निर्णय नं. ४०५१ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०५१ - भ्रष्टाचार भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/२२ ३१८१ निर्णय नं. ४०५१ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको फौ.पु.नं. २६५ फैसला भएको मिति : २०४६।१२।२२।४ मा पुनरावेदक/वादी : नेपाल बैंक लिमिटेड बुधबारेको पत्रले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : धरान न.पं.वा.नं.१३ बस्ने पूर्णबहादुर श्रेष्ठ मुद्दा : भ्रष्टाचार (१) मौकामा जाँचबुझ गरी सुनले खाने रकम मात्र भुक्तानी दिनु पर्नेमा जाँचबुझ नगरी आफ्नो जिम्माको रकम भुक्तानी दिई लापरवाहीबाट रकम हिनामिना भएको अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) आकर्षित हुने अवस्था नदेखिने । (प्रकरण नं. ४१) (२) खजान्चीको लापरवाहीबाट सम्पत्ति हिनामिना हुन गएमा सो हिनामिना भएको रकम बैंक र खजान्ची बीच भएको सम्झौताको शर्त नं. १३ अन्तर्गत खजान्चीबाट असूल गर्नुपर्ने । (प्रकरण नं. ४१) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.त्रिलोकप्रताप राणा १. पू.क्षे.अ. को इन्साफमा चित्त नबुझी वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. त्यस कार्यालयका खजान्ची पूर्णबहादुर श्रेष्ठले सरुवा भई आउने खगेन्द्रबहादुर के.सी. हाजिर भइसक्दा पनि बर बुझारथ नगरी बाहिर बाहिरै छुट्टी लिई बस्ने गरेको र काममा समेत बाधा उत्पन्न भइरहेछ । अतः निजले बैक प्रति गरी आएको कुविचारले स्थानीय वातावरण पनि धमिलो भई बैंक प्रति नराम्रो असर पर्ने भएकोले अविलम्ब कारवाही गरी पाउँ भन्ने समेत नेपाल बैंक बुधबारे झापाको मिति २०३९।५।१५ को पत्र । ३. नेपाल बैंक बुधबारेमा राखेको कर्जाको फाँटवारी ठीक छ ती सुनचाँदी राखेर भुक्तानी दिएको मैले नै हो । बैंक गार्ड राजकेशर गजेन्द्र, परशुरामका श्रीमती र उनीहरुका नातेदार भनेका हुँदा र पटक पटक झिकेका र गार्डहरुले मौखिक सिफारिश गरेको हुँदा कर्मचारीहरुको विश्वासमा परी कर्जा दिएको हुँ । यस्तो फर्जरी सुन बनाउने र कर्जा लिने व्यक्तिबाट कानुन बमोजिम रुपैयाँ असूल गरी पाउँ र असूल हुन नसकेको रकम कानुन बमोजिम मैले नै तिर्नु पर्ने ठहरे बुझाउन मन्जूर छ भन्ने खजान्ची पूर्णबहादुर श्रेष्ठले ०३९।६।१७ मा प्रहरीमा गरेको बयान । ४. शनिश्चरे बस्ने चिनजान भएको व्यक्तिहरुले हाम्रो सुन बैंकमा राखेर रुपैयाँ निकाली दिनु पर्‍यो तपाइको बैंकमा चिनजान छ भनेकोले गर्दा पटक पटक सुन धितो राखी कर्जा लिएको हुँ । मेरो नामबाट रुपैयाँ झिकी उनीहरुलाई नै बुझाई दिएको हुँ । नक्कली सुन हो भन्ने मलाई थाहा भएन भन्ने समेत ०३९।६।३ मा कान्छीमाया लिम्बुनीले प्रहरीमा गरेको कागज । ५. बुढी कमिनीसंग चिनजान भएको नाताले रुपैयाँ झिकी दिनु पर्‍यो भनेकोले पटक पटक गरी रुपैयाँ झिकी दिएको हुँ । सुन नक्कली हो भन्ने कुरा थाहा भएन । पोते सहितको नौगेडी सुनको थियो भन्ने मिति ०३९।६।३ मा लक्ष्मीदेवी थापाले प्रहरीमा गरेको बयान । ६. गजेन्द्रप्रसाद लिम्बुको जुवाई नाउँ नजानेको राई, काइली राइनी, पूर्णबहादुर लिम्बुले ल्याएको सुन हरियो पोतेमा जडान भएको नौगेडी तिलहरी समेतको सुन मेरो र छोरीको नाउँबाट रुपैयाँ झिकी सुन धनीलाई नै दिएको हो । फरजरी सुन हो भन्ने कुरा मलाई थाहा थिएन भन्ने लिलामाया लिम्बुनीले प्रहरीमा गरेको बयान । ७. घटी सुन राखी बढी रुपैयाँ बैंकबाट झिक्न लगाई