निर्णय नं. १७९५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७९५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: माघ अंक: १० फैसला मिति :२०४०/१०/२० २४९१ निर्णय नं. १७९५ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रिट नं. १७५६ आदेश भएको मिति : २०४०।१०।२०।६ मा निवेदक/वादी : जि.सिन्धुली भीमथान गा.पं.वा.नं.१ शाखा पाडी डाँडा गाउँ बस्ने चूनादेवी आचार्य विरूद्ध विपक्षी : ऐ.ऐ बस्ने राजमान नेवार समेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) जोताहा अस्थायी निस्साको आधारमा जग्गामा मोहियानी हकको दावी गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ९) आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. नेपालको संविधानको धारा ७१ अन्तर्गत यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. २०१९।१।१४ मा रघुनाथपुर मालबाट रजिष्ट्रेशन पारित भएको राजीनामाको लिखत बमोजिम सोही मिति देखि विधिवत मेरा नाउँमा हकभोग र स्वामित्व हस्तान्तरण भई साविक पाटन देवी गा.पं.वा.नं.७ मा पर्ने साविक दुई बिगहा हाल नापी भई कित्ता कायम हुनआएको पाटन देवी गा.पं.वा.नं. ७(क) को कि.नं.१६ को बिगहा २–२–५½ जग्गाधनी म निवेदीकाले राजीनामा मिति देखि अविच्छिन्न रूपमा भोगचलन गर्दैआएको, २०२८ सालमा सर्भेनापी हुँदा मेरा नाउँमा नापी भई फिल्डबुकमा जग्गाधनी र जोताहा म आफैं भएको छ र जग्गाधनी प्रमाणपूर्जामा समेत जोताहा निवेदक नै भएको उल्लेख छ । २०२२ सालमा पाएको कथित अस्थायी निस्साको सहारा लिई विपक्षी मध्येका राजमान नेवारले विपक्षी जि.भू.सु.का.सिन्धुलीमा मोही कायम गरिपाउँ भनी दिएको निवेदनमा उल्लिखित जग्गाको जोताहा मोही विपक्षी राजमान नेवारलाई ठहराउने गरी ०३९।११।२० मा भू.सु.का.बाट निर्णय भएको छ । ३. विपक्षी राजमान नेवारले निवेदीकाको जग्गा कहिले पनि मोहीको हैसियतले कमाएको होइन । निवेदीकाको हकभोग र स्वामित्व स्थापित हुनुभन्दा अघि कमाएको भए त्यो निवेदीकालाई जानकारी छैन । २०१९।१।१४ को रजिष्ट्रेशन पारित भएको लिखत बमोजिम मेरो हकभोग र स्वामित्व बैध कायम भएपछि त्यसको जग्गाधनी निवेदीकाको ससुरा शिवशंकर सर्वथा हुनसक्दैनन् । त्यस्तो अवस्थामा मेरो ससुरा जग्गाधनी बनाई आफू मोही भएको दावी गर्न २०२३ सालमा प्राप्त कथित अस्थायी निस्साले मद्दत गर्न सक्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को शर्तलाई पालना गरी कुनै पनि जोताहाले दफा २५(१) बमोजिम मोहियानी हक प्राप्त गर्न सक्दछ । विपक्षीले निवेदीकाको ससुराको जग्गा कमाएको छु भन्दै जिकिर लिई निस्कृय जोताहा अस्थायी निस्सा प्राप्त गर्दैमा सोही नाताले मात्र निजलाई बीसौं वर्ष देखि म आफैंं जोताहा भएको जग्गाको मोहियानी हक प्राप्त हुनसक्दैन । जि.भू.सु.का.सिन्धुलीको ०३९।११।२० को उक्त गैरकानुनी निर्णयले संविधानको धारा १०(१)(२), ११(२)ङ र १५ द्वारा प्रदत्त हक अपहरण भएकोले संविधानको धारा ७१ बमोजिम उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई अएपछि पेश गर्नुभन्ने समेत सिंगलबेञ्चको ०४०।४।८।१ को आदेश । ५. निवेदीकाले ०१९।१।१४ मा रघुनाथपुर मालबाट उक्त विवादित जग्गा पारित गराई लिएको हुनसक्ने तर सोही जग्गाको साविक जग्गाधनी निज निवेदीकाको ससुरा शिवशंकर उपाध्यायबाट नै लिएको भनी निवेदीकाको मिति ०३९।५।२७ को बयानबाट समेत एकातिर