निर्णय नं. ७६२४ - करार अनुसार गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६२४ - करार अनुसार गरिपाऊँ । भाग: ४७ साल: २०६२ महिना: फागुन अंक: ११ फैसला मिति :२०६२/१०/३० ४०२३ निर्णय नं.७६२४ ने.का.प. २०६२ अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संबत् २०६० सालको दे.पु.नं. ...९६२४ फैसला मितिः२०६२।१०।३०।१ मुद्दाः करार अनुसार गरिपाऊँ । पुनरावेदक / वादीः झापा जिल्ला, अनारमनी गा.वि.स.वडा नं. ३ स्थित शिव चलचित्र मन्दिरको प्रो. भगवानलाल साह बिरुद्ध प्रत्यर्थी / प्रतिवादीः ऐ.ऐ. वस्ने हर्कलाल गिरी § लिखतको प्रकृतिबाट कुनै प्रस्ताव गरी सोको समर्थन भई प्रतिफल निर्धारण गरेको तथा लिखतमा दुवै पक्षको सहिछापसम्म पनि गरेको नदेखिंदा करारमा रहनुपर्ने आवश्यक तत्व नै समावेश नभएको मञ्जुरनामाको कागजलाई करारनामाको संज्ञा दिन नमिल्ने । (प्रकरण नं.१३) § करारनामा कवुलियतनामा वा मञ्जुरनामा जे जस्तो प्रकृतिको लिखत भएपनि सो लिखतमा पक्षहरुले स्वतन्त्र रुपमा सहमति जनाएको बिषयसम्ममा सिमीत रही अदालतले आफू समक्ष परेको विवादको निरुपण गर्ने हो । पक्षहरुले लिखतमा उल्लेखै नगरेको विषयमा अदालत आफैले अनुमान गरी लिखतमा लेखिए भन्दा बढी कुरा दिलाइ दिन नसक्ने । § विवादित लिखतमा यो यस मितिसम्म हल सञ्चालन गर्न दिने भन्ने कुरा उल्लेख नभएको स्थितिमा अनन्तकालसम्म पुनरावेदकले हल सञ्चालन गरिरहन पाउने अर्थ गर्न नमिल्ने। § लिखतमा क्षतिपूर्तिका सम्बन्धमा कुनै उल्लेख नभएको र पुनरावेदकले हल सञ्चालन गर्न लिएको इजाजत सूचना तथा सञ्चार मन्त्रालयबाट रद्द भइसकेको अवस्था समेतबाट वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालतको इन्साफ अन्यथा देखिन नआउने । (प्रकरण नं.१४) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री श्रीधर भण्डारी प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या. बद्रीकुमार बस्नेत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत, इलामको मिति २०६०।३।२९ को फैसला उपर वादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. विपक्षीको नाम दर्ताको झापा अनारमनी वडा नं. ३ को कि.नं. ५५६, ५५८ को क्रमशः ज.वि. ०.३.६, ०.०.१४ समेतको ०.४.० जग्गामा मलाई सिनेमा हल वनाई सञ्चालन गर्न दिन मन्जुर गरी २०४०।६।१ मा करारको कागज गरी दिनु भएकोले निवेदक प्रोप्राईटर भएको प्राइभेट फर्म ०४१।४।३२ मा दर्ता भै प्रदर्शन गरी आएकोमा विपक्षीले २०५३।८।१० मा विवेचना पत्रिका मार्फत घर खाली गरी दिनु भनी सूचना प्रकाशित गरेकोमा मैले पुनरावेदन अदालत, इलाममा निषेधाज्ञा जारी गरी पाउन निवेदन गरी २०५४।३।१५ मा निषेधाज्ञा जारी गरी मेरो सम्पत्ति आर्जन गर्ने कार्यमा वाधा विरोध नगर्नु भन्ने फैसला भई सिनेमा प्रदर्शन गरी रहेकोमा २०५४।४।१५ गते विहान देखि विपक्षीले हलमा ताला लगाई सिनेमा सञ्चालन गर्न वाधा गरेकाले प्रति दिन रु. १२,३२८।९५ का दरले फैसला नभइन्जेल सम्मको क्षतिपूर्ति दिलाई ढोकाको ताला खोली हल सञ्चालन गर्न पाउँ भन्ने समेत वादीको फिराद दावी । ३. वादी दावीको जग्गामा मासिक रु. ९००। भाडामा टुरीङ टाकिज चलाउन २०४० साल कार्तिक देखि दिएकोमा ३ बर्ष अवधि सकिएपछि २०४३।५।१ मा मासिक रु. १८००। लिने गरी २ बर्षको म्याद थपी दिएको, फेरी ३ बर्ष बढीमा ५ बर्ष अवधि थपेको सो अवधिमा म संग सम्पर्क नगरेकाले २०५३।८।१० मा खाली गर्ने सूचना प्रकाशित गरी पत्र पठाउँदा समेत जग्गा खाली नगरेको, भाडा समेत नतिरेको जनताले हल