निर्णय नं. १७५२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७५२ - कर्तव्य ज्यान भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/१५ २४५६ निर्णय नं. १७५२ ने.का.प. २०४० अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३८ सालको फौ.पु.नं. २९७ फैसला भएको मिति : २०४०।९।१५।६ मा पुनरावेदक/प्रतिवादी : गोर्खा १८ सय खोला विही गा.पं.वार्ड नं.९ क्राक गाउँ बस्ने हाल केन्द्रीय कारागार शाखा भद्रगोलमा थुनामा रहेको छिरीङ तेन्जिङ भोटे विरूद्ध विपक्षी/वादी : वाङ ढाकापा लामाको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) लेनदेनमा झगडा हुँदा तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई छुरीले हिर्काएकोबाट ऐनका म्याद भित्र मृत्यु भएको देखिन आएकोले सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने भएकोले अ.बं.को १८८ नं.बमोजिम १० वर्ष कैद हुने । (प्रकरण नं. १६) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षीतर्फबाट वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे फैसला न्या.बब्बरप्रसाद सिंह १. पश्चिमाञ्च क्षेत्रीय अदालतको ०३८।१।११ को फैसला उपर प्रतिवादीको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं पुनरावेदन जिकिर यसप्रकार छ : २. मिति २०२८।५।१७ गते छिरीङ तेन्जिङ भोटेले तिब्बती शरणार्थी फुन्चो ढोक्यालाई कस्तूरी लिन जाउँ भनी लगी व्यारीङ वनको ओडारमा टाउको पछाडि छुरीले हानी घायल भएकोले क्राक गाउँ बस्ने नुपुओङतेल भोटेले फेला पारी सोधपुछ गर्दा छिरीङ तेन्जिङले छुरी हानी रु.७,५००। समेत लग्यो भनी भनेकोले र सोही वेदनाबाट निज मरेकोले कानुनबमोजिम होस् भनी वाङ ढोकपाले जाहेर गरेको भनी प्रहरी चेकपोष्ट लार्केको ०२८।५।२५ को जाहेरी दरखास्त । ३. छिरीङ तेन्जिङ भोटेले फुन्चो ढोक्यालाई कस्तुरी ल्याउने सल्लाह गरी बेरीङ वनको ओडारमा छुरीले हानी साथमा भएको रु.७,५००। धनमाल समेत लग्यो भनी मृतकले भनेकोले सोही वेदनाबाट निज मरेको शंका लाग्छ भन्ने समेत नुपुआङतेल भोटे समेतको सरजमीन मुचुल्का । ४. फुच्चो ढोकपासँग भएको धनमाल हरण गर्न छिरीङ तेन्जिङले छुरीले हानी निजको मृत्यु भएको भन्ने शंका देखाई सरजमीन गरी दिएकोले अभियुक्त छिरीङ तेन्जिङ मौकामा फेला नपरेकोले निज उपर ज्यानसम्बन्धीको १३ नं.बमोजिम सजाय हुने राय व्यक्त गरी केशको कारवाही हुन अनुरोध गर्दछु भन्ने समेत प्रहरी प्रतिवेदन । ५. लेनदेनको कुरामा झगडा हुँदा मृतक फुन्चो ढोक्याले मलाई देब्रे पातामा छुरीले हान्यो, मलाई सानो घाउ लाग्यो मैले पनि तत्काल उठेको रिस थाम्न नसकी छुरीले निजको घिच्रामा हानेको हो । निजसँग पैसा थियो थिएन मलाई थाहा छैन । फुन्चो मरेको खबर पाएपछि मनाङ गएर २ महीना बसेँ र चितवन आएर २ महीना बसँे । मलाई सल्लाह दिने कोही पनि छैनन् । सरजमीनले किन पैसा लिएर भाग्यो भने थाहा छैन । मैले हानेका छुरीबाट निज फुन्चो मरेको हो भन्ने समेत अभियुक्त छिरीङ तेन्जिङ भोटेको बयान । ६. फुन्चो ढोकपा जीवित छैन । त्यसबेला म विही गाउँको प्रधानपञ्च थिए । गाउँकै मानिसले फुन्चोलाई बोकी मेरो घरमा ल्याए बोलचाल र खान सक्ने थिए । टाउकोमा र घिच्रामा घाउ थियो मैले के भयो भन्दा लेनदेनको कुरामा मैले छिरीङलाई छुरी हानेपछि उसले पनि मलाई छुरी हान्यो । म मुर्छा परेपछि छिरीङ कता गयो थाहा भएन भन्थ्यो । पैसा सम्बन्धित कुरो मैले पनि सोधिन । निजलाई मेरै घरमा औषधी गर्दै थिएँ । निजलाई झाडा खूब लागेको थियो ज्वरो पनि आएको थियो । घरमा ल्याएको