निर्णय नं. १८४६ - उत्प्रेषण लगायत उपयुक्त पूर्जि वा आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८४६ - उत्प्रेषण लगायत उपयुक्त पूर्जि वा आज्ञा, आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१०/०१ २४१५ निर्णय नं. १८४६ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. १८५८ आदेश भएको मिति : २०४०।१०।१।१ मा निवेदक : का.न.पं.वडा नं.१८ इखापोखरी बस्ने नानीमैया मास्के विरूद्ध विपक्षी : ऐ.बस्ने छवाङ ढोमा नेपाली, काठमाडौं नगरपञ्चायतसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त पूर्जि वा आज्ञा, आदेश जारी गरिपाउँ (१) मिलापत्र बमोजिम कायम गर्ने भनी नगरपञ्चायतले निर्णय गरेको हुनाले हक बेहकको निर्णय गरेको भन्ने देखिन नआउने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरि अर्याल विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. का.जि.इखापोखरी बस्ने विपक्षी छवाङ ढोमा नेपालीले का.न.पं.वडा नं.१८ कि.नं.५३४, ५३५ को जग्गा रोपनी ०–९–३–३ मध्येको पूर्व इखापोखरी पश्चिम चौ.२०० को मूल सडक र उत्तर कुनामा ल. २२ चौ.४”०”उ”८”०” को नानीमैया मास्के र मेरो घरमा जाने बाटो र सो बाटो माथि आफ्नै घर उत्तर ऐ.बस्ने नानीमैया मास्केको घर र ऐ.बस्ने कान्छा कुस्लेको घर दक्षिण बीचमा ३२”०” आफ्नै जग्गा परखाल २ सो देखि दक्षिण ऐ.बस्ने न्हुछे मालीको घर जग्गा यति ४ किल्ला भित्रको पश्चिम साईट प्लानमा देखाएको ठाउँमा ५ तल्ला कोठा ५० को घर बनाउन पाउँ भनी ज.ध.प्र.पूर्जा रसिदको नक्कल सहितको विपक्षीले का.न.पं.मा नक्सा दर्खास्त दिनुभएकोमा मैले मिलापत्रको अनुपातमा लम्वाई फु.२९”६” र चौ.फु. ६”२” भन्ने किटानी उल्लेख भइरहेको हुँदा सो बमोजिम बाटो कायम हुनुपर्ने सो बाटो माथि घर बनाउने भन्ने कुरा मिलापत्रमा नै नहुनाले र त्यसो गर्न कानुनले बाध्य गर्न नसक्ने हुनाले सो भन्दा घटी बाटो राखी सो माथि घर बनाउन ०३७।४।१५ को का.जि.अ.को मिलापत्र बमोजिम नहुने भनी मेरो उजूरी निवेदन परेकोमा का.न.पं.ले ०३९।१२।२१ गते निर्णय गर्दा प्रस्तुत बाटो साझा वा सार्वजनिक नभएबाट केवल सहुलियतको भरबाट हक मानी वादीको नक्सा पास हुनुपर्ने छैन भन्ने निवेदन निराधार छ भन्ने उल्लेख गरिएको छ । बाटोको लम्वाई चौडाई सम्बन्धमा मिलापत्र बमोजिम गर्न स्वतः कायम हुने कुरा वादीले समेत स्वीकारेको छ तसर्थ नक्सा पास हुने ठहर्छ भनी उक्त निर्णय गरिएको छ। ३. उल्लिखित नक्सा दर्खास्त बमोजिम उत्तर पश्चिम कुनामा लम्वाई फुट २२ चौडाई फुट ४ र उचाई फुट ८ को नानीमैया मास्केको घरमा जाने बाटो र सो बाटो माथि आफ्नै घर समेतको उल्लिखित किल्ला भित्रको नक्सा बमोजिम घर बनाउन निवेदन दिएको ०३७।४।१५ को मिलापत्रमा उल्लिखित लम्वाई फुट २९, ६ चौडाई फुट ६.२ भन्ने किटानी उल्लेख भएकोमा सो बमोजिम बाटो कायम गर्नुपर्नेमा सो माथि घर बनाउने भन्ने कुरा उक्त मिलापत्रमा नभएको कुरा हुनजान्छ । उक्त मिलापत्रको शब्द र मर्मको गलत अर्थ गरी विपक्षीको हक हर्‍याई निर्णय भएको छ । पक्ष विपक्षीमा यसरी मुख नमिलेको कुरामा र लिखितको अर्थ समेत गर्नुपर्ने विषयमा निर्णय गर्ने अधिकार का.न.पं.लाई कुनै कानुनले दिँदैन अतः सो निर्णय अ.बं.३५ विपरीत भएकोले बदरभागी छ ।