निर्णय नं. ९२०१ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२०१ - बन्दीप्रत्यक्षीकरण भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०१/०७ ३२२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की आदेश मिति : २०७१।१। ७।१ ०७०-WH-००३० विषय : बन्दीप्रत्यक्षीकरण । निवेदक : दोलखा जिल्ला, भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थायी घर भै हाल कारागार कार्यालय, सदर खोर डिल्लीबजार, काठमाडौंमा थुनामा रहेको रोशन श्रेष्ठ विरूद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंसमेत § अदालतको फैसलाले लागेको जरिवानासमेत तिर्न बुझाउन नसक्ने भनी यी निवेदकले उक्त फैसलामा उल्लेख भएको रोशन श्रेष्ठ आफू रोशन श्रेष्ठ नै भएको र आफूलाई सजाय भै बेरूजु भएको कुरा स्वीकार गरेको उक्त कागजको व्यहोराबाट देखिएको छ । फैसलाले लागेको जरिवाना तत्काल बुझाउन नसक्ने पछि दाखिल गर्ने भनी कागज गरेको देखिएको र मिति २०६९।९।८।१ मा त्यस्तो लिखत गरी फैसलाबमोजिमको जरिवानासमेत स्वीकार गरेको तथ्यविपरीत हुने गरी मिति २०७०।७।५ मा आएर बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरी उक्त कागजमा उल्लेख गरेको व्यहोरा खण्डन गर्न सक्ने अवस्थासमेत नरहने । (प्रकरण नं.२) § जिल्ला अदालतसमक्ष कागज गर्दा लागेको जरिवाना तत्काल बुझाउन नसक्ने पछि दाखिल गर्ने भनी कागज गरी लागेको अभियोगलाई स्वीकार गरी फैसलाबमोजिमको जरिवानासमेत स्वीकार गरिसकेको अवस्थामा सो तथ्यविपरीत हुने गरी दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खण्डन गर्न सक्ने अवस्थाको विद्यमानता नहुँदा निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी निजलाई थुनामुक्त गर्नुपर्ने अवस्था नदेखिने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान्‍ सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल अवलम्बित नजिर : सम्बद्ध कानून : फैसला न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको तथ्य एवम्‍ आदेश निम्नबमोजिम रहेको छ : रिट निवेदनको व्यहोरा : म निवेदक दोलखा जिल्ला, साविक दोलखा गा.वि.स.वडा नं. ९ हाल दोलखा भीमेश्वर नगरपालिका वडा नं. ३ मा जन्म भै विगत १० वर्ष अघिदेखि काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३४ भीमसेनगोलामा अस्थायी बसोबास गरी आइरहेको हुँ । म निवेदक दोलखा जिल्ला, श्यामा गा.वि.स.मा नेपाली कागज उत्पादन गर्ने कच्चा पदार्थ लोक्ता खेती गरी जिल्ला बाहिर सप्लाई गर्ने क्रममा कहिले काँही काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ भीमसेनगोला र कहिले जन्मस्थान दोलखामा रहँदै बस्दै आइरहेकोमा म निवेदक नेपाली कागज सप्लाई गर्ने प्रयोजनको लागि काठमाडौं आएकोमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३१ पुतलीसडकबाट मिति २०६९।९।८ गते बिहान करिब ९:०० बजेको सयममा आफूलाई केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी बताउने सादा पोशाकका ५ जना मानिसहरूले नेपाली कागज खरिद गर्ने सम्बन्धमा तपाईंसँग केही कुरा बुझ्नु छ अदालत जाँउ भनी भन्नु भएकोमा यही सल्लाह गरौं भनी मैले भन्दा अदालतमा नै गई मूल्य छिनोफानो गरौं भनी भन्नु भएकाले म निवेदक निजहरूसँगै काठमाडौं जिल्ला अदालत, बबरमहल पुगेपछि उक्त अदालतका कर्मचारीहरूसमेत भै मलाई सुरूमा स्रेस्तेदारज्यूको कार्यकक्षमा पुर्‍याई त्यहाँबाट विपक्षी काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारीको कार्यकक्षमा लगियो । तत्पश्चात मात्र म पक्राउ परेको थाहा पाए