निर्णय नं. ४०४५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०४५ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/०५ २५७२ निर्णय नं. ४०४५ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको फौ.पु.नं. ६२६, ३५६, ३५७ सम्वत् २०४६ सालको फौ.सा.नं. ३१ फैसला भएको मिति : २०४६।१२।५।१ मा पुनरावेदक/वादी : अम्बिका राइनीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.झापा, गरामुनी गा.पं. वा.नं. ९ बस्ने कौशल्या ओलीसमेत पुनरावेदक/प्रतिवादी : कारागार शाखा वीरगन्ज थुनामा रहेको प्रेमप्रसाद ओलीसमेत विपक्षी/वादी : अम्बिका राइनीको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) पटक पटक चोट छाडी क्रुरतापूर्वक ज्यान मारेको भन्ने देखिँदा अपराध घटित भएको अवस्थालाई समेत विचार गर्दा ऐन बमोजिम सजायँ गर्दा चर्को पर्ने नदेखिने । (प्रकरण नं. ३४) (२) मृतकलाई मारौं भन्ने पूर्व योजना नभएको, अपराध गरेको अवस्था समेतबाट जन्मकैदको सजायँ गर्दा चर्को पर्ने भएकोले अपराधिक संलग्नतालाई दृष्टिगत गरी घटी सजायँ हुन उपयुक्त नै देखिएकोले अ.बं. १८८ नं. बमोजिम प्रतिवादीलाई १० वर्षको कैद हुने । (प्रकरण नं. ३४) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री विनोद रोका विद्वान अधिवक्ता श्री युवराज संग्रौला पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पू.क्षे.अ. को मिति २०४६।१।१३।३ को फैसला उपर वादी श्री ५ को सरकार र प्रतिवादी दीपक ओली समेतको तर्फबाट पुनरावेदन परी तथा साधकको रोहबाट समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. वन सुदृढीकरण आयोगबाट पति खड्गबहादुरका नाउँमा सिफारिश भई उक्त जग्गामा लगाएको गत सालको बाली प्रेमप्रसाद ओलीले लुटी लगेको र यो सालको बाली मकै र पाटा निजहरुले नै लुटी लगेको र धानबाली आधा जति हामीले काट्यौं बाँकी रहेको धान हरिप्रसाद ओली समेतले भारततर्फका जनबन गर्ने मियाँहरु खेतमा पठाई काट्न शुरु गरेकोले मेरो पतिले धान मेरो हो नकाट भनी मियाँहरुलाई भन्दा यसलाई ठोक मार भनी लक्ष्मीप्रसाद ओली र हरिप्रसाद ओलीले बचन दिनासाथ प्रेम ओली, दीपक ओली, भूपाल ओली, विनोद ओली, भक्तिप्रसाद ओली, कोशल्या ओली समेत भई हुल बाँधी मेरो पतिलाई घेराउ गरी कसैले काट्ने र कसैले लाठीले कुट्ने गरी कुटपिट गरी घटनास्थलमै मारी लडाए म रुँदै कराउँदै जाँदा प्रेमप्रसादले लाठीले हिर्काए त्यसपछि गुहारमा मानिस आउन थालेकोले विपक्षीहरु घटनास्थलमा भागी घरतर्फ गए यसरी कर्तव्य गरी मार्नमा कृष्ण पाठकको पनि सहमति छ भन्ने समेत व्यहोराको मिति ०४२।८।११ को जाहेरी दर्खास्त । ३. बायाँ कानबाट रगत आई कानमा जमेको, मुखबाट रगत निस्किएको, टाउकोको टुप्पीनिर ४ इन्च लामो ३ चौडाइको छाला काटिएको गिदी निस्किएको गहिरो चोट भएको सो चोटबाट प्रशस्त रगत बगेको, सो चोटको १ बेन्च फरक बायाँ पट्टी २ इन्च लामो छाला फुटी हड्डी देखिने दुबै आँखा माथि निलडाम परेको, दाहिने नली खुट्टामा धारिलो हतियारले घोचेको, पछाडिको भाग कम्मर देखि माथि कुमसम्म पुरै भाग लाठी मुंग्राले हिर्काएको, निल डामहरु प्रशस्तै देखिने भन्ने मिति ०४२।८।११।३ को लाश प्रकृति मुचुल्का साथै काँचो बाँसको लाठी १ मुंग्रा १, बाँसको लाठी १, सखुवा काठको चारपाटे बटम १ समेत घटनास्थलमा पाइएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. प्र