निर्णय नं. ७५८७ - परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५८७ - परमादेश । भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०९/०७ ५२४६ निर्णय नं.७५८७ ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री रामनगीना सिंह माननीय न्यायाधीश श्री गौरी ढकाल संबत् २०६२ सालको रि.पू.ई.नं. ...१० आदेश मितिः २०६२।९।७।५ बिषय :— परमादेश । निवेदकः बर्दिया जिल्ला, गुलरिया नगरपालिका वडा नं. ६ घर भई हाल का.जि.का. म.न.पा.वडा नं. १६ डेरा गरी वस्ने मेघेन्द्र प्रकाश गिरी बिरुद्ध विपक्षीः त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कार्यालय, कीर्तिपुर, काठमाडौ समेत § निवेदकले प्रथम वर्षको परीक्षा फर्म भरी परीक्षार्थीको सूचीमा आफू समावेश भइसकेको भनी कुनै जिकिर लिन सकेको नदेखिएको अवस्थामा त्रि.वि.संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियमको व्यवस्था अनुसार निजलाई द्वितीय खण्डको कक्षामा प्रवेश पाउनको लागि योग्य भएको मान्न नमिल्ने । (प्रकरण नं.१०) § २०५४ सालमा प्रथम खण्डको परीक्षामा समावेश हुन फारम नभरी द्वितीय खण्डको कक्षामा प्रवेश गरी प्रथम तथा द्वितीय खण्डको परीक्षाको लागि २०५५ सालमा एकैसाथ फर्म भरी दुवै खण्डको परीक्षामा सामेल भएको कार्य नै नियमसम्मत भएको मान्न नमिल्ने भई ट्रान्सक्रिप्ट पाउनुपर्ने भन्ने निवेदकको जिकिर मनासिब नदेखिने । (प्रकरण नं.११) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री शालिकराम आचार्य विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री नारायणप्रसाद खनाल अवलम्वित नजीरः आदेश न्या.रामनगिना सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत दर्ता भई सर्बोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा यस अदालतको आदेश यसप्रकार छः- २. म निवेदक वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी शैक्षिक सत्र २०५३–०५५ मा शंकरदेव क्याम्पस, पुतली सडकमा बाणिज्यशास्त्रको स्नातकोत्तर तहमा भर्ना भई नियमित रुपमा अध्ययन गरेको थिएँ । घरायसी कारणले २०५४ सालमा लिइएको प्रथम खण्डको परीक्षामा सामेल हुन सकिन । मैले त्रि.वि.वि.लाई बुझाउनु पर्ने सवै शुल्कहरू बुझाई द्वितीय वर्षमा भर्ना भई २०५५ सालमा लिइएको प्रथम र द्वितीय दुवै खण्डको परीक्षामा सहभागी भएँ । उक्त दुवै खण्डमा केही बिषयमा उत्तिर्ण र केहीमा अनुत्तिर्ण एवं अनुपस्थित भएको कारणले पुनः २०५६ सालमा परीक्षामा सम्मिलित भै आंशिक सफलता प्राप्त भएकोले पुनः २०५७ सालमा सामेल भै स्नातकोत्तर तहको सम्पूर्ण बिषयहरू उत्तिर्ण गरें । यस पछि लाग्ने दस्तुर बुझाई ट्रान्सक्रिप्टको लागि त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयमा आवेदन दिएकोमा मैले ट्रान्सक्रिप्ट पाउनु नसक्ने जवाफ दिएको हुँदा परीक्षा नियन्त्रक समक्ष निवेदन दर्ता गराएकोमा कुनै कारवाही भएन । ३. त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २९२ मा ‘विश्वविद्यालय अन्तर्गत सम्वन्धित विद्या परिषदले तहगत तोकेको सम्पूर्ण पाठ्याँशहरूको यस नियमको व्यवस्था अनुरुप आवश्यक प्रकृया पूरा गरी परीक्षा उत्तिर्ण गरेको परीक्षार्थीबाट निर्धारित शुल्क सहित आवेदन आएमा परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट दिनेछ ।’ भन्ने व्यवस्था र नियम ३०७ को विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्ने विद्यार्थी, प्रशिक्षार्थी वा अनुसन्धानकर्ताहरूलाई देहायका शर्तहरू पूरा गरेपछि सम्वन्धित उच्च शिक्षाको प्रमाणपत्र दिइनेछ भन्ने व्यवस्थाको उल्लंघन गरिएको