निर्णय नं. १७७४ - उत्प्रेषण लगायत प्रतिषेधको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७७४ - उत्प्रेषण लगायत प्रतिषेधको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२० २१५६ निर्णय नं. १७७४ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. ९२६ आदेश भएको मिति : २०४०।१०।२०।६ मा रिट निवेदक : जिल्ला धनुषा, जनकपुर नगरपञ्चायत वडा नं.१ बस्ने वंशिधर अग्रवाल विरूद्ध विपक्षी : श्री प्रशासकीय अधिकृत, जिल्ला कार्यालय धनुषा समेत विषय : उत्प्रेषण लगायत प्रतिषेधको आदेश जारी गरिपाउँ (१) निर्विवाद हक स्थापित भइसकेको नभई जग्गा सम्बन्धी विवाद अदालतको विचाराधीन रहेको देखिन आएकोले रिट निवेदकको माग बमोजिम हक प्रचलन गर्ने आदेश दिन नमिल्ने । (प्रकरण नं. ११) रिट निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना आदेश प्र.न्या.नयनबहादुर खत्री १. नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोराहरू यसप्रकार छन् : २. तथ्य : जिल्ला धनुषा जनकपुर नगरपञ्चायत, वडा नं.१ स्थित साविक ६ नं.लक्ष्मी नारायण देखि पश्चिम १० नं.परमानन्द देखि उत्तर र पूर्व राजर्षी जनकपथ (स्टेशन रोड) देखि पश्चिम हाल जनकपुर कर कार्यालय देखि उत्तर स्टेशन रोड देखि पश्चिम रामदयाल शाहको घर देखि पूर्व यति चार किल्लाभित्रको ०–४–१७,३४ घरजग्गा विटौरी लगत नं.८ मा दर्ता भई साविकमा रामजी बडवारको नाउँमा दर्ता भएको जग्गा सरकारबाट बजार बसाउनको निमित्त प्राप्त गरी श्री निवास वरौलियालाई घर निर्माण गर्न निमित्त कबुलीयत गराई दिइएको थियो । श्री निवास वरौलीयाले कबुलीयतको शर्त अनुसार घर बनाउन नसकेको हुनाले तत्कालिन बजार अड्डाबाट मिति ०१३।३।१२ का दिन लिलाम बढाबढ हुँदा मेरो स्व.पिता भगवतीप्रसादले लिलाम सकार्नु भई सो जग्गामा घर बनाई भोगचलन गरी आउनुभएको र साल सालैको लाग्ने विटौरी बुझाउँदै आउनुभएको थियो । ३. उक्त मेरो हकको जग्गामा रामजीलाल चौधरी समेतले जालसाजी राजीनामा खडा गरेको निजहरू उपर मैले जालसाजीमा मुद्दा हालेकोमा उल्लिखित लिखतहरू धनुषा जिल्ला अदालतबाट जालसाजी ठहर भएको फैसला उपर निजहरूको म.क्षे.अ.मा पुनरावेदन परी हाल विचाराधीन भइरहेको छ । ४. यसै बीच श्री ५ को सरकारको मिति ०३९।५।२८ को निर्णय अनुसार उल्लिखित जग्गा जानकी मन्दिर जिर्णोद्धार गुरूयोजना अनुसार जनकपुरधाम स्थित जानकी मन्दिर तथा सो मन्दिर वारी पारी रहेको विवाह मण्डप र लक्ष्मण मन्दिर समेत एकै कम्पाउण्ड भित्र पार्क लगायत गुरूयोजना अनुसारको निर्माण कार्य गरी जानकी मन्दिरको धार्मिक एवं ऐतिहासिक महत्त्वलाई संरक्षण एवं सम्बद्र्धन गर्न तथा त्यस कम्पाउण्डमा रहेको अव्यवस्थित बसोवासलाई अन्यत्र सारी व्यवस्थित रूपमा बसाउने निमित्त अधिग्रहण गर्ने निर्णय भएकोले प्रारम्भिक कारवाई शुरू भएको कुराको सम्बन्धितलाई जानकारी दिने हेतुले मिति ०३९।५।३१ का दिन श्री प्रशासकीय अधिकृतज्यूले सूचना प्रकाशित गर्नुभयो । ५. जिकिर : जग्गा अधिग्रहण ऐन, २०३४ को दफा २(क) बमोजिम सर्वसाधारण जनताको हित लाभ वा उपयोगको लागि वा श्री ५ को सरकारको लागि वा श्री ५ को सरकारद्वारा स्वीकृत परियोजनको लागि वा विभिन्न तहका पञ्चायतद्वारा सञ्चालन गर्ने परियोजनाको लागि मात्र जग्गा अधिग्रहण गर्न पाइने रहेको छ । जानकी मन्दिर जिर्णोद्धार गुरूयोजना अन्तर्गत हटाइने बसोवासका व्यक्तिह