निर्णय नं. ४६६४ - उत्प्रेषण प्रतिषेध समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६६४ - उत्प्रेषण प्रतिषेध समेत भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/१८ २२७४ निर्णय नं. ४६६४ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४८ सालको रिट नं. १६१२ आदेश भएको मिति: २०४९।११।१८।२ मा निवेदक : सिन्धुपाल्चोक जिल्ला पालचोक गा.वि.स. वडा नं. २ बस्ने जुलवे गिरी विरुद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, मुकाम चौतारासमेत विषय : उत्प्रेषण प्रतिषेध समेत (१) जिल्ला अदालतमा चली राखेको मुद्दामा असर पर्ने गरी रिटनिवेदन क्षेत्र आकर्षित भई सो बाट अरु कुरा भन्न नसकिने । (प्रकरण नं. ११) (२) जुनसुकै अवस्थामा क्षेत्राधिकार नभएको विषयमा कुनै पनि कार्यालय वा अधिकारीले गराएको लिखत वा कागजको न्यायिक दृष्टिले कानुनी मान्यता शुन्य हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल प्रत्यर्थीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री मोहनबहादुर थपलिया आदेश न्या.केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. विपक्षी मध्येको हुतराज गिरी र मेरो दाजु नाता पर्ने षडानन्द गिरी तथा निजको छोरा ध्रुव गिरीको बीचमा गत असार महीनामा खेतको आली कान्दो साँध सीमाना सम्बन्धमा भनाभन भएको रहेछ । त्यसमा दागा धरी भित्री षड्यन्त्र गर्दै रहेछन । ३. यस्तैमा विपक्षी मध्येका हुतराज गिरीको के कुन व्यहोराको उजूरी लिएको हो वा के कुराबाट हो निवेदक षडानन्द गिरी तथा निजको छोरा ध्रुव गिरीलाई समेत बिना पक्राउ पुर्जी विपक्षी तारामाराङ प्रहरी चौकीबाट प्रहरी जवानहरु आई २०४८।५।१९ गते पक्राउ गरी सोही दिन बिना पुर्जी थुनामा राखी त्यसको भोलिपल्ट जि.प्र.का. सिन्धुपाल्चोक लानु पर्छ भनी नलगी रातभर र २१ गते दिनभर थुनामा राखियो । २२ गते विहान मलाई नसुनाई आगलागी मुद्दामा जेल चलान गर्ने समेत डरत्रास देखाई कागजमा ल्याप्चे सहिछाप गराइयो । सोही कागजमा मेरो दाजु पर्ने षडानन्द गिरी र निजको छोरा ध्रुव गिरीलाई पनि सही गराइएको थियो । कागज गराइएको बेला विपक्षी हुतराज गिरी पनि हुनुहुन्थ्यो । ४. त्यसपछि प्रहरीले मिति २०४८।५।२८ मा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दाखिला गर्न ल्याउँदा बाटोमा प्रहरी माथि नै आक्रमण गरी प्रहरीको कब्जाबाट भागी गएको भन्ने जाहेरी विपक्षी तारामाराङ प्रहरी चौकीबाट विपक्षी जिल्ला प्रहरी कार्यालयमा प्रहरीले नै प्रतिवेदन गरेको बुझिन आएको छ । प्रहरीमाथि आक्रमण गर्ने भनी कुनै पनि बेला पनि निवेदकलाई पक्राउ गरी ल्याउनु भन्ने आदेश छ भनी मेरो घरमा बराबर प्रहरीहरु आई परिवारलाई समेत धम्की दिँदै आएका छन् । ५. विपक्षी हुतराज गिरीसंग भित्री तवरले मेलमिलाप गरी मलाई प्रहरीले कुनै बेला पनि पक्राउ गरी थुन्ने, पिट्ने र इच्छा विरुद्ध कागज गराउने लगायतका कानुन विरुद्धका काम कारवाहीबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(२)(घ)(ङ) बाट प्रदत्त हकबाट वञ्चित गराउने भई सो विपरीत छ । ६. निवेदकलाई माथि लेखिए बमोजिम पक्राउ गरी अनाधिकार तवरसंग प्रहरी प्रशासनको दवावमा पारी मिति २०४८।५।२२ मा विपक्षी मध्येका तारामाराङ प्रहरी चौकीबाट गराएको कागज बदर गरी निवेदकको मौलिक हकमा आघात पुग्ने गरी निवेदकलाई पक्रिने थुनामा राख्ने पिट्ने कागज गराउने लगायतका कुनै काम कारवाही नगर्नु भनी