निर्णय नं. ७५८५ - उत्प्रेषण परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५८५ - उत्प्रेषण परमादेश । भाग: ४७ साल: २०६२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६२/०८/१३ ४१५६ निर्णय नं.७५८५ ने.का.प.२०६२ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत् २०६० सालको रिट नं. ३३५५ आदेश मितिः २०६२।८।१३।२ विषयः– उत्प्रेषण परमादेश । निवेदकः झापा जिल्ला जलथल गा.वि.स.वार्ड नं. ४ घर भै हाल का.जि.का.म.न.पा.वडा नं. १० वस्ने पुण्यवती पाठक समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार परराष्ट्र मन्त्रालय शितलनिवास काठमार्डौ समेत § राहदानी ऐन तथा नियमावली एवं संविधानको धारा ११ र १२ ले महिलाहरूको हकमा मात्र अभिभावकको सहमति नभई राहदानी प्राप्त गर्न नसक्ने सर्त तोक्ने अधिकार श्री ५ को सरकारलाई प्रदान गरेको नदेखिंदा मन्त्रिपरिषद्को मिति २०५२।९।१० को निर्णयले तोकेको उक्त शर्त संवैधानिक र कानूनी व्यवस्थातर्फ ध्यान नदिई मन्त्रिपरिषद्ले प्रयोग गर्न पाउने कार्यकारिणी अधिकारभन्दा बाहिर गएर गरिएको निर्णय मान्नुपर्ने । (प्रकरण नं.२३) § महिलावर्गलाई पुरुषलाई भन्दा वढी Hardship हुने गरी गरिएको कुनैपनि कार्यकारिणी निर्णय जसको जतिसुकै bonafide intention भए पनि त्यस्तो निर्णयलाई कानूनी राजको मान्य सिद्धान्त विपरीत discriminatory, excess of power र arbitrary निर्णय मान्नुपर्ने । (प्रकरण नं. २३) § महिलाहरूलाई राहदानी जारी नगर्ने हो भने महिलाहरूलाई ICCPR ले दिएका स्वतन्त्रताहरू उपभोगमा अनुचित वन्देज लाग्न जान्छ । कानूनले दिएको अधिकार वेगर महिलावर्गलाई मात्र ती स्वतन्त्रताहरू उपभोग गर्नवाट वञ्चित हुने गरी कार्यकारिणीले निर्णय गर्न नसक्ने । (प्रकरण नं. २७) निवेदक तर्फवाटः विद्वान् अधिवक्ताहरू श्री प्रकाशमणी शर्मा, श्री राजुप्रसाद चापागाई, श्री रमा पन्त खरेल एवं श्री कविता पाण्डे विपक्षी तर्फवाटः विद्वान् सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा र निर्णय यसप्रकार छ :– २. हामी निवेदकहरू नेपाली नागरिक हौ । हामीले विधिवत रुपमा नेपाल अधिराज्यको नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छौ । पतिको असामयिक निधन पछि हामी एकल महिलाको रुपमा जीवन विताई रहेका छौ । असमयमानै पनि वियोगको पिडा भोग्न वाध्य भए पनि हामीहरू साहस र हिम्मतका साथ सार्थक जीवन जीउन चाहन्छौ । विदेश समेत गई शिक्षा रोजगारी तथा तालिम जस्ता व्यक्तित्व विकासका अवसरहरू उपभोग गर्ने उत्कट अभिलाषा हामीहरूमा छ । ३. देश वाहिर उपलव्ध हुने व्यक्तित्व विकासका अवसरहरू उपभोग गर्न मार्ग प्रसस्त गर्ने एकमात्र अपरिहार्य माध्याम राहदानी भएकोले नागरिकताको प्रतिलिपि र फोटो सहित राहदानीको लागि आवश्यक पर्ने आवेदन फारम समेत भरी दर्ताका लागि प्रत्यर्थी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाँदा ३५ वर्ष मुनिका महिला नागरिकको हकमा अभिभावकले राहदानी प्रदान गर्न मन्जुरी जनाएको व्यहोराको सहमतिपत्रमा हस्ताक्षर गरी दाखेल गरेपछि मात्र राहदानीको आवेदन दर्ता हुने अन्यथा दर्ता गर्न नसकिने जवाफ दिइयो । के कुन आधारमा महिलाले मात्रै अभिभावकको पूर्व स्वीकृति वा मन्जुरी लिनुपर्ने हो भनी सोधपुछ गर्दा “उनको विदेश भ्रमणको सम्पूर्ण जिम्मा म लिन्छु र विदेश भ्रमणको लागि सहमति जनाउदै उनलाई राहदानी प्रदान गर्न अनुरोध गर्दछु” भन्ने व्यहोरा उल्लेखित दरखास्त फारम देखाइयो साथ