निर्णय नं. १८२८ - नाता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८२८ - नाता कायम भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११ फैसला मिति :२०४०/०८/२६ २४९४ निर्णय नं. १८२८ ने.का.प. २०४० अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको फौ.पु.नं. ३८१ फैसला भएको मिति : २०४०।८।२६।२ मा पुनरावेदक/प्रतिवादी : रौतहट जिल्ला धर्मपुर गा.पं.वडा नं.८ घर भई हाल सर्लाही जिल्ला गडहीया गा.पं.वडा नं.३ बस्ने तपेश्वरी यादवनीसमेत विरूद्ध विपक्षीवादी : रौतहट जिल्ला धर्मपुर गा.पं.वडा नं.८ बस्ने महेन्द्रराय यादव समेत मुद्दा : नाता कायम (१) अदालतले वादीको देवानी दावी, फौजदारी हो भनी दावी नै परिवर्तन गर्ने कानुनमा कुनै प्रावधान नदेखिने । (प्रकरण नं. १८) (२) फिरादी आफैंले कानुनको रीत पुर्‍याई देवानीमा दायर गरेको मुद्दालाई अदालत स्वयम् आफैंले फौजदारीमा परिणत गर्न मिल्दैन । (प्रकरण नं. १९) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षीवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास फैसला न्या.त्रिलोकप्रताप राणा १. पुनरावेदनको अनुमति पाउँ भन्ने नाता कायम मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको ०३६।५।२८।५ को निर्णय दोहोर्‍याई पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्‍याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएकोमा ०३८।१०।२।६ का फुलेबञ्चका आदेशानुसार अनुमति प्राप्त भई प्रस्तुत मुद्दामा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : बुटेनको ३ छोरामा जेठो हितलाल, माहिला पनिलाल र कान्छा रामशरण हितलालको छोरा कारे, पनिलालको छोरा हामीहरू हौं । कारेकी श्रीमती तपेश्वरी हाम्री भाउजू हुन् । आफ्नो अंश लिई भिन्न बसेको विधवा भाउजू तपेश्वरी गत २०३० साल मार्ग १ गते देखि गुल्टेन रायसँग लाग्ने स्वास्नीको सम्बन्ध जोडी गुल्टेन रायकै घरमा बसेकी र लोग्ने कारे रायतर्फको पाएको अंश सम्पत्ति पनि परिणाममा गुल्टेन रायकै नाउँमा कायम गराउने फरेवपूर्ण विचारबाट २०३०।८।७ मा निज भाउजूकै नाउँमा दर्ता रहेको धर्मपुरको ४–१५–९ जग्गा गुल्टेनको सहयोगी साथी महादेवका नाउँमा लिखत गरी दिई २०३१।१।१६ मा महादेवबाट गुल्टेनको नाउँमा लिखत गराएको छ । लोग्ने कारे रायको अंश सम्पत्ति निजको हक कायम रहन दिन नहुने भई हकवालाको हक कायम गराउनको लागि निज तपेश्वरी गुल्टेनको लोग्ने स्वास्नीको सम्बन्ध कायम गराई पाउँ भन्ने समेत वादी । ३. मैले तपेश्वरीलाई स्वास्नी राखेको छैन । निज आफ्नै घरमा बसेकी छिन । प्रतिवादी तपेश्वरीसँग मेरो अघिदेखि पटक–पटक मुद्दा मामिला पनि चली आएकोले निजलाई मैले स्वास्नी बनाएको ठहर्न नसक्ने हुँदा तपेश्वरीको र मेरो बीचमा लोग्ने स्वास्नीको नाता कायम हुन नपर्ने भन्ने समेत व्यहोराको गुल्टेन राय यादवको प्रतिवादी । ४. हकवालाको हैसियतबाट कसैले कुनै कुराको नालेश गर्ने हो भने नजिकको हकवाला रामशरण हुँदाहुँदै अरूले नालेश गर्न पाउने होइन । वादीको नालेश अ.बं.८२ नं.को विपरीत छ । मलाई खान लाउन प्रसस्त पुगेकै र ४६ वर्ष उमेर पुगेको भन्ने वादीकै लेखबाट देखिन्छ भने गुल्टेनरायसँग पोइल जानुपर्ने आवश्कता नै छैन मेरो लोग्ने र ससुरा प्रतिष्ठित मानिसहरू भएबाट आफू बसेकैं टोलमा आफू भन्दा कम खानदानमा पोइल जानुपर्ने अवस्थै नहुँदा गुल्टेन रायसँग लोग्ने स्वास्नीको सम्बन्ध गरी बसेको छैन । वादीहरूको फिराद दावी झुठ्ठा