निर्णय नं. ७९२९ - निर्णय बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९२९ - निर्णय बदर हक कायम भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६४/०८/०३ २७८६ निर्णय नं.७९२९ ने.का.प. २०६५ अङ्क २ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा सम्व्त २०६१ सालको दे.पु.नं. ......९७१६ फैसला मितिः २०६४।८।३।२ मुद्दा :– निर्णय दर्ता बदर हक कायम । पुनरावेदक वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २० भिमसेनस्थान बस्ने कृष्णमान राजभण्डारी विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २३ बस्ने मिश्रीनानी राजभण्डारी समेत शुरु निर्णय गर्नेः मा.न्या.श्री रमेश पोखरेल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री दामोदरप्रसाद प्रजापती मा.न्या.श्री भिमेन्द्रबहादुर कार्की § फिराद दायर गर्दा टाईपको भूल भएको भए प्रतिउत्तर पर्नु अगाडिनै निवेदन दिनुपर्ने । § प्रतिउत्तर दर्ता भैसकेपछि इन्साफमा नै असर पर्ने गरी टाईपको भूल सुधार्न सकिने अवस्था नहुने । § फिराद हदम्याद भित्र परेको छ, छैन भनी निर्णय गर्नलाई मुद्दा गर्नु परेको कारण कहिले सिर्जना भएको हो एकिन गर्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता वच्चुसिंह खड्का प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र विद्वान अधिवक्ता हेमकुमार श्रेष्ठ अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः पुनरावेदन अदालत पाटनबाट मिति २०५८।११।१३ मा भएको फैसला उपर चित्त नबुझी वादी पक्षबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– विपक्षीहरु मिश्रीनानी राजभण्डारी र प्रकाश राज मास्के एक आपसमा मिली मिलेमतो गरी पूर्ण रुपमा नापी गोश्वारा समेतलाई झुक्यानमा पारी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २३ कि.नं. ४२० खण्ड (घ) क्षेत्रफल ०–१–०–१ को घर जग्गा मिश्रीनानीको नाममा हाम्रो हक मेटाउने उद्देश्यले मिति २०३८।७।२४ मा स्ववासी सूचना अनुसार दुषित रुपले दर्ता गरेको हुँदा स्ववासी सूचना अनुसार भनि गरिएको दुषित दर्ता बदर गरी हक कायम गरी चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । मिश्रीनानीले विवादित जग्गा मिति २०३५।६।८ गतेको २१ दिने स्ववासी सूचना अनुसार वडा नं. २३ को कि.नं. ४२० को घर जग्गा आफ्नो नाममा दर्ता गरी जग्गा धनी प्रमाणपूर्जा प्राप्त गरी एकलौटी हक भोग गरी आउनु भएको थियो । मिश्रीनानीको नाममा दर्ता हुन आएको विवादित जग्गा फिरादीले दर्ता हुँदाका अवस्थामा म प्रतिवादीको यो यस्तो संलग्नताबाट दर्ता गराएको भनी किटानी साथ उल्लेख गर्न सक्नु भएको छैन । २०३५।६।८ को २१ दिने स्ववासी सूचना प्रकाशित भएकोमा सो सूचनाको विरुद्ध वादीले तत्काल कुनै प्रतिवाद रहेको थिएन भन्ने २०३८।७।२४ को निर्णयबाट मिश्रीनानीको नाममा दर्ता भई जग्गा धनी प्रमाणपूर्जा प्राप्त हुँदा सम्म विपक्षीको सो जग्गामा कुनै आपत्ति थिएन । मिश्रीनानीको नाममा विवादको घर जग्गा दर्ता हुनु पूर्व मेरो कुनै संलग्नता नरहेको अवस्थामा निज मिश्रीनानीको नाममा कानून बमोजिम दर्ता भई आएको जग्गा दर्ता बदर हुन नसक्ने हुँदा फिराद खारेज भागी छ खारेज गरिपाऊँ भन्ने समेत प्रतिवादी प्रकाशराज मास्केको प्रतिउत्तर जिकिर । प्रतिवादी मिश्रीनानी राजभण्डारीका नाउँको म्याद मिति २०५४।८।१० मा रित पूर्वक तामेल भई म्याद भित्र प्रतिउत्तर नफिराई म्याद गुजारी बसेको देखिन्छ