निर्णय नं. १८३४-१ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८३४-१ - ज्यान भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०८/२३ २१२५ (मूल किताबमा नि.नं १८३४ दुईवटा भएकाले सोही अनुसार नै राखिएको–संयोजक) निर्णय नं. १८३४ ने.का.प. २०४० अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको फौ.फु.नं. ५ सम्वत् २०४० सालको फौ.पु.नं. १३ फैसला भएको मिति : २०४०।८।२३।६ मा पुनरावेदक : सदर खोर शाखा डिल्लीबजारमा थुनामा रहेकी शुशिला अर्यालसमेत विरूद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : ज्यान (१) कर्तव्य गरी मारेको होइन भन्ने कुनै किसिमको सबूत प्रमाण पेश हुनआएको नदेखिँदा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गरेको मनासिव ठहर्ने । (प्रकरण नं. २६) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ताहरु श्री गोविन्दकुमार उपाध्याय र श्री विष्णुबहादुर राउत विपक्षी वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. प्र.शुशिला अर्यालको हकमा डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूका बीचमा मतैक्य हुन नसकी र प्र.शिवबहादुर मल्लठकुरीको हकमा सार्वजनिक महत्त्वको जटिल कानुनी प्रश्न समाविष्ट भनी सर्वोच्च अदालत नियमावलीको नियम ३३(घ) बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ : २. ०३५।१।२१ गते बिहान ५ बजे चौकीबाट वडा घुम्दै अरनीको राजमार्ग भक्तपुर जाने र ठिमी जाने पुरानो बाटो गइरहेको अवस्था ध्रुवप्रसाद पराजुलीको खेतको खोल्सा सडक पूर्व फुटपाथ मुनी नाम, थर, वतन थाहा नभएको अं.वर्ष २५ को मर्दानाको घाँटीमा नाइलनको डोरीले बाँधी मृत्यु भएको देखी जाहेर गरेको छ भन्ने प्र.मदनबहादुर थापा समेतको ०३५।१।२१।५ को प्रतिवेदन। ३. उत्तर टाउको दक्षिण गोडा भई बाँया गोडा माथि दायाँ गोडा तल भई पश्चिम फर्किएको बायाँ हात माथि दायाँ हात तल भएको बायाँ हात उत्तानो परेको घाँटीमा बाँधी राखेको डोरी फुकाउन नसकी घाँटी हेर्दा घाँटी वरीपरी नै डोरीको अं.३ इन्ची चौंडाईको निलडाम भएको भन्ने समेत व्यहोराको मिति ०३५।१।२१ को लासप्रकृति मुचुल्का । ४. लास हेरेँ देखेँ चिनेँ सो लास मेरो विवाहित लोग्ने पूर्णप्रसाद अर्यालको हो भन्ने शुशिला अर्यालको सनाखत बयान । ५. २ वर्ष अघि विरामी भई उपचार गर्न अस्पताल भर्ना भएका गोपाल ठकुरीसँग प्रेम भएको १ वर्ष जति भयो र म अस्पतालकै वार्ड कूल्ली भएकोले हामी बीच भेटघाट हुँदै जाँदा निज गोपालले मलाई लान्छु भने मेरो लोग्नेले देखे झगडा हुन्छ भनी भन्दा म विष ल्याई दिन्छु तिमीले खुवाउनु भने । मैले विष इन्कार गरी मार्न सके मार भनी बचन दिएँ निज गोपालले आफ्ना फुपुको छोरा शिवबहादुरलाई मेरो लोग्ने मारेमा रु.२००। दिन्छु भनी मेरो लोग्नेलाई मार्न रु.१०। र २ सिसी रक्सी दिई पठाए । शिवबहादुर र मेरो लोग्ने भक्तपुरमा सिनेमा हेरी फर्किदा शिवबहादुरले मेरो लोग्नेलाई बैशाख २१ गते मारेको हो भन्ने शुशिला अर्यालको प्रहरीमा बयान । ६. शुशिलासँग चिनजान बोलचाल भई निजसँग ०३४ आश्विन महीनामा पुतली सडकको डेरामा करणी लेनदेन सम्म भएको थियो । म तिमीसँग पोइल आए लोग्नेले जहाँ भेटे पनि ल्याइहाल्छ त्यसैले मेरो लोग्नेलाई खतम पारे मात्र म तिमीसँग आउँछु भनी निज शुशिलाले भनेकीले मेरो फुपुको छोरा शिवबहादुरसँग पूर्णप्रसादको चिनजान गराई भक्तपुरमा सिनेमा हेर्न रु.१०। र २