निर्णय नं. ९२०८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२०८ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०३/११ २८८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।३।११।४ ०६८-CR-०९१७ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/ प्रतिवादी : चक्रसिंह ठगुन्ना विरूद्ध प्रत्यर्थी/ वादी : मानसिंह ठगुन्नाको जाहेरीले नेपाल सरकार § मादक पदार्थ सेवन गरी उत्तेजित अवस्थामा वारदात स्थलमा उपस्थित रहेका यी प्रतिवादीले आफूले लगाएका कपडा खोली घटनास्थलमा यत्रतत्र फालेको अवस्थामा बरामद भएका र जन्तीमा आएका मानिसहरूले आफूलाई कुटपीट गरेका भन्ने निजको भनाइ रहेको देखिँदा प्रतिवादीको शरीरमा देखिएका चोटहरू हानेको चोट हो भनी यकिन गर्न नसकिने र सोही कारण आत्मरक्षाका लागि आफूले हतियार चलाएको भन्ने प्रतिवादीको भनाइ बचाउको आधार बन्न नसक्ने । (प्रकरण नं.७) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‍ वैतनिक अधिवक्ता श्रुतिकुमारी रेग्मी प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : § नेकाप २०५५, अङ्क ९, नि.नं. ६६०४, पृष्ठ ५४४ सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, ५ र १३(३)नं § मुलुकी ऐन, अ.बं १८८ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री कविप्रसाद न्यौपाने पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री कोमलनाथ शर्मा फैसला न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, महेन्द्रनगरबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यस प्रकार छ : मिति २०६७।११।५ गते जिल्ला दार्चुला, खार गा.वि.स. वडा नं. ८ बस्ने मेरो सहोदर भान्जा भगतसिंह ठगुन्नाको विवाह भएको हुँदा निमन्त्रणामा भाइ जय रामसिंह ठगुन्नासमेतका व्यक्तिहरू गएका थिए । सोही राति चक्रसिंह ठगुन्नासमेतका व्यक्तिहरूले विवाद गरी भाइ जयरामसिंह ठगुन्नालाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाई भाइ जयरामसिंह ठगुन्नाको घटनास्थलमा मृत्यु भएकाले आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको मानसिंह ठगुन्नाको जाहेरी दरखास्त । जिल्ला दार्चुला, खार गा.वि.स. वडा नं. ८ स्थित चार किल्ला खोलिएको पदमसिंह ठगुन्नाको पसलका उत्तरतर्फ पानी धाराको छेउमा जयरामसिंह ठगुन्नाको लास रहेको, लासमा रहेका कपडाहरू रगतले भिजी रगताम्य अवस्थामा रहेका, जयरामसिंह ठगुन्नाको घाँटीको बायाँ साइडमा १ इन्च चौडाई ३ इन्च गहिराई र बायाँ हातको पाखुरामा समेत धारिलो हतियारको जस्तो घाउ भएको भन्ने घटनास्थल तथा लास प्रकृति मुचुल्का । जिल्ला दार्चुला, खार गा.वि.स. वडा नं ८ फेरागाउँ स्थित घटनास्थलमा फेला पारिएका कपडाहरू अनुसन्धानको सिलसिलामा खटिइएका प्रहरी अनुसन्धान अधिकृतको डोरले हामीहरूको रोहबरमा उठाई बरामद गरिएको भन्ने बरामदी मुचुल्का । विवाह भएको घरको उत्तरतिर रहेको पदमसिंह ठगुन्नाको पसल घर रहेको ठाउँतिर हो हल्ला सुनी म पनि त्यसतर्फ गएकोमा मेरो बुबा जयराम सिंह ठगुन्नाको मुखमा रगत बगिरहेको र नाक फुटाउने गणेशसिंह ठगुन्ना कहाँ गए भनी खोजी गर्दै आएका थिए । चक्रसिंह ठगुन्ना रक्सीको अत्यधिक नशामा गई वीरेन्द्रसिंह ठगुन्ना र मेरो बुबासँग झगडा गर्न लाग्दा निज चक्रसिंह ठगुन्नाले मेरो बुबा जयरामसिंह ठगुन्नालाई हिर्काएका थिए । बुबाको शरीरबाट दुईहातले धारिलो हतियार छुरा निकाल्दा देखेकी थिएँ । त्यसपछि बुबाको शरीरबाट रगत बगी रगताम्य भई बुबा भ