निर्णय नं. ८७२५ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७२५ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/10/05 ११३८७ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं. ८७२५ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती रिट.नं. ०६७–WS–००६८ आदेश मितिः २०६८।१०।५।५ विषयः उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः जिल्ला काठमाडौँ, महाँकाल गा.वि.स.वडा नं. ८ मण्डिखाटार बस्ने जानकी अधिकारी (कटुवाल) समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § कसैको स्वास्नी बनेकी छोरी मान्छे वा कुनै महिलाले आफ्नो पतिको पैतृक सम्पत्तिबाट अंश पाउने हुनाले विवाह भैसकेकी छोरीको लागि निजको बाबुतर्फको पैतृक सम्पत्तिको अंशबण्डा गर्न नपर्ने । (प्रकरण नं.३) § सामाजिक संरचना, परम्परा र समाजको बनावटको दृष्टिकोणबाट विवाहित र अविवाहित दिदीवहीनीहरूकै बीच सम्पत्तिको असमान अवस्थाको सिर्जना गर्ने स्थितिलाई प्रश्रय दिने गरी अदालतले कुनै पनि कानूनी व्यवस्थाको व्याख्या गर्नु न्यायपूर्ण हुन नसक्ने । § विवाहित र अविवाहिता छोरीहरू दुवैले आफ्नो बाबुको अंश पनि पाउने र विवाहिताले पतितर्फबाट पनि अंश पाउने गरी कानूनी व्यवस्थामा सुधार गर्नुपर्ने विषय न्यायिक दायराबाट निश्चित् हुन नसक्ने । (प्रकरण नं.६) § विशेष इजलासबाट एक पटक निरोपण भैसकेको विवादित कानूनी व्यवस्थाको सम्बन्धमा पटक पटक प्रश्न उठाउँदै जाने र यस अदालतले पनि हरेक पटक फरक फरक दृष्टिकोण राखी अन्यथा व्याख्या गर्दै जाने हो भने एउटै कानूनी व्यवस्थाको फरक–फरक व्याख्या हुने र अन्ततः त्यस्तो कार्यले न्यायमा एकरुपता कायम गर्न असहज स्थिति उत्पन्न हुने मात्र नभई त्यसबाट अदालतप्रतिको जनआस्थामा नै नकारात्मक असर पर्न जाने । (प्रकरण नं.१०) निवेदकका तर्फबाटः विद्वान अधिवक्ताहरू मीरा ढुंगाना र सुष्मा गौतम विपक्षी तर्फबाटः विद्वान नायब महान्यायाधिवक्ता प्रेमराज कार्की एवं विद्वान उपन्यायाधिवक्ता राजेशकुमार कटुवाल एवं विद्वान अधिवक्ता सविता भण्डारी बराल, वालमुकुन्द श्रेष्ठ अवलम्बित नजीरः § नेकाप २०५२, नि.नं. ६०१३, पृष्ठ ४६२ § नेकाप २०६२, नि.नं. ७५७७, पृष्ठ ९३१ § नेकाप २०६५, नि.नं. ८०३१, पृ. १३०६ सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३, धारा २०(१) र २०(४) § अंशबण्डाको १, १क, १६ नं. आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१) बमोजिम दायर भएको प्रस्तुत रिट निवेदनको तथ्य एवं निर्णय यस प्रकार रहेको छ :– निवेदक संस्था महिला वर्गको हित, महिला सशक्तिकरण, महिला उत्थान, विकास एवं कानूनी हक अधिकारको रक्षा एवं समग्र मानव अधिकारको प्रबर्द्धन गर्ने उद्देश्यले स्थापना भई सोही क्षेत्रमा क्रियाशील रहिआएको छ । निवेदकमध्येकी म जानकी (कटुवाल) अधिकारीको बुवा स्व. गोविन्दबहादुर कटुवालका तीनजना श्रीमतीहरू मध्ये जेठी स्व. चिनीमैयाँ कटुवालबाट मेरो जन्म भएको हो । तत्पश्चात् बुवाले प्रमिला भन्ने कालीकुमारी (बानियाँ) कटुवालसँग विवाह गर्नुभयो । निजबाट ३ छोरी जन्मेकोमा किशोरीसिंह कटुवाल मात्र जीवित हुनुहुन्छ । वहाँको पनि विवाह भैसकेको छ । मेरा पिताको कान्छी श्रीमती विजया कटुवालको गर्भबाट एक छोरा मुरारीको जन्म भएकोमा दुर्घटनामा परी २०३७ सालमै मृत्यु भएको थियो । यस प्रकार, मेरा पिताको हामी दुई छोरीहरू मात्र जीवित छौं । हाम्रो पालनपोषण २ वटी आमाहरूबाट हुँ