसम्म सोही अर्थ ग्रहण गर्नुपर्दछ भन्ने कानून व्याख्याको सामान्य सिद्धान्त रहेको छ । तर कानूनको शाब्दिक व्याख्या गर्दा त्यस्तो तर्कपूर्ण, विवेकसंगत, व्यावहारिक एवं न्यायपूर्ण अर्थ ननिस्कने भएमा शाब्दिक व्याख्याको नियमलाई अनुशरण गर्नु उपयुक्त नहुने । § “कसूर गरेको ठहरिएमा” भन्ने वाक्यांशको आशय वन ऐनअन्तर्गत घटेको कसूर वा वारदातसँग बरामद भएको बोझबाहक साधनको धनीको कुनै तादम्यता नै रहनु नपर्ने भनी व्याख्या गर्न नमिल्ने । § साधनधनी स्वयंको संलग्नतामा वा निजको सहमति, स्वीकृति, मञ्जूरी वा जानकारीमा वन ऐनअन्तर्गतको कसूरमा बोझबाहक साधनको प्रयोग भएको ठहरिएमा त्यस्तो साधन जफत हुनु कानूनसम्मत मात्र नभई न्यायोचित र विवेकसम्मत समेत हुने । (प्रकरण नं.११) पुनरावेदक वादी तर्फबाटः विद्वान् नायव महान्यायाधिवक्ता श्री राजनारायण पाठक तथा विद्वान् उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान् अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल अवलम्बित नजीरः अमान्य (Overrule) भएको नजीरः § नेकाप २०६६, अङ्क १०, नि.नं. ८२५४, पृष्ठ १७५१ सम्बद्ध कानूनः § अ.बं. १२४ नं. § सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) § वन ऐन, २०४९ को दफा ६६ § लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १५ र १८ फैसला न्या.ज्ञानेन्द्रबहादुर कार्कीः यस अदालतको संयुक्त इजलासबाट पूर्व प्रतिपादित सिद्धान्तसँग सहमत हुन नसकेको भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्ने गरी संयुक्त इजलासबाट भएको आदेशानुसार पेश हुनआएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :– मिति २०६०।४।२५ गते राति म १.०० बजेको समयमा प्राप्त सुराकअनुसार सुनवल ७ ज्यामिरे राजमार्ग ज्यामिरे गाउँभन्दा उत्तर, ज्यामिरे खोल्सी देखि दक्षिण, लोकेश्वर जाने बाटोभन्दा पूर्व ज्यामिरे आवादीदेखि पश्चिम यति चारकिल्लाभित्रको राष्ट्रिय वनमा सालका रुख ढाली टुक्रा बनाई ट्रेक्टरमा लोड गरी निकासी गर्न ल