निर्णय नं. ८७३७ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७३७ - उत्प्रेषण, परमादेश भाग: ५३ साल: २०६८ महिना: चैत्र अंक: १२ फैसला मिति :2068/10/04 ६२३१ ने.का.प. २०६८, अङ्क १२ निर्णय नं.८७३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की २०६७–WO–०४७२ आदेश मितिः २०६८।१०।४।४ विषयः उत्प्रेषण परमादेश । निवेदकः नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि. का तर्फबाट अख्तियारप्राप्त ऐ. का प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बिरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौं § एकचोटी जुन कामको लागि जग्गा प्राप्त गरिएको हो सो काममा अधिग्रहित जग्गाको प्रयोग वा उपयोग भइसकेको छ भने पुनः साविक जग्गाधनीले त्यस्तो जग्गा फिर्ता प्राप्त गर्न सक्दैनन् । जुन कामको लागि जग्गा प्राप्त गरिएको हो सोही काम वा प्रयोजनमा सो जग्गाको प्रयोग अनन्तकालसम्म सदासर्बदा भई नै रहनुपर्ने भन्ने जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३३ र ३४ को आशय र उद्देश्य हुन नसक्ने । § जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३४ ले अधिग्रहण गरेपछि पनि अनन्तकालसम्म त्यस्तो जग्गामा साविक जग्गाधनीको सशर्त अधिकार वा अनिश्चित अधिकार (Conditional Right वा Contingent Right) प्रदान गरेको छैन । एकपटक अधिग्रहित जग्गाको प्रयोग र उपयोग अधिग्रहणको उद्देश्यअनुरूप भइसकेको छ भने बर्षौ वा दशकौंपछि त्यस काममा अबरोध आएमा वा सो काम नहुने भएमा उक्त दफाअनुसार सो जग्गा साविक जग्गाधनीलाई फिर्ता दिनुपर्ने भन्ने ऐनको मनसाय हुन नसक्ने । (प्रकरण नं.७) § एउटा निजी कम्पनीको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९(३) अनुसार रोक्का गर्न मिल्ने नहुँदा व्यक्तिको जग्गा वा सम्पत्ति केही व्यक्तिको भनाईमा लागेर कानूनी प्रक्रियाबेगर रोक्का राख्न नमिल्ने । (प्रकरण नं.२०) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू सर्वज्ञरत्न तुलाधर, कृष्णप्रसाद भण्डारी र हरिहर दाहाल एवं अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, मेघराज पोखरेल, तुलसी भट्ट र बेदनाथ पहाडी विपक्षी तर्फबाटः विद्वान नायब महान्यायाधिवक्ता प्रेमराज कार्की र विद्वान सहन्यायाधिवक्ता समिर सिलवाल सरोकारवाला तर्फबाटः विद्वान अधिवक्ताहरू अम्बिकाप्रसाद कोइराला, वोर्णबहादुर कार्की र विश्वप्रकाश भण्डारी अवलम्बित नजीरः § नेकाप २०६६, नि.नं. ८१७०, पृ. ९७८ सम्बद्ध कानूनः § जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३३ र दफा ३४ § बित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४६(१)(छ), ५७, ४८(१) को (क) § अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२क र १२ख, ३५(ग) § भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९(३) आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२/१०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छ :— निवेदक बैंक प्रचलित कानूनबमोजिम स्थापित भई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ तथा कम्पनी ऐन, २०६३ को अधिनमा रही सञ्चालन भई आएको संस्था हो । निवेदक बैंकको स्थापना बैंकिङ्ग कारोवार गर्नको लागि भएकोले बैंकले निक्षेप ग्रहण गर्ने ऋण कर्जा प्रवाह गर्ने लगायतका बैंकिङ्ग कारोवार गरी आएको छ । कारोवार गर्ने क्रममा हरिसिद्धि ईंटा टायल कारखाना लि. ले ऋण कर्जाको लागि बैंकमा आवेदन गरेकोले कारखानाले ऋण कर्जाको रकमबाट सञ्चालन गर्ने परियोजना तथा कारखानाले धितो सुरक्षणको रुपमा दिन खोजेको जग्गा समेत उपयुक्त देखी कारखान