निर्णय नं. ७४७७ - कर्तव्यज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४७७ - कर्तव्यज्यान । भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक: १ फैसला मिति :२०६१/०६/१४ ३१२६ निर्णय नं. ७४७७ ने.का.प.२०६२ अङ्क १ सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री अनूपराज शर्मा सम्वत २०६१ सालको फौ.पू.इ.नं. १८ फैसला मितिः २०६१।६।१४।५ मुद्दाः कर्तव्यज्यान । पुनरावेदक/ प्रतिवादीः जिल्ला संखुवासभा शिद्धकाली गा.वि.स. घर भै हाल कारागार शाखा खाँदवारीमा कैदमा रहेको मणिकुमार राई विरुद्ध प्रत्यर्थी/वादीः कृष्णवहादुर राईको जाहेरीले श्री ५ को सरकार § पुनरावेदकीय मार्ग व्यक्तिको कानूनी अधिकार भएकोले साधकको रोहबाट हेरी निर्णय गरिसकेको भन्ने अर्थमा पुनरावेदनको मार्गलाई निःस्प्रभावी वनाउन नमिल्ने । § यस अदालतमा रीतपूर्वक परिरहेको प्रतिवादीको पुनरावेदनको रोहबाट न्याय निरोपण गर्नुपर्ने अवस्था देखिन आएबाट साधकको रोहबाट हेरी पुनरावेदन अदालतको फैसला सदर गर्ने गरेको संयुक्त इजलासको फैसला स्वतः वदर हुने । (प्रकरण नं.२४) § मृतकले प्रहार गर्न लागेको भनेको चुप्पी कहां गयो, के भयो सो कुरा समेत देखाउन सकेको अवस्था नहुंदा अदालतमा भएको एकतर्फी वयानकै भरमा वयान व्यहोरा सत्य सावित रहेछ भनी अनुमान गर्न नमिल्ने । § संकलित सवूद प्रमाण र प्रतिवादीको साविती वयान समेतबाट मृतक र प्रतिवादीका बीच पूर्व चिनाजान, रिषइवी अवादत रहेको देखिन नआउदा योजनावद्ध (Pre Plan) रुपमा मृतकलाई कर्तव्य गरी मार्नमा लागेको भन्ने समेत देखिन नआउने । (प्रकरण नं.२५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वैतनिक अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः ने.का.प.२०५७, निर्णय नं. ६९४३, पृष्ठ ७०४ फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत धनकुटाको मिति २०५८।५।२५ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ख) अन्तर्गत परेको प्रस्तुत पुनरावेदनमा पूर्ण इजलासमा पेश गर्नु भन्ने प्रधानन्यायाधीशको मिति २०६१।२।२५ का आदेशानुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :- २. संखुवासभा जिल्ला शिद्धकाली गा.वि.स. वडानं. ७ वस्ने सुर्जकुमार राईको छोरा मेरो भतिजो सोमवहादुर भन्ने लगनवहादुर राई मिति २०५६।८।३ गतेका दिन चैनपुरमा लाग्ने शुक्रवारे हाट भरी वेलुका घर फर्किदा रात परेको हुंदा शिद्धकाली गा.वि.स. वडा नं. ४ मा पर्ने पोखरी वजारमा वास वसेपछि मैदाने वतासे जाने वाटोको नजिक दलवहादुर तामाङको घरपसल अगाडि २०५६।८।३ गते वेलुका अन्दाजी ८ वजेको समयमा मणिकुमार राई र तुलसीवहादुर राइले मेरो भतिजो सोमवहादुर भन्ने लगनवहादुर राईलाई गालमुखाल गरी निहुँ खोजी निज मणिकुमार राईले मृतक लगनवहादुर राईलाई चुप्पी रोपी कर्तव्य गरी मारी भागेको हुंदा निजहरु लगायत अरु अभियुक्त समेत संलग्नमा भए पत्तालगाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको कृष्णवहादुर राईको जाहेरी दर्खास्त । ३. धारिलो हतियारको प्रहारवाट सोमवहादुर भन्ने मृतक लगनवहादुर राईको मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट । ४. चैनपुरवाट नुमढाकी जाने मुलवाटो दक्षीण, नरध्वज खत्रीको घर पूर्व, मनवहादुर लिम्वुको घर पश्चिम, गौरीमान लिम्वुको घर उत्तर यति ४ किल्लाको बीचमा मृतकले खैरो पाटे टि सर्ट जिन्सको कालो पेन्ट रातो छालाको जुत्ता लगाएका, मृतकको मोहडा पूर्व फर्किएको, शरीरको सवै भागमा रगत लागेको भन्ने समेत व्यहोराको घटनास्थल लाश जाँच मुचुल्का