निर्णय नं. ४०७१ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०७१ - उत्प्रेषणयुक्त परमादेश भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०१/२३ २४५८ निर्णय नं. ४०७१ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर सिंह सम्वत् २०४६ सालको रि.नं. ८०४ आदेश भएको मिति: २०४७।१।२३।१ मा रिट निवेदक: दाङ जिल्ला धर्ना गा.पं. वा.नं. ७ बस्ने भिमकान्त दाहाल विरुद्ध विपक्षी : दाङ जिल्ला वनक्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) आयोगले निवेदकको निवेदनको सन्दर्भमा गरेको निर्णयलाई हेर्दा यसमा आदेशानुसार लूजशिट पेश हुन नसकेको र मिसिल राखी छाड्न मनासिब नदेखिँदा यत्तिकैमा प्रमाण लिई इन्साफ गर्न नमिल्ने हुँदा मन्त्री परिषद्को निर्णयानुसार पर्ति जग्गा छूट भनी दर्ता गर्न नमिल्ने भनी टिप्पणी आदेशलाई सदर गरी निर्णय गरेको देखिन्छ, सो निर्णयको अनुहारबाटै यसमा जग्गाको हक अधिकार सम्बन्धी सबूद प्रमाण हेरी त्यसको मूल्याड्ढन गरी निर्णय गरेको देखिन नआउने । (प्रकरण नं. १०) (२) फिल्डबुकमा पर्ति जनिदैमा सबूद प्रमाण नै नहेरी सो जग्गा दर्ता गर्न अस्वीकार गर्न मिल्दैन, नापीका बखत फिल्डबुकमा पर्ति जनिदैमा निवेदकको जग्गामा हक बेहकको निर्णय सबूद प्रमाणको आधारमा हुन नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. साविक देखि पैतृक सम्पत्तिको रुपमा भोग चलन हुँदै मोठ बन्दीमा दर्ता रही २ नं. रसिद प्राप्त भई आएको जग्गा २०२७ सालको नापीमा दाङ जिल्ला धर्ना गा.पं. वडा नं. ८(क) कि.नं. ४०८ समेत कायम भयो । उपरोक्त अनुरुप २ नं. रसिद प्राप्त नं. ४ को ज.वि. १६–०–२ जग्गा वरिपरि पाखो एवं खेत भई बीचमा आफ्नै निजी प्रयोजनका लागि घर गोठ कटेराको छानाको प्रयोजनार्थ खरबारी पाली आएको र सोको ७ नं. फाँटवारी पनि भरेको छु । यो जग्गा कि.नं. ४०८ कायम भई फिल्डबुकमा जग्गाको किसिम भन्ने महलमा पर्ति ४–१४–९ जनिई कैफियतमा पञ्च सदस्यले यो जग्गा पञ्चायत धर्ना वडा नं. ८ भीमकान्त दाहालको नम्बरी हो भनी प्रमाणित गरिदिएको छ । यो कि.नं. ४०८ को वरिपरि पनि सोही १६–०–२ मध्येको जग्गा रही कूल ज.वि. १०–१६–१९ दर्ता कायम छ । यसको ज.ध.प्र. पूर्जा पाइसकेका छौं कुनै विवाद छैन नापी हुँदा म भारतमा पढ्न बसेबाट यो कुरा पछि थाहा भयो । चारै तिर नाम अंकित जग्गा रही कि.नं. ४०८ कायम भएको साविक सनातन देखि आफ्नै रहेको जग्गामा आजसम्म मेरो निर्वाध भोग कायम छ । यो कि.नं. ४०८ को ज.ध.प्र. पुर्जा पाउन पटक पटक निवेदन गर्ने सिलसिलामा मिति २०४१।५।१५ मा सबूद प्रमाण सहित विपक्षी मालपोत कार्यालयमा निवेदन गरेकोमा लामो समयसम्म कारवाहीमा राखी पछिबाट वनक्षेत्र सुदृढीकरण उच्च स्तरीय आयोगमा निवेदन कारवाहीका लागि पठाइएछ । यो कुराको मलाई कुनै जानकारी भएन र आयोगबाट मलाई बुझ्ने काम समेत भएन । मिति ०४६।१।२२ मा मलाई हराइयो भन्ने हल्ला सुनी विपक्षी आयोगमा सम्पर्क राखी मिति २०४६।४।११ मा निर्णयको नक्कल सारी लिई हेर्दा साविक श्रेस्ता अनुसारको हक भोग भित्रको जग्गा भए पनि जग्गा नाप जाँच ऐनको दफा ८(२) को म्याद भित्र दर्ता नगरेको नापीका बेला आफ्नो नाममा नापी गराउन न