निर्णय नं. ९२१२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२१२ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७२/०५/११ ३९५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ फैसला मिति : २०७१।५।११।४ ०६९-CR-०७५५ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला भोजपुर, तिम्मा गाउँ विकास समिति वडा नं. १ घर भै हाल कारागार कार्यालय, सुनसरी झुम्कामा कैदमा रहेका प्रेमबहादुर गुरूङ विरूद्ध प्रत्यर्थी/वादी : सुरेन्द्र राईको जाहेरीले नेपाल सरकार § मृतक बोल्न नसक्ने ५ वर्षीय अपाङ्ग तथा अबोध बालक रहेका र निजले प्रतिवादीलाई केही गरे बिराएको देखिँदैन । यस्तो अबोध तथा सबैको मायाका आकाङ्क्षी बालकप्रति प्रतिवादीलाई रिस उठ्नु भनेको प्रतिवादीको निर्दयी स्वभावको द्योतक हो । समाजमा यस प्रकारका अनुत्तरदायी, क्रूर तथा हिंस्रक व्यक्तिहरूलाई धर्मको जामा पहिराउनु उचित हुँदैन । यस्ता व्यक्ति धर्मका नाममा कलङ्क हुन् । यस्ता व्यक्ति समाजको शान्ति सुरक्षाका लागि अत्यन्त खतरनाक हुने हुँदा निजहरूलाई कडा दण्डद्वारा निरूत्साही गर्न तथा यस्ता खाले अरू निर्दयी अपराधीहरूमा त्रासको सन्देश जानका लागि फौजदारी न्यायले प्रभावकारी भूमिका खेल्नु जरूरी छ । प्रस्तुत वारदात भनेको जघन्य वारदातभित्रै पर्ने देखिन्छ । आङै सिरिङ्ग हुने यस किसिमको कसुर गर्ने कसुरदारलाई रियायत दिनका लागि मुलुकी ऐन, अ.बं. १८८ नं. को निर्माण भएको होइन । बालक मरिसेकपछि पनि अब मर्‍यो ठीक भयो भन्ने सोचाइ राख्ने प्रतिवादीलाई कम सजाय हुनुपर्छ भन्ने विद्वान्‍‍ अधिवक्ताहरूको बहससँग सहमत हुन नसक्ने । § मृतक अबोध बालकसँग पुनरावेदक प्रतिवादीलाई बिनाकारण रिस उठेको र विभत्स किसमले हत्या गरेको प्रस्तुत वारदातमा ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुने अवस्था नरहने । (प्रकरण नं. ३) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‍‍ अधिवक्ताद्वय इन्द्र खरेल तथा बल्लभ बस्नेत प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३(३), १४ नं. § मुलुकी ऐन, अ.बं. १८८ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री अम्बरराज पौडेल पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री शम्भुबहादुर खड्का मा.न्या.श्री विदुर विक्रम थापा फैसला न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ‍ ठहर यस प्रकार छ : जिल्ला भोजपुर, तिम्मा १ स्थित पूर्वमा बिर्खबहादुर राईको घर, पश्चिममा जगबहादुर गुरूङको घर जग्गा, उत्तरमा दिङला जाने कच्ची बाटो, दक्षिणमा जगबहादुर गुरूङको जग्गा रहेको चार किल्लाभित्र पश्चिम मोहोडा भएको काठको छानो र ढुङ्गा माटोले बनेको घरको तल्लो तलाको पश्चिमपट्टिको ढोकाबाट प्रवेश गरी हेर्दा दक्षिण टाउको, उत्तर खुट्टा भै उत्तानो अवस्थामा रहेको मृतक प्रेम भन्ने अजम्बर राईको दुबै कान नाकबाट रगत निस्किएको, दाहिने कानको बीच भागमा र बाँया कानको अगाडि आखाँमुनि चोट भै रगत आएको, बाँया कानमुनि घाँटी नजिक औंलाले थिचेको रातो नीलो डाम, चल्नीमा किच्याएको डाम, पछाडि मलद्वार नजिकमा नीलो डाम भएको र मृतक लास रहेको पाँच फिट पश्चिममा रगत २ फिट लम्बाई ७ इन्च चौडाई फिंजिएको अवस्थामा पाइएको भन्ने मिति २०६८।८।५ गतेको घटनास्थल लास जाँच मुचुल्का । मिति २०६८ साल मार्ग ४ गतेको दिन बिहान ९.०० बजेको समयमा मेरो छोरा वर्ष ५ को प्रेम