निर्णय नं. ४६३९ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६३९ - उत्प्रेषण समेत भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/०८/२९ २४३८ निर्णय नं. ४६३९ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको रिट नम्बर ९५५ आदेश भएको मिति: २०४९।८।२९।२ मा निवेदक : का.न.पं. वडा नं. १० बस्ने धनबहादुर के.सी. विरुद्ध विपक्षी : का.न.पं. वडा नं. ४ स्थित काठमाडौं भ्याली स्कूलसमेत विषय : उत्प्रेषण समेत (१) दुवै पक्षको सहमतिको आधारमा भएको नियुक्तिको शर्त अनुसार निवेदकलाई प्रत्यर्थी संचालक समितिको निर्णयले सेवाबाट हटाएको देखिन्छ । त्यसरी हटाएको विषयमा शिक्षा नियमावली, २०२८ को दफा १८(२) अन्तर्गत अञ्चल अदालतमा पुनरावेदन लाग्न सक्ने समेत देखिएन । अतः यस्तो करार बमोजिम भए गरेको काम कारवाहीबाट निवेदकको संविधान प्रदत्त मौलिक हक समेतमा आघात परेको भन्ने निवेदकको जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १३) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री शारदा बज्राचार्य, विद्वान अधिवक्ता श्री प्रकाश वस्ती आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. म निवेदकलाई विपक्षी संचालक समितिबाट काठमाडौं भ्याली स्कूलमा १९८६।७।१ मा रु. २०००।– पाउने गरी नियुक्ति पाई कामकाज गरी राखेको अवस्थामा मेरो काम र इमान्दारीको कदर स्वरुप १९८७।५।१५ मा रु. ५००।– थप गरी रु. २५००।– तलब पाउने गरी राखेको स्थायी कर्मचारीलाई विपक्षी संचालक समितिले २०४५।२।१९ मा निलम्बन गरियो । २०४५।३।२७ को संचालक समितिको निर्णयले निलम्बनको मिति देखि लागू हुने गरी सुनुवाइको मौका नदिई मलाई अवकाश दिइयो । सो निर्णय उपर शिक्षा ऐन, २०२८ को दफा १८ ले विपक्षी वागमती अं.अ.मा पुनरावेदन लाग्ने व्यवस्था अनुरुप पुनरावेदन दर्ता गरेकोमा २०४५।१२।१३ गते विपक्षी संचालक समितिको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भएकोले बदर हुन्छ । पुनः कानुन बमोजिम इन्साफ गर्नु भन्ने फैसला भयो । ३. बा.अं.अ. ले गरेको पुनरावेदन फैसलामा निर्णय बदर गरेको ठिक छ तर कानुन बमोजिम निर्णय गर्न तारिख तोकी पठाउन मिल्दैन । सो हदसम्म निर्णय बदर गरी पाउँ भनी निवेदकले र विपक्षी विद्यालयले बा.अं.अ.मा पुनरावेदन लाग्नै सक्दैन भनी मध्यमाञ्चल क्षे.अ.मा पुनरावेदन गरेकोमा, करार सेवा अन्तर्गत नियुक्ति पाउने कर्मचारीको सम्बन्धमा सम्झौतामा भए अनुरुप हुने हुँदा शिक्षा ऐनको दफा १८(२) अन्तर्गत बा.अं.अ. मा पुनरावेदन लाग्न सक्ने भन्न मिलेन । आफू समक्ष लाग्न नसक्ने पुनरावेदन लिई सो पुनरावेदन किनारा लगाएको बा.अं.अ.को फैसला क्षेत्रात्मक त्रुटि हुन गएको देखिँदा बदर हुन्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०४६।८।१९ मा फैसला भयो । ४. शिक्षा नियमावली, २०२८ को नियम ४७(क) मा विद्यालयका शिक्षक तथा कर्मचारीलाई गर्ने सजायँको व्यवस्था छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई नियम ४७ र ४७(क) को अवस्था बाहेक अन्य अवस्थामा सेवाबाट हटाउन मिल्दैन । सफाइको मौका दिई मात्र हटाउनु पर्नेमा मलाई सुनवाइको मौका दिइएको छैन । सफाइको मौका नदिएको आधारबाट वा.अं.अ. ले विपक्षी संचालक समितिको निर्णय बदर गरेको हो । निवेदकलाई नियमावली बमोजिम शुरु कारवाही गर्ने मिति २०४५।२।१९ देखि निलम्बन राखेको कुराले शिक्षा नियमावली बमोजिम कार्यविधि