निर्णय नं. ७९२८ - कर्तव्यज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९२८ - कर्तव्यज्यान भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६४/१२/२४ ३८९२ निर्णय नं.७९२८ ने.का.प. २०६५ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री तपबहादुर मगर सम्वत् २०६२ सालको फौ.पु.नं. ३४५२ फैसला मितिः २०६४।१२।२४।१ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादीः विष्णुकुमारी दर्जीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः वाग्लुङ जिल्ला हटिया गा.वि.स. वडा नं. ३ वस्ने मिनबहादुर दर्जी अघि फैसला गर्नेः मा.जि.न्या.श्री करुणानिधि शर्मा पुनरावेदक फैसला गर्नेः का.मु.मु.न्या.श्री ताहिरअलि अन्सारी न्या.श्री गोपाल पराजुली § मानिसको मृत्युको सम्बन्धमा सो सम्बन्धी विषयगत विशेषज्ञता हासिल गरेका विशेषज्ञहरुद्वारा गरिएको परीक्षण र त्यसका आधारमा प्रस्तुत गरिएको रायको प्रामाणिक महत्व रहने । (प्रकरण नं.३) § सामान्य कुटपिटको विषयलाई मनसायसहितको आपराधिक कार्यको संज्ञा दिन नमिल्ने । § ज्यान सम्बन्धीको १३(३) नं. वमोजिमको सजायको माग दावी लिने वादी पक्षले प्रतिवादीबाट ज्यान मार्ने नियतका साथ त्यस्तो आपराधिक कार्य गरेको हो भन्ने पुष्टी गर्न सक्नुपर्ने । § केबल जाहेरी दरखास्त र जाहेरवालाको भनाईलाई मात्र आधार बनाएर कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा निष्कर्षमा पुग्न नहुने । (प्रकरण नं.४) § अनुमान, आशंका र सम्भावना जस्ता मनोगत आधारमा कुनै पनि आपराधिक कार्यमा मनसाय तत्वको विद्यमानता छ नै भनी निष्कर्ष निकाल्नु न्यायोचित नहुने, मनसाय तत्वको विद्यमानता प्रमाणहरुबाट नै देखिनु पर्ने र त्यस्तो प्रमाण जुटाउने दायित्व वादी पक्षले नै वहन गर्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता शरद खड्का प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.तपवहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- मीनबहादुर दर्जीले छविलाल दर्जीलाई मिति २०६१।३।३१ गते राती घरको पिंढीमा सुतिराखेको वखत लात्ती र मुक्काले शरीरका विभिन्न भागमा हिर्काई घाइते बनाएकोमा औषधी उपचार गराउँदै गरेको वखत मिति २०६१।४।२ गते निज छविलाल दर्जीको मृत्यु भएको भन्ने समेत व्यहोराको विष्णु कुमारी दर्जीको जाहेरी दरखास्त । छविलाल दर्जीलाई कुटपिट गरेको भन्ने खवर पाई के भएको रहेछ भनी छविलाल दर्जीको घरमा गई निजलाई बुझ्दा हिजो राती मीनबहादुर दर्जीले अंश सम्बन्धी विषयमा निहुँ झिकेर मलाई कुटपिट गरेकाले शरीर दुखी रहेको छ । श्वास फेर्न अप्ठ्यारो भएको छ । मलाई बचाउ, मेरो औषधी उपचार गराई देउ भनी छविलाल दर्जीले भेला जम्मा भएको मानिसलाई भनेपछि मीनबहादुर दर्जी समेतलाई सोधपुछ गर्दा छविलाल दर्जीलाई मैले कुटपिट गरेको हो, अर्काे दिनपनि छविलाल दर्जीलाई मारीदिन्छु भनी धाक धम्की दिएको थियो । अंश सम्बन्धी निहुँ खोजी छविलाल दर्जीलाई मीनबहादुर दर्जीले लात्ती मुक्काले प्रहार गरी घाइते बनाई सोही चोट पटकका कारणले छविलाल दर्जीको मृत्यु भएकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको मौकामा बुझिएका शेरबहादुर दर्जी, चन्द्रबहादुर भण्डारी, टिका परियार, जितबहादुर मल्ल, शुलबहादुर दर्जी, मीनबहादुर दर्जी, कर्णबहादुर दर्जीले गरिदिएको करिव एकै मिलानको छुट्टा छुट्टै कागज । मादक पदार्थ सेवन गरेको वखतमा जग्गा सम्बन्धी अंशको कुरा गर्ने बिचार उठी छविलालसँग मेरो भा