निर्णय नं. १६५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: भाद्र अंक: ५ फैसला मिति :२०४०/०५/०३ ३२८३ निर्णय नं. १६५४ ने.का.प. २०४० अङ्क ५ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको रि.फु.नं. ३९ आदेश भएको मिति : २०४०।५।३।६ मा निवेदक/विपक्षी : श्री ५ को सरकारको तर्फबाट सचिव कानुन तथा न्याय मन्त्रालय विरूद्ध विपक्षी/निवेदक : जिल्ला कपिलवस्तु कृष्णनगर घर भई हाल खिचापोखरी बस्ने रतनलाल कनौडिया विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अदालतबाट मुद्दाको औचित्य भित्र प्रवेश गरी सफाई दिने निर्णय भएको नभई हदम्यादभित्र नालेस नपरेको कारणबाट मुद्दा चल्न नसक्ने भनी निर्णय भएको देखिन्छ यस्तोमा विभागीय कारवाई गर्न पाउने होइन भनी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. २२) (२) रिट निवेदक उपर जुन कुराको आरोप लागेको हो त्यसको आधारमा र कारणको नै विद्यमानता नरहेको भनाई हो भने बहुविवाह मुद्दा हदम्यादको कारणबाट तामेलीमा रहँदैमा वा अरू मुद्दा अदालतको विचाराधीन रहँदैमा सो आधार र कारणको विद्यमानता नै छैन भन्ने निष्कर्षमा पुग्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. २५) निवेदक विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञवाली र श्री कुसुम श्रेष्ठ आदेश न्या.धनेन्द्रबहादुर सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति ०३७।६।२७।२ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र पर्दा यसमा लेखिएको त्यस अदालतका डिभिजनबेञ्चबाट छिनिएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदकको मिसिल झिकी सो मुद्दा फुलबेञ्चबाट दोहर्‍याई कानुन बमोजिम निर्णय गरी दिनु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. निवेदक २०१६ सालमा अप्रेन्टिसमा नियुक्त भई २०१७ सालमा राजपत्रांकित तृतीय श्रेणीको सरकारी वकिलमा नियुक्त भएको त्यसपछि जिल्ला न्यायाधीश तथा भूमिसुधार विशेष अदालतको न्यायाधीशमा समेत नियुक्ति भई काम गरेको श्री ५ को सरकारले निवेदकको काम तथा आचरण समेतको विचार गरी २०२२ सालमा महान्यायाधिवक्ताको कार्यालयमा राजपत्रांकित द्वितीय श्रेणीको सरकारी अधिवक्ता पदमा अस्थायी बढुवा गरी २०२७ सालमा सोही पदमा पदाधिकार रहने गरी निवेदक वरिष्ठ सरकारी अधिवक्ता (विशिष्ट श्रेणी) को पदमा का.मु.मुकरर भई इमान्दारी र वफादारी साथ देशनरेशको सेवा गर्दैआइरहेको थियो । ३. यस्तैमा कानुन तथा न्यायमन्त्रालयबाट निवेदकलाई नि.से.ऐन, २०१३ को दफा ६(१)(ख) अनुसार पर्चा खडा गरी नि.से.नि.२०२१ को नियम १०.१ को (६) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतया अयोग्य ठहरिने गरी श्री ५ को सरकारको मिति २०३३।५।२३ को निर्णय बमोजिम नोकरीबाट बरखास्त गरिएको भन्ने व्यहोराको संख्या न्या.प्र.को मिति ०३३।५।२५ को सूचनापत्र प्राप्त भयो । ४. विभागीय कारवाही तथा सजाय हुने कुनै कसूर निवेदकले नगरेको तथा उक्त मिति २०३३।५।२३ को सूचनापत्रमा निवेदक उपरको आरोपसम्म पनि नखुलाइएको, कुन कुरा र कारणको आधारमा त्यस्तो विभागीय सजाय भएको हो सो जान्न सजायको आदेश र पर्चाको नक्कलको लागि मिति ०३३।५।३१।५ मा कानुन तथा न्यायमन्त्रालयमा निवेदन दिई सम्पर्क समेत राख्दा हालस