निर्णय नं. ७६३२ - उत्प्रेषण, परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६३२ - उत्प्रेषण, परमादेश । भाग: ४७ साल: २०६२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६२/१२/०८ २७६० निर्णय नं.७६३२ ने.का.प.२०६२ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा सम्बत् २०६२ सालको रिट नं.––२७७३ आदेश मितिः २०६२।१२।८।३ विषय :– उत्प्रेषण, परमादेश । निवेदकः रामेछाप जिल्ला, सैंपु गा.वि.स. वडा नं. १ पोकु बस्ने नेपाल प्रशासन सेवा, लेखा समूहको रा.प.द्वितीय श्रेणीको पदबाट स्वेच्छिक अवकास प्राप्त टंकराज राउत बिरुद्ध विपक्षीः सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौं समेत § कानूनले स्पष्टरुपमा रोक लगाएको बाहेक एउटा दफाले दिएको सुविधा अर्को दफाले दिन मिल्दैन भनी निर्णय गर्नु उचित र न्यायसंगत नहुने । (प्रकरण नं. ११) § निजामती सेवा ऐन, २०४९ को दफा ३५(२) अनुसारको प्रक्रिया पूरा गरी स्वेच्छिक अवकास लिने कर्मचारीले सोही ऐनको दफा ३७(३) को प्रक्रिया पुरा भएको अवस्थामा सो ऐनबमोजिम थप गर्न मिल्ने सेवाअवधि थप गर्न ऐनले रोक लगाएको नदेखिएको र कर्मचारीले पाइआएको सेवा शर्तको सुरक्षा ऐनको दफा ५८ ले गरिरहेकै अवस्थामा दफा ३७(३) को सुविधा नपाउने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१२) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा अवलम्वित नजीरः आदेश न्या.अर्जुनप्रसाद सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण र ठहर यसप्रकार छ :– २. म निवेदक रा.प.तृ. श्रेणीको लेखा अधिकृत पदमा कार्यरत रहेका बखत निजामती सेवा ऐनको (दोश्रो संशोधन सहित) को दफा ३५ को उपदफा (२) बमोजिम एक श्रेणी माथिको पदमा बढुवा गरी मिति ०६२।५।१ देखि लागू हुने गरी स्वेच्छिक अवकास पाउन निवेदन पेश गरेकोमा सो निवेदन उपर आवश्यक कारवाही हुँदै जाँदा सामान्य प्रशासन मन्त्रालयले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय एवं महान्यायाधिवक्ताको कार्यालयसँग समेत राय लिने कामगरी मिति ०६२।६।६ को पत्रबाट नेपाल प्रशासन सेवा लेखा समूहको रा.प.द्वितीय श्रेणीको पदमा बढुवा गरी नि.से.ऐन (संशोधन सहित) को दफा ३७(३) बमोजिमको सुविधा नपाउने गरी ०६२।५।१ देखि लागू हुने गरी स्वेच्छिक अवकास दिइएको कुरा जानकारी गराइयो । दफा ३७(३) बमोजिम सुविधा नपाउने गरी भन्ने वाक्यांश कानून विपरीत स्वेच्छाचारीरुपमा प्रयोग भएकोले सो वाक्यांश नराखि दफा ३७(३) बमोजिमको सेवा अवधि थप्ने सुविधा समेत पाउने गरी उक्त पत्र सच्याइ पाउन अनुरोध गर्दा सुधार गर्न मिल्दैन भन्ने जवाफ दिइयो । नि.से.ऐनको दफा २०क(४) मा यस दफा बमोजिमको एक श्रेणी माथिको पदमा बढुवा पाउने कर्मचारीलाई निजले तल्लो पदबाट अवकास लिंदा पाउने सुविधा भन्दा कम नहुने गरी सुविधा प्रदान गरिनेछ भन्ने व्यवस्था भएको हुनाले मैले तल्लो तहको पदबाट राजिनामा गर्दा दफा ३७(३) बमोजिम ६० वर्ष पुग्न बाँकी रहेको अवधि थप गर्न पाउने सुविधाबाट बञ्चित गर्दै सो कानूनी व्यवस्थाको विपरीत हुने गरी सेवा अवधि थप्ने सुविधा नपाउने गरी भन्ने शर्त राखेर दिइएको स्वेच्छिक अवकास सरासर गैरकानूनी देखिएको छ । दफा ३७(३) बमोजिम ६० वर्ष उमेर पूरा हुन बाँकी रहेको सेवा अवधि थप गरी पाउनका लागि निर्धारण गरिएका पूर्वशर्तहरुमा सेवा अवधि तीस वर्ष पूरा भएको हुनुपर्ने स्वेच्छाले सेवाबाट अवकास लिएको हुनुपर्ने वा दफा ३३ बमोज