निर्णय नं. ७५८२ - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५८२ - उत्प्रेषण समेत । भाग: ४७ साल: २०६२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६२/०६/०४ ३०५८ निर्णय नं.७५८२ ने.का.प.२०६२ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत २०५८ सालको रिट नं. ३१११ आदेश मितिः २०६२।६।४।३ विषयः – उत्प्रेषण समेत । निवेदकः ताप्लेजुङ्ग जिल्ला हाङ्गदेवा गा.वि.स. वडा नं ४ वस्ने टिकादत्त भट्टराई विरुद्ध विपक्षीः प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्ग समेत § सरकारी मुद्दासम्वन्धी ऐन, २०४९ अनुसूची १ को १७ नं मा नेपाल नागरिकता ऐन, २०२० अन्तर्गत सजाय हुने मुद्दा भनी उल्लेख गरेवाट निवेदकले झुठ्ठा विवरण पेश गरी नागरिकता लिएकोमा कारवाही गरिपाऊँ भनी दिएको अपराधको सूचना श्री ५ को सरकार वादी भै चल्ने । § नेपाल नागरिकता ऐन, २०२० को दफा १५ मा झुठ्ठो विवरण वा वयान दिई नेपालको अंगिकृत नागरिकता वा जन्म वा वशजको नाताले नागरिकता प्राप्त गर्न गराउने व्यक्ति उपर दण्डसजायको व्यवस्था भै राखेको समेत पाइन्छ । निवेदकले कानून वमोजिम झुठ्ठा विवरण पेश गरी नागरिकता लिएको भनी वादी श्री ५ को सरकार भै चल्ने सरकारी मुद्दा सम्वन्धि ऐन, २०४९ को अनुसूची १ मा उल्लेखीत अपराध भएको भनी निवेदन दर्ता गराएको अवस्थामा सो सम्वन्धमा आवश्यक छानविन गर्नुपर्ने । § अपराधको सूचना दिए अनुसार भएको हो होइन सो सम्वन्धमा विस्तृत छानविन गरे पश्चात मुद्दा चलाउनु पर्ने कारण र अवस्था देखिन नआएमा सो सम्वन्धमा कानून वमोजिम मुद्दा नचल्ने निर्णय गर्न सक्ने अधिकार रहेकोमा कानूनवमोजिम परेको उजुरीमा कारवाही नहोस भनी निवेदकले कागज गरी दिएकै आधारमा सो अपराधको सूचनासम्वन्धी निवेदनको कारवाही टुगिंने र सो गर्न पाउने गरी सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ मा कहिकतै व्यवस्था भएको नपाइने । § कानूनमा व्यवस्था नै नभएको कुरामा जिल्ला प्रशासन कार्यालयले निवेदकले कानून वमोजिम दर्ता गराएको निवेदन उपर कुनै कारवाही नहोस भनी गराएको कागज कानून अनुकूल भएको भन्ने नदेखिंदा सो कागज उत्प्रेषणको आदेशद्धारा वदर हुने । § झुठ्ठा विवरण पेश गरी नागरिकता लिएकाले कारवाही गरिपाऊँ भनी यी निवेदक टिकादत्त भट्टराईले दिएको उजुरी उपर छानविन गरी कानून वमोजिम कारवाई गर्नु गराउनु भनी विपक्षी जिल्ला प्रशासन कार्यालयको नाउंमा परमादेशको आदेश जारी हुने । (प्रकरण नंं.११) निवेदक तर्फवाटः विद्वान अधिवक्ता हरिहर दाहाल विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता व्रजेश प्याकुरेल, विद्वान अधिवक्ता श्री रमेश निरौला अवलम्वित नजीरः आदेश न्या.रामनगिना सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ : – २. स्वर्गिय पिता अंगिरथ भट्टराईका ३ वटी श्रीमती मध्ये कान्छी श्रीमती तथा हाम्री आमा स्व लक्षिमा भट्टराईवाट हामी दुई दाजु भाई म जेठो टिकादत्त भट्टराई र कान्छो यमकान्त भन्ने पदमप्रसाद भट्टराईको जायजन्म भएको थियो । म निवेदकको भाई भारतको आसाम राज्यमा गएको अवस्थामा वि.स. २०१९ सालमा मानसिक सन्तुलन विग्रन गई पागल भएपछि आफ्नै घरमा ल्याई उपचार गर्दै रहेको अवस्थामा २०२० सालमा राती सवै सुतेको मौका पारी घरमुनी रहेको मतानमा आगो लगाई वेहोस भई लडिरहेको अवस्थामा फेला पारी विठ्यु पुरै जलेको थियो । सो को चिन्हहरु रहेको प्रष्ट देखिन्थ्यो । २०२१ सालमा निज घरवाट हिडी वेपत्ता भएको र खोजतलास गर्दा कहि कतै फे