निर्णय नं. ८६११ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६११ - उत्प्रेषण भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६६/०५/०२ ३७८२ ने.का.प. २०६८, अङ्क ५, निर्णय नं. ८६११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६० सालको रिट नं. ...२७४५ आदेश मितिः २०६६।५।२।३ विषयः उत्प्रेषण निवेदकः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित रत्न फिड इण्डष्ट्रिज (प्रा) लि. को तर्फबाट अधिकारप्राप्त प्रवन्ध निर्देशक हिम्मत श्रेष्ठ विरुद्ध विपक्षीः श्रम अदालत, अनामनगर समेत § विभागीय कारवाहीको सिलसिलामा जसले अन्तिम निर्णय गर्ने अधिकार पाएको हुन्छ त्यसले कारवाही र सजाय समेतको अधिकार प्रयोग गर्नुपर्ने हुन्छ नत्र विभागीय कारवाहीको शुरुवात एउटाले गर्ने निर्णय अर्थात् अन्त्य अर्कोले गर्दा कारवाही शुरु गर्नेलाई वा सजाय गर्नेलाई व्यवस्थापक मान्ने भन्ने द्विविधा समेत पर्न जान्छ । व्यवस्थापकको रुपमा प्रयोग गर्ने आफूमा रहेको अधिकार खण्डित गर्दै केही आफू मातहत अधिकारीलाई प्रत्यायोजन गर्ने र केही अधिकार प्रत्यायोजन नगर्न सिद्धान्ततः नमिल्ने । § श्रम ऐन, २०४८ को दफा ५३ बमोजिम व्यवस्थापकले गर्ने कुनै पनि कर्मचारीलाई आचरण उल्लंघन गरेबापत गरिने कारवाहीको सिलसिलामा पूरा गरिने कार्यविधिलाई टुक्राई भिन्दा भिन्दै व्यक्तिबाट प्रयोग गर्न सक्ने भन्ने कानूनको मनसाय भए रहेको नदेखिने । (प्रकरण नं.५) § कानूनले जुन व्यक्तिलाई अन्तिम निर्णय अर्थात् सजाय गर्ने अधिकार प्रदान गरेको हुन्छ, उसैमा मात्र सजायको प्रस्थान विन्दुको रुपमा रहेको स्पष्टीकरण माग्ने अधिकार पनि निहीत हुन्छ । सजाय गर्ने अख्तियारप्राप्त व्यक्तिले आफूमा रहेको स्पष्टीकरण माग्ने अधिकार मात्र प्रत्यायोजन गरी कारवाही गर्ने अधिकार आफैंमा राखी गरेको प्रत्यायोजनलाई कानूनबमोजिम अधिकार प्रत्यायोजन भएको भन्न नमिल्ने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री नारायणवल्लभ काफ्ले विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री रमेश बडाल अवलम्बित नजीरः सम्बद्ध कानूनः § श्रम ऐन, २०४८ को दफा ५०(घ) ५३ र ५३(१) आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत निवेदनको टिपोट एवं आदेश यस प्रकार छः– विपक्षी हरिशरण मैनाली कारखानाका पूर्व कामदार भएको र काम गर्ने स्थल दाना कारखानाको गोदाम थियो । २०५८।११।२७ मा कारखानामा रहेको ५ के.जी. आइसक्रिम लगी खान सक्ने जति खाई वढी भएको जोशी पोल्ट्रीको कम्पाउण्डमा फालेको कुरा काठमाडौं इन्टरनेशनल ट्रेडर्समा कार्यरत अरुण सिंह र जयराम पौडेलले देखेका र सोध्दा स्वीकार गरी २०५८।११।२७ मा ७ दिने म्याद दिई स्पष्टीकरण माग गरिएकोमा जुठो आइसक्रिमको वट्टा फ्याकेको तथ्य स्वीकार गरी स्पष्टीकरण दिएका थिए । कारखाना प्रबन्धकले स्पष्टीकरण लिई केन्द्रको प्रवन्ध निर्देशकसमक्ष पठाएकोमा सन्तोषप्रद नभई २०५९।१।८ को निर्णयले श्रम ऐन, २०४८ को दफा ५१(ग) को कसूरमा दफा ५२ (४) तथा दफा ५०(घ) बमोजिम बर्खास्त गरेउपर निजको श्रम अदालतमा पुनरावेदन परेको थियो । विपक्षी श्रम अदालतबाट २०६०।२।१३ मा २०५९।१।८ को निर्णय बदर गरेको छ । श्रम अदालतबाट भएको निर्णय बदरभागी छ । श्रम ऐन, २०४८ को दफा ५१(ग) बमोजिम कर्मचारीले प्रतिष्ठानको सम्पत्ति चोरी गरेको अवस्थामा खराव आचरण मानी उक्त कसूरमा दफा ५२(४) ले खराव आचारण गर्नेलाई सेवाबाट हटाउने व्यवस्था गरेको छ । २०५