निर्णय नं. ८६१९ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६१९ - उत्प्रेषणयुक्त परमादेश भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६८/०१/२७ ५८१० ने.का.प. २०६८, अङ्क ५, निर्णय नं. ८६१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६७ सालको WO – ०५५९ आदेश मितिः २०६८।१।२७।३ मुद्दा : उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौँ जिल्ला कपन गा.वि.स.वडा नं.९ वस्ने सन्तोष भण्डारी विरुद्ध विपक्षीः परीक्षा नियन्त्रण कार्यालय, त्रिभुवन विश्वविद्यालय, बल्खु समेत § कुनै कार्य मर्यादा र अनुशासनको अपेक्षित मापदण्डविपरीत हुन सक्दछ, नैतिकताको दृष्टिकोणबाट अनुचित हुन सक्दछ वा सामान्य समझ र सर्वमान्य शैक्षिकस्तरभन्दा तलको अमान्य हुन सक्दछ तर, कुनै नियम कानूनले त्यसलाई बर्जित र सजायभागी भनी पूर्व घोषित वा बर्गीकृत वा परिभाषित नगरेसम्म त्यसको आधारमा सो कार्य गर्नेलाई सजायको भागी बनाउन नसकिने । (प्रकरण नं.९) § कुनै विद्यार्थीले आफूले वर्षभरि पढेको विषय छोडी पढ्दै नपढेको विषय समावेश गरी परीक्षा सञ्चालन हुनुभन्दा अगाडि कम्तीमा ७ दिनभित्र दोहोर्‍याएर परीक्षा फर्म भर्न नपाउने र भरेको पाइएमा निजलाई परीक्षामा समावेश नगराउने र कुनै अवस्थामा लुकिछिपी परीक्षा दिएमा त्यस्तो कार्यलाई अनियमित कार्य वा विद्यार्थी आचार संहिताविपरीतको कार्य भनी नियममै लेखवद्ध गर्नुका साथै त्यस्तो कार्य गर्ने विद्यार्थीको परीक्षा रद्द गर्नु वा अन्य सजाय गर्नुका साथै यस्तो अनुचित कार्यमा सहयोग गर्ने विश्वविद्यालयका सम्बन्धित कर्मचारी वा शैक्षिक संस्थाको जिम्मेवार पदाधिकारीउपर कारवाही गर्ने समेतका कार्यहरूलाई अनियमित वा सजायभागी हुने अनुचित कार्यको श्रेणीभित्र राख्नुपर्ने । (प्रकरण नं.१३) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा अधिवक्ताहरू प्रेमबहादुर खड्का, रेवतप्रसाद खरेल, धनबहादुर श्रेष्ठ, रामकृष्ण भण्डारी, युवराज भण्डारी, सुभाष लामिछाने र देवीकुमारी चौधरी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता नारायणप्रसाद खनाल अवलम्बित नजीरः सम्बद्ध कानूनः § त्रि.वि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २६०, र ६६१ देखि २७० आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छ : म निवेदक त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कानून संकाय स्नातक तहमा शैक्षिक सत्र २०६५।०६६ मा नेपाल ल क्याम्पसमा भर्ना भै अध्ययनरत नियमित छात्र हुँ । मैले २०६६ सालको स्नातक तह प्रथम वर्षको परीक्षा रोल नं.१८१२, परीक्षा केन्द्र त्रि चन्द्र क्याम्पस घण्टाघरमा उपस्थित भै सवै विषयको परीक्षा दिएको थिए । मैलै परीक्षाको कुनैपनि शर्त एवं मर्यादाको उल्लंघन गरेको थिइन । तर म निवेदकले सम्पूर्ण विषयको परीक्षामा निर्वाध रुपमा सामेल भई दिएको परीक्षाको परीक्षाफल कुनै आधार कारण विना एक्सपेल्ड सूचीमा समावेश गर्ने गरी भएको विपक्षीहरूको निर्णय तथा सोसम्बन्धी कारवाहीको हालसम्म जानकारी समेत नदिने गरी भएको कार्य त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५३ तथा ६६ प्रतिकूल भई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३, १७ द्वारा प्रदत्त संवैधानिक तथा मौलिक हकमाथि आघात पर्न गएको हुँदा विपक्षीहरूको उक्त निर्णय तथा कार्य उत्प्रेषणको आदेशद्वारा बदर गरी म निवेदकले प्रवेशपत्रमा उल