निर्णय नं. ४०७६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०७६ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/१२/१४ २३४१ निर्णय नं. ४०७६ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.नं. १४४५ आदेश भएको मिति: २०४६।१२।१४।३ मा निवेदक : जि.पं.स. तनहुँमा सरुवा गरी अवकाश प्राप्त कुमार श्रेष्ठ विरुद्ध विपक्षी/प्रत्यर्थी : जि.पं.सचिवालय गोर्खाका स्थानीय विकास अधिकारी वासुदेव बरालसमेत विषय : उत्प्रेषण (१) उचित र पर्याप्त कारण भएमा निजामती सेवा नियमावली, २०२१ को नियम १०.१ बमोजिम सजायँ गर्न सकिने । (प्रकरण नं. १०) (२) निवेदकलाई दिएको पत्रबाट निवेदकलाई बर्खासी गरेका वा नोकरीबाट हटाएको नदेखिई नोकरीबाट अवकाश दिएको देखिँदा दिइएको अवकाशको निर्णय उपर पुनरावेदन लाग्ने व्यवस्था प्रशासकीय अदालत नियमावली, २०४४ को नियम ५(१) भित्र नपरेकोले सो नियम सान्दर्भिक भएन । (प्रकरण नं. १०) रिट निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री रामजी विष्ट प्रत्यर्थी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. म निवेदक पञ्चायत तथा स्थानीय विकास मन्त्रालयका जिल्ला पञ्चायत सचिवालय गोरखा अन्तर्गत गा.पं. सचिव पदमा २०३८ साल चैत्र २२ गते देखि स्थायी नियुक्ति पाई गोरखा जिल्लाको धुवांकोट गा.पं. च्याङलिङ गा.पं. समेतमा काम काज गरी हाल २०४३ साल ज्येष्ठ देखि लाप्राक गा.पं. कार्यालयको गा.पं. सचिव पदमा विपक्षी सचिवालयले सरुवा गरेकोमा उक्त मिति देखि ०४६ बैशाख मसान्तसम्म अविछिन्न रुपमा काम गर्दै आएको थिएँ । केही दिन आफ्नो घर कामले उपस्थित हुन नसकेकोमा सो व्यहोरा दर्शाई बिरामी बिदामा रहन बस्न पाउनको लागि आफू कार्यरत गा.पं. र विपक्षी जि.पं. सचिवालय समेतलाई ०४५।८।१९ देखि ०४५ फाल्गुण मसान्तसम्म उपस्थित हुन नसक्ने बारे लिखित अवगत गराई ०४५ चैत्र १ गते म आफ्नो कार्यालयमा हाजिर भई कामकाज गर्दै आएकोमा विपक्षी स्थानीय विकास अधिकारीले म निवेदकलाई के कुन उद्देश्य लिएर म उक्त गा.पं. मा हाजिर रहेको जानकारी छँदाछँदै हाजिर हुन आउने सूचना गोरखापत्रमा प्रकाशित गरी मलाई जनाउ दिएको रहेछ । म निवेदक उक्त गा.पं. मा हाजिर छु । उक्त कुरा ०४५।१२।४ मा विपक्षी कार्यालयलाई गा.पं. ले दिइसकेको थियो । सोही अवस्थामा म निवेदकलाई विपक्षी वासुदेव बराल स्थानीय विकास अधिकारीले ०४६।२।१ को निर्णय भएको भन्ने व्यहोरा देखाई हाजिर हुन नआएको आरोप लगाई नि.से.नि.को १०.१.५ बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी मलाई अवकाश दिने एकतर्फी निर्णय गरेछन् । उक्त कुरा मलाई ०४६।२।२६ गते अवकाश दिएको पत्र बुझाए पछि आधिकारिक रुपमा थाहा पाएँ । ३. विपक्षी स्था.वि.अ.वासुदेव बरालले मलाई पञ्चायतमा हाजिर रहँदा रहँदै त्यसको जानकारी पाउँदा पाउँदै पनि यसरी अवकाश गर्नुमा नि.से.नि. को १०–६ को नियम ३ र ८ बमोजिमको मैले आचरण पालना नगरेको कारणबाट नभई व्यक्तिगत रुपमा मैले विपक्षीलाई गोरखा जिल्लाको अति विकट लाप्राक गा.पं. बाट वहाँले भने बमोजिम कोसेली मुफ्तमा पठाउन नसक्नुको कारण नै मुख्य जरिया हो किनकी वहाँले मलाई पटक पटक त्यस ठाउँमा पाइने घिउ र ऊनबाट बन्ने सामानहरु पठाउँदै गर भनी तलब लिन आउँदा भन्दै आएको र उक्त सामान मेरो सामथ्र्यले नभ्याएकोले उक्त जरिया लिएर नै विपक्ष