निर्णय नं. ७६२१ - उत्प्रेषण मिश्रित परमादेश समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६२१ - उत्प्रेषण मिश्रित परमादेश समेत भाग: ४७ साल: २०६२ महिना: फागुन अंक: ११ फैसला मिति :२०६२/११/२८ २९०५ निर्णय नं.७६२१ ने.का.प. २०६२ अङ्क ११ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्बत २०६० सालको रिट नं. ३२७८ आदेश मितिः २०६२।११।२८।१ विषय :- उत्प्रेषण मिश्रित परमादेश समेत रिट निवेदकः का.जि.का.म.न.पा. वडा नं.७ घर भई कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा शाखा अधिकृत पदमा कार्यरत नारायण मरासिनी विरुद्ध विपक्षीः सञ्चालक समिति, कृषि सामग्री कम्पनी लि. प्रधान कार्यालय, काठमाडौ समेत § कुनै कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा मूल्याङ्कन गर्ने अधिकारीबाट प्रदान गरिएको अंकलाई थप्ने वा घटाउने गरी कुनै संशोधन गर्न पाउने अधिकार कसैलाई पनि भएको नदेखिने । § मूल्याङ्कनकर्ताबाट एकपटक प्रदान गरिएको अंकलाई मूल्याङ्कनकर्ताको दस्तखत विना थपघट गरी सच्याइएको देखिन्छ भने सच्याउनु पर्ने मूल्याङ्कनकर्ताको मनसाय भएको मान्न नसकिने भएबाट मूल्याङ्कनकर्ताको दस्तखत विना थपघट गरिएको अंकले मान्यता पाउन नसक्ने। § कार्यसम्पादन मूल्याङ्कन फाराममा मूल्याङ्कनकर्ताले एकपटक मूल्याङ्कन गरी अंक प्रदान गरिसकेकोमा सोलाई सच्याएर अर्को अंक प्रदान गरेको र सच्याइएको ठाउंमा कानूनवमोजिम दस्तखत नगरेको अवस्थामा सच्याउनु भन्दा अघि जति अंक प्राप्त गरेको देखिन्छ सोही अंकलाई मान्यता दिनुपर्ने । (प्रकरण नं. १४) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री बद्रीबहादुर कार्की र श्री हरिप्रसाद उप्रेति विपक्षीहरुको तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री बालकृष्ण नेउपाने अवलम्वित नजीरःने.का.प. २०४२, अंक ९,निर्णय नं. २४९८, पृष्ठ ८६८ आदेश न्या.रामप्रसाद श्रेष्ठः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण तथा आदेश यसप्रकार छ :- २. म निवेदक २०३९।११।१८ म तत्कालीन कृषि सामग्री संस्थानमा प्रधान कार्यालयको अधिकृत तृतीय पदमा नियुक्ति भई अटुट रुपले संस्थानको इमानदारिताको साथ सेवा गर्दै आएको छु। विपक्षी कम्पनीमा आ.ब.२०५८।०५९ म रिक्त हुन आएको बरिष्ठ अधिकृतको ४ पद मध्ये प्रतिशत निर्धारण भै मिति २०६०।३।८ मा रिक्त ३ पदमा कार्यक्षमताको आधारमा बढुवा गरिने गरी सूचना प्रकाशित भएकोले म निवेदक पनि कार्यक्षमताको सही मूल्याङ्कन भएमा बढुवा पाउने उद्देश्यले रितपूर्वकको दरखास्त फाराम भरी उम्मेदवारी प्रस्तुत गरी बढुवा पाउने विश्वासकासाथ नतिजाको प्रतिक्षामा थिए । मिति २०६०।५।२४ मा पदपूर्ति समितिको तर्फबाट प्रकाशित बढुवाको सिफारिस सूचीमा मेरो नाम समाबेश नभएको देखी कृषि सामग्री कम्पनी लि कर्मचारी प्रशासन विनियमावली २०५९ को विनियम ३६(१) को म्यादैभित्र विपक्षी सञ्चालक समिति समक्ष मैले बढुवा पाउनु पर्ने आधार र कारण सहितको उजुरी दिएकोमा मिति २०६०।८।२९ को पत्रद्वारा उजुरी आधारहीन ठहर्याई बढुवा सिफारिस नियम संगत रहेको हुनाले २०६०।८।२८ को ६३ औं बैठकबाट निर्णय भएको व्यहोराको जानकारी प्राप्त हुन आएको हुँदा बाध्य भई विपक्षीहरुको अन्यायपूर्ण एवं गैरकानूनी काम कारवाही बदर गरी न्यायिक उपचार पाउन यस सम्मानित अदालत समक्ष यो निवेदन चढाउन आएको छु । ३. मेरो शैक्षिकयोग्यतामा वि.कम.द्वितीय श्रेणी र शास्त्रीमा प्रथम श्रेणी रहेकोमा मलाई शैक्षिकयोग्यता वापत अंक दिंदा शास्त्रीको प्रथम श्रेणीको १० अंक नदिई बि.कम.को