निर्णय नं. १७९० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७९० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/०६ २२६५ निर्णय नं. १७९० ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रि.नं. १२१५ आदेश भएको मिति : २०४०।१०।६।६ मा निवेदक : पाँचथर जिल्ला च्याङथापु गा.पं.वडा नं.६ बस्ने जितमान राई विरूद्ध विपक्षी : च्याङथापु गा.पं.वडा नं.६ बस्ने हर्कमाया राई समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) फैसला बदर गरिपाउँ भन्ने रिट निवेदन जिकिर नहुँदा उक्त फैसलाको वैधता सम्बन्धमा यसबाट हेर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री जंगनाथ पौडेल विपक्षीतर्फबाट : विद्वान स.अ.श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अ.श्री कुसुम श्रेष्ठ आदेश न्या.पृथ्वीबहादुर सिंह १. तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ : २. च्याङथापु गा.पं.वडा नं.६ कि.६० को क्षेत्रफल रोपनी ७–१४ जग्गाको साविक जग्गाधनी विपक्षी हर्कमाया नै हुनुहुन्थ्यो । वहाँले ०३५।१२।७ मा सो जग्गा रु.१५,५००। मा नरबहादुर राईलाई बिक्री गर्नुभएको थियो । विपक्षी हर्कमाया राई मेरो नजिकको काकी भएको र निजले बिक्री गरेका जग्गा मैले कानुनतः निखन्न पाउने हुँदा मैले निखनाई पाउन धरौट राखेपछि विपक्षी हर्कमाया एवं नरबहादुर एकआपसमा मिली हर्कमायाको मोहियानी कायम गर्ने षडयन्त्र गर्नु भएछ। मैले धरौट राखी कारवाहीमा चलिरहेको अवस्थामा विपक्षी हर्कमाया एवं विपक्षी नरबहादुर जग्गाधनी बनी गरेको कारवाही मुद्दा चलिरहेको अवस्थामा भएको काम कारवाही हुँदा सो कुरा कानुनले स्वतः अमान्य हुन्छ र ०३७।४।२९ मा विपक्षी हर्कमाया मोही कायम हुने गरी भएको फैसलाको कुनै कानुनी महत्त्व छैन । निखनाई पाउने सम्बन्धमा ०२८।१२।११ मा अन्तिम फैसला भई माथि उल्लिखित कि.नं.६० को जग्गा रोपनी ७–१४ मा मेरो स्वामित्व स्थापित भइसकेको छ यसै बीच विपक्षी हर्कमायाले बीचका उनाउ कानुनी रूपले अधिकृत व्यक्तिसँग गराएको अन्तरकालीन लिखतहरू कुनै पनि प्रकारले कानुनी हुनसक्दैन । नरबहादुरको हक विवादास्पद भइरहेको अवस्थामा माथि उल्लिखित जग्गाको नरबहादुरलाई जग्गाधनी मानी विपक्षी हर्कमायालाई मोही कायम गरिएको भनिएको ०३७।४।२९ को भू.सु.का.को निर्णय समेत अमान्य हुँदा बदर गरी न्याय पाउन छुट्टै निवेदन दिनेछु । ०३७।४।२९ मा भूमिसुधार कार्यालय पाँचथरबाट त्यस प्रकारको फैसला भएको थियो भन्ने कुराको समेत मलाई कुनै प्रकारको जानकारी छैन हालै मात्र विपक्षी हर्कमायाले मोही वेदखलीको सम्बन्धमा उजूरी दिएपछि मात्र मलाई चिसो पस्न गएको हो । त्यसमा पनि ०३९।८।१८ मा भू.सु.का.पाँचथरबाट फैसला हुँदा उल्लेख गरेको फैसलाकै आधारबाट उक्त कुरा यकीन हुनगएको हो । विपक्षी हर्कमाया एवं नरबहादुरले एकआपसमा मिलोमतो गरी मेरो हक मेटाउने अभिप्रायले त्यस्तो अमान्य कारवाही गर्न कदापि मिल्दैन । नरबहादुरले मोही मान्दैमा मेरो हक भएको जग्गामा विपक्षी मोही हुने कानुनी व्यवस्था छैन । स.अ.बाट मुद्दा पर्दापर्दैको अवस्थामा कागज तयार गरिएको छ विपक्षी भूमिसुधार कार्यालयले आफ्नो निर्णयमा उल्लेख गरेको कानुनी बुँदामा जितमानको हक ०३८ साल चैत्र ११ गते मात्र कायम भएको र सो भन्दा अगाडि २०३७ सालदेखि नै हर्कमायाले मोहियानी कायम भएको र सो मिति पछि जस्तो सुकै कारवाही भएको भए पनि मोही कायम हुने भनी फैसला भएको छ जुनकुरा मूलभूत रूपमा त्रुटिपूर्ण छ । विपक्षीले २०२५।१२।७ मा बिक्री