निर्णय नं. ७९४० - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९४० - उत्प्रेषण समेत भाग: ५० साल: २०६५ महिना: असार अंक: ३ फैसला मिति :२०६५/०२/०२ ४४८९ निर्णय नं.७९४० ने.का.प. २०६५ अङ्क ३ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय नयायाधीश श्री बलराम के.सी. संवत् २०६३ सालको रिट नं. ०६३–WS–००२१ आदेश मितिः २०६५।२।२।५ विषयः उत्प्रेषण समेत । निवेदकः जिल्ला गोरखा पृथ्वीनारायण न.पा. वडा नं.६ बस्ने देवेन्द्ररमण खनाल समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं समेत § समानताको हक भनेको जहिले पनि समानहरुका बीचमा आकर्षित हुन्छ र यो कहिल्यै पनि निरपेक्ष हुँदैन । निवेदकहरुले चार्टर्ड एकाउन्टेन्टका लागि आवश्यक अध्ययन गरिसकेको भएतापनि त्यो अध्ययन विदेशी संस्थाबाट गरेको हुँदा नेपालमा लेखा व्यवसाय गर्नका लागि त्यो पर्याप्त हुन्छ नै भनी ठोकुवा गर्न नसकिने । § नेपालमा लेखा व्यवसाय गर्न योग्य तुल्याउने गरी नेपालको वाणिज्य कानून र कर प्रणाली लगायतका विषयमा लिइने परीक्षाले निवेदकहरुलाई नेपालको चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा उत्पादित चार्टर्ड एकाउन्टेन्ट सरह समान स्तरमा पुर्याउने देखिदा त्यस आधारमा पनि परीक्षा लिने त्यस्तो व्यवस्था समानताको पक्षमा रहेको देखिन्छ, न कि विभेदजन्य । (प्रकरण नं.६) § राष्ट्रको आर्थिक विकास गर्नको निमित्त लेखाको महत्व तथा लेखा व्यवसायीको आर्थिक एवं सामाजिक उत्तरदायित्व प्रति जनचेतना जगाई लेखा व्यवसायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिबृद्धि गर्न र लेखा व्यवसाय एवं लेखाको महत्वप्रति लेखा व्यवसायीको उत्तरदायित्वबोध गराई लेखा व्यवसायको विकास, संरक्षण र सम्बर्द्धन गर्नको लागि स्थापित निकायलाई अधिकार सम्पन्न बनाउन, संस्थाको विश्वसनियता तथा आधिकारिकता स्थापित गर्न र लेखा व्यवसायीहरुको मर्यादा, स्तरियता र विश्वसनियता कायम गरी समग्र लेखा व्यवसायको सुदृढिकरण गर्नका लागि ऐनद्वारा निर्धारण गरिएको पद्धति र त्यसको कार्यान्वयनका लागि नियमद्वारा तोकिएको प्रकृया एवं शर्तलाई विभेदकारी रहेको भन्न नमिल्ने । (प्रकरण नं.७) § विदेशमा गरिएको अध्ययन स्वदेशी आवश्यकता र परिवेश अनुरुप छ छैन भनी जाँच गर्न र तदनुरुप मान्यता प्रदान गर्नका लागि परीक्षा लिन र त्यसका सम्बन्धमा शर्त तोक्न नै नपाउने भन्नु न त न्यायोचित न त व्यवहारिक हुने हुँदा सदस्यता प्रदान गर्ने सम्बन्धमा परीक्षा लिने र आवश्यक शर्तहरु तोक्ने कार्य कुनै व्यक्ति विशेषप्रति लक्षित छ भने जायज ठहर्याउन नसकिने । § विदेशी संस्थामा अध्ययन गर्ने सबै प्रति लक्षित भएको र त्यस वर्गभित्र पर्ने सबैलाई समान रुपमा आकर्षित हुने गरी गरिएको कानूनी व्यवस्थालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.९) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री शम्भु थापा, श्री डालकुमार खड्का र श्री विष्णुप्रसाद न्यौपाने विपक्षी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- हामी निवेदकहरु नेपालको नागरिक हौं । तत्कालीन अवस्थामा नेपालमा चार्टर्ड एउकान्टेन्ट्स अध्ययन अध्यापन गराउने संस्था नभएको र कार्यरत चार्टर्ड एकाउन्टेन्ट्सहरुको मौखिक सल्लाह अनुसार भारतीय चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट अध्ययन गरी पास गरी तालिम हासिल गरेका छौं । तर सो वमोजिम नेपालमा चा