निर्णय नं. ८६२२ - शेषपछिको बकसपत्र लिखत बदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६२२ - शेषपछिको बकसपत्र लिखत बदर । भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६८/०१/१२ ३८५८ ने.का.प. २०६८, अङ्क ५, निर्णय नं. ८६२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय संवत् २०६५ सालको दे.पु.नं. २०६५-CI-००८७ मुद्दा :– शेषपछिको बकसपत्र लिखत बदर । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४, धुम्बाराही बस्ने शिवकुमार नेपाली विरुद्ध प्रत्यर्थी वादीः काठमाडौ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्बाराही बस्ने पम्फा सार्की शुरु फैसला गर्ने मा.जि.न्या.श्री सत्यराज गुरुङ्ग पुनरावेदन फैसला गर्ने मा.न्या.श्री हरिप्रसाद घिमिरे मा.न्या.श्री जनार्दन बहादुर खड्का § आफ्नो हक पुग्ने सम्पत्ति आफूखुश गर्न पाउने हुँदा आफ्नो सम्पत्तिमात्र वकसपत्र गरी अर्को अंशियारको हकको सम्पत्ति सुरक्षित नै रहेको अवस्थामा वकसपत्रको लिखतमा अर्को अंशियारको मञ्जूरी हुनु नपर्ने । (प्रकरण नं.२) § हातको औला नहुनेले सम्पत्तिको छोडपत्र गर्दा निजलाई मर्का नपरोस् भनी अपुताली खाने व्यक्ति वा संरक्षक रोहबरमा राख्ने कानूनी व्यवस्था छोडपत्र गर्नेको हितलाई दृष्टिगत गरी भएको हो । उक्त सुरक्षार्थ भएको व्यवस्थाले औला नहुनेलाई अंकुश लगाएको भन्न मिल्दैन । औला नहुनेको हित संरक्षण गर्न बनेको कानूनले उसैको प्रतिकूल हुने गरी वाधा व्यवधान गर्छ भन्न नमिल्ने । § अपुताली खाने वा संरक्षक हुनुपर्नेले आफू रोहवरमा बस्न इन्कार रहे औला नहुने व्यक्तिको स्थिति साह्रै नाजुक हुन जान्छ । सुरक्षार्थ बनेको कानूनी व्यवस्था देखाई सम्पत्तिसम्बन्धी हक अधिकारलाई कुण्ठित गर्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्तात्रय श्री श्यमजी प्रधान, श्री प्रभाकर श्रेष्ठ र नरेन्द्र भटृ प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री वच्चुसिँह खड्का अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन दान बकस महलको १ नं. § कागज जाँचको महलको ७ नं. फैसला न्या.वैद्यनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा पुनरावेदन अदालत पाटनको मिति २०६४।९।२९ को फैसलामा मुद्दा दोहोर्याउने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– विपक्षी मेरो छिमेकी हुन् र म फिरादी झ्याउरे सार्कीको कान्छी श्रीमती हुँ । विपक्षीका शेषपछिको वकसपत्र दाता सुन्तली सार्की मेरी सौता हुन् । म फिरादी, सौता सुन्तली तथा पति समेत काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित कि. नं. २२५ को क्षेत्रफल ०–५–१–० को जग्गामा बनेको घरमा बसेका थियौं । पतिको मृत्युपछि सौता सौता मिली काजक्रिया गरी सौता हातको औंला नभएकी अपाङ्ग भएकोले मैले नै हेरचार गर्दै मिलेर व्यवहार गरी पतिका नाउँको जग्गा समेत हाम्रो नाममा नामसारी गरेका थियौं । यत्तिकैमा सौता सुन्तली सार्कीको मिति २०६१।९।५ गते मृत्यु भएपछि निजको काजक्रिया गर्न विपक्षी मेरो घरमा आउँदा अचम्म परी दिदीको काजक्रिया सकेपछि वास्तविकता बुझ्न मालपोत कार्यालय जाँदा विपक्षीले सौताको साथमा रहेको गरगहना समेत रु.१,५०,०००।– बराबरको सम्पत्ति समेत हात पारी मेरो एकलौटी हक लाग्ने घर जग्गा कीर्ते कागजको ३ नं. विपरीत मेरो हक मेटाउने नियतले थाहा जानकारी नदिई विना मञ्जूरी २०६१।१।८ को शेषपछिको वकसपत्रको आधारमा मिति २०६१।९।२९ मा दा. खा. दर्ता गराएकोले अपाङ्ग त