निर्णय नं. ९२११ - गैंडाको खाग ओसार पसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२११ - गैंडाको खाग ओसार पसार भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०४/१८ ३४५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।४।१८।१ ०७०-MS-०००५ मुद्दा : गैंडाको खाग ओसार पसार । पुनरावेदन/प्रतिवादी: प्रकाश बुढासमेत विरूद्ध विपक्षी/वादी : ऐ. श्यामदेव यादवसमेतको जाहेरीले नेपाल सरकार § प्रतिवादीहरू हालसम्म पनि पक्राउ परेका अवस्था नहुँदा निज प्रतिवादीहरू कहाँ छन् भन्ने सम्म पनि सुरू अनुसन्धान अधिकारी र मुद्दा हेर्ने निकायले यकिन गर्न नसकी बिना आधार र कारण मुद्दा दायरसम्म गरेको देखिएकाले निजहरूको हकमा कसुर स्थापित हुन सक्ने अवस्था नहुँदा निज प्रतिवादीहरू भूपेन्द्र शाही र पेमा लामाले आरोपित कसुरको दायित्वबाट उन्मुक्ति पाउने नै देखिने । (प्रकरण नं. ६) § दशीको रूपमा बरामदी गैंडाको खाग गैंडाको सक्कली खाग होइन भनी विशेषज्ञले दिएको राय सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा संलग्न प्रतिवादीहरूमध्ये निजहरूको परस्पर बयान र संलग्नताको आधारमा हेर्दा मुख्य आरोपी देखिएका प्रकाश बुढा र दानसिंह चैसिरले बरामदी खागलाई मौकामा सक्कली होइन भनी जिकिर लिन सकेको नपाइने । § आफूले प्राप्त गरको सो सामानलाई अनुपम वस्तुको रूपमा स्वीकार गरी अन्तिम अवस्थासम्म ओसार पसार र कारोबारको प्रयास गरेको देखिने । § बरामदी खागलाई नक्कली हो भनी सजायबाट उन्मुक्ति पाउँन मौकामा जिकिर लिन सकेको पाइँदैन । पछि खागको परीक्षण हुँदा खाग नक्कली हो भनिए तापनि विशेषज्ञको बन्द सवालबाट भएको बकपत्र हेर्दा निजलाई जिरह हुन सकेको अवस्था नदेखिएको र गैंडाको खाग नक्कली हो कि ? भन्ने बयानको क्रममा प्रश्न उठेपछि मुद्दा हेर्ने अधिकारी वन अधिकृतको इजलासबाट जाँच गर्न पठाउने विधिवत् कुनै आदेश नभई प्रतिवादीहरू स्वयम्ले जाँच गराई पाउँ भन्ने निवेदनको आधारमा बीचैबाट जाँच गर्न पठाएको देखिने । § प्रतिवादीहरूले गैंडाको खाग सक्कली खागको रूपमा अवैध कारोबारको कार्य गरेको परिप्रेक्ष्यमा पछि आएर एउटा निवेदनको भरमा जाँच गराउने माग गरेको देखिँदा त्यसमा विवन्धनको सिद्धान्तसमेत आकर्षित हुन सक्ने अवस्था हुँदा, सो जाँच परीक्षणलाई विवादरहित रूपमा स्वीकार गर्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. ७) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता टीकाराम भट्टराई प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता गंगाप्रसाद पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : § राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ को दफा २६ सुरू तहमा फैसला गर्ने : वन अधिकृत श्री देवीप्रसाद कोइराला पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री देवेन्द्रगोपाल श्रेष्ठ फैसला न्या.दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ८ को उपदफा ४ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः- मिति २०६६।५।५ गतेका दिन जिल्ला वन कार्यालय, दार्चुला र जिल्ला प्रहरी कार्यालय, दार्चुलाको संयुक्त गस्ती टोलीले जिल्ला दार्चुला, भगवती गा.वि.स. वडा नं. २ डुङरी बस्ने दानसिंह चैसिरले खलङ्गा बजारमा हिमालय लज सञ्चालन गरी बसी रहेको हिमालय लजको पहिलो तलाको उत्तर पूर्व कुनाको कोठाको दक्षिण पश्चिम कुनामा रहेको स्टिल दराजको तल्लो खानामा खानतलासी गर्ने क्रममा नैनसिंह ठगुन्नाको नीलो झोलाभित्र कालो पोलिथिनमा प्याक गरी राखेको एकसिङे् गैंडाको खाग बरामद गरिए