निर्णय नं. ४०३९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०३९ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/११/२४ २१२४ निर्णय नं. ४०३९ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.नं. १३३६ आदेश भएको मिति: २०४६।११।२४।४ मा रिट निवेदक: वीरगन्ज न.पं. स्थित मेघा उलन्स प्रा.लि.को तर्फबाट अधिकार प्राप्त विनोदकुमार चौधरी विरुद्ध विपक्षी : श्री ५ को सरकार अन्तःशुल्क कार्यालय, वीरगन्ज विषय : उत्प्रेषण (१) निवेदकको उद्योगले उत्पादन गर्ने कृत्रिम उन पनि फाइवर अवस्थाको कच्चा पदार्थ प्रशोधन गरी टप्स बनेपछि सोबाट एक्रेलिक यार्न (कृत्रिम उन) बनाउने भन्ने देखिएकोले निवेदकको उद्योगलाई अन्तःशुल्क नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. निवेदक कम्पनीले श्री ५ को सरकार उद्योग विभागबाट २०४४।११।१८ मा फाइवर अवस्थाको कच्चा पदार्थबाट नै एक्रेलिक यार्न उत्पादन गर्नुपर्ने शर्तमा उद्योगको इजाजतपत्र प्राप्त गरी २०४५।१।१५ मा कम्पनी ऐन, २०२१ बमोजिम प्रा.लि. अन्तर्गत दर्ता भएको थियो । तत्पश्चात निवेदक कम्पनीले उद्योग सञ्चालन गरी २०४५।९।२२ देखि नै उल्लेखित इजाजतपत्रमा तोकिएका शर्तहरुको अधीनमा रही एक्रेलिक यार्न उत्पादन गर्दै आएको छ । निवेदक कम्पनीले उत्पादन गर्ने एक्रेलिक यार्नमा अन्तःशुल्क लाग्ने कुरा कुनै ऐनमा उल्लेख नभएको स्पष्ट हुँदा हुँदै प्रत्यर्थीले मिति २०४५।१२।११ को च.नं. १६१२ को पत्रबाट निवेदक कम्पनीले उत्पादन गरेको एक्रेलिक यार्नमा अन्तःशुल्क दरबन्दी संकेत नं. १६–२ अनुसार अन्तःशुल्क असूल गर्ने भन्ने एकतर्फी निर्णय भएको जानकारी दिंदै धरौटीमा रहेको रुपैयाँ रु. १,४२,४८४।३० समेत सदर स्याहा गरेको जानकारी दिएको छ । ३. प्रत्यर्थीले कुन ऐन वा नियम बमोजिम अन्तःशुल्क लगाएको हो सो सम्म पनि नखुलाई अन्तःशुल्क दरबन्दी संकेत नं. १६–२ अनुसार भनी अन्तःशुल्क लगाई धरौटी रकम समेत सदर स्याहा गरिदिएको छ । आर्थिक ऐन, २०४० को अन्तःशुल्क दरबन्दी संकेत नं. १६–२ मा आर्टिफिसियल टप्सबाट उत्पादन हुने धागोमा मात्र अन्तःशुल्क लाग्ने स्पष्ट व्यवस्था छ । जबकी निवेदकले फाइवर अवस्थाको कच्चा पदार्थको प्रयोग गरी एक्रेलिक यार्न उत्पादन गर्ने गरेको छ । टप्स र फाइवर भिन्ना भिन्नै अवस्थाको पदार्थ भएको तथ्यलाई वास्तै गरिएको छैन । फाइवर पूर्णतः कच्चा पदार्थ हो भने टप्स फाइवरलाई प्रशोधन गरेपछि तयार हुने पदार्थ हो । फाइवरबाट यार्न उत्पादन गर्दा र टप्सबाट उत्पादन गर्दा उद्योगले पूरा गर्नुपर्ने प्रशोधन प्रकृयालाई र सो मा लाग्ने अतिरिक्त लागतलाई मध्यनजर गरेर नै आर्थिक ऐन, २०४५ को अन्तःशुल्क दरबन्दी संकेत नं. १६–२ मा आर्टिफिसियल टप्सबाट यार्न उत्पादन गर्ने उद्योगले मात्र अन्तःशुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो । उल्लेखित अन्तःशुल्क दरबन्दी निवेदक कम्पनी माथि लागू हुने होइन । त्यसैले गर्दा नै निवेदक उद्योगलाई इजाजत प्रदान गरिंदा फाइवर अवस्थाको कच्चा पदार्थबाट नै एक्रेलिक यार्न उत्पादन गर्नु पर्नेछ भन्ने विशेष शर्त तोकिएको छ । विपक्षीको उक्त गैरकानुनी काम कारवाहीबाट नेपालको