निर्णय नं. १८११ - धर्म परिवर्तन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८११ - धर्म परिवर्तन भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/११/१२ ३५५८ निर्णय नं. १८११ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३८ सालको फौ.पु.नं. ३२४ फैसला भएको मिति : २०४०।११।१२।६ मा पुनरावेदक/वादी : प्रहरी भुपाल ढकालको प्रतिवेदनले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि.सुनसरी गा.पं.हासपासा वार्ड नं.२ बस्ने दलमाया राईसमेत मुद्दा : धर्म परिवर्तन (१) नेपाल बाहिर अर्थात विदेशमा धर्म परिवर्तन गरेको कुरा अदलको १ नं.भित्र पर्ने देखिन नआउने । (प्रकरण नं. २९) पुनरावेदक वादीतर्फबाट : विद्वान का.मु.अ.स.अ.धु्रवलाल राज विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला फैसला न्या.बासुदेव शर्मा १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको तर्फबाट निवेदन परी अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा पुनरावेदन जिकिर यसप्रकार रहेछ । २. केही दिन अगाडि देखि तुलबहादुरको घरमा तपसीलका मानिसहरू लगायत २०।२२ जना भेला जम्मा भई हिन्दू धर्मको विपरीत क्रिष्चियन धर्म मानी प्रचारको गरिएको भन्ने बुझिएकाले आवश्यक कारवाईलाई प्रतिवेदन गरेको छु भन्ने समेत २०३५।६।३ को प्रहरी नारायण भगत समेतको प्रतिवेदन । ३. मेरो घरमा २।४ जना मानिसहरू आउँछन् मैले हिन्दू धर्मलाई छाडी क्रिश्चियन धर्म मानेको ६ वर्ष भयो भन्ने समेत प्र.तुलबहादुरले प्रहरीमा गरेको कागज । ४. मेरो लोग्नेले क्रिश्चियन धर्म मानेको र लोग्नेको भनाईमा लागि मैले पनि मानेकी छु । तुलबहादुरको घरमा बेला मौकामा बाहिरका मानिसहरू पनि आउँछन् । निजकै घरमा धर्मसम्बन्धी प्रवचन हुन्छ भन्ने समेत दलमायाले प्रहरीमा गरेको कागज । ५. मेरो लोग्नेले क्रिश्चियन धर्म मान्ने उद्योग गरेको हो, मैले मानेको र उद्योग गरेको समेत छैन भन्ने समेत देवी गिरीले प्रहरीमा गरेको कागज । ६. तुलबहादुर समेतका १७।१८ जनाले हिन्दू धर्मको विपरीत गरी क्रिश्चियन धर्म मानी प्रचार गरेको हो भन्ने समेत सरजमीन मुचुल्का । ७. प्रतिवादीहरूले हिन्दू धर्मको विपरीत क्रिश्चियन धर्म मानी प्रचार गरेको र धर्म परिवर्तन गरेको अभियोगमा मुलुकी ऐन अदलको नं.१ बमोजिम सजाय हुने र सिताराम दर्जिले इन्कारी बयान गरेकोले निज उपर मुद्दा नचलाउने भन्ने समेत आरोप पत्र । ८. केही पल्टन मलायामा रहँदा देखि नै हिन्दू धर्म छाडी क्रिश्चियन धर्म मानी आएको हाल यहाँ नेपालमा बसोबास गरेको ५।६ वर्ष भयो सो मानी आएको छु । अरू कसैलाई प्रचार गरेको छैन । अरू कहिलेकाहीँ सुन्न आउँछन् मैले बोलाएर ल्याएको होइन । दाखिल भएका किताप इण्डियामा किन्न पाइन्छ भन्ने समेत तुलबहादुरले अदालतमा गरेको बयान । ९. मैले हिन्दू धर्म छाडी १½ वर्ष अगाडि देखि क्रिश्चियन धर्म मानी आएको छु मैले यो धर्म मान्नुपरेको कारण केटाकेटीहरू बारम्बार बिरामी भई रहने गर्थे क्रिश्चिन धर्मको कितावमा सुख शान्ति पाइने लेखेको देखियो धर्म मान्न थालेपछि हाल सबै केटाकेटीहरूलाई आराम भएकोले मानी आएको छु । यो मान्नुपर्छ भनी कसैले भनेको होइन मेरो श्रीमान मकरबहादुर हाल जो मलायामा हुनुहुन्छ वहाँले मानेको देखी मैल पनि मानी आएको छु । यो धर्म मान्न कसैलाई सल्लाह दिएका र प्रचार गरेको छैन भन्ने समेत दलमाया राईले अदालतमा गरेको बयान । १०. मैले हिन्दू धर्म छाडी क्रिश्चियन धर्म मानी आएको र सो धर्म प्रचार