निर्णय नं. ७९२० - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९२० - अंश चलन । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६४/०९/०४ ३८५४ निर्णय नं.७९२० ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत् २०५९ सालको दे.पु.नं.– ९३२३ फैसला मितिः २०६४।९।४।४ मुद्दाः– अंश चलन । पुनरावेदक प्रतिवादीः का. जि. का. म. न. पा. वडा नं. १५ डल्लु वस्ने वुद्धरत्न खड्गी समेत विरुद्ध प्रत्यथी वादीः ऐ. ऐ. वस्ने भनि लेखेको धर्म खड्गी शुरु फैसला गर्नेः– मा.न्या. दिपककुमार कार्की पुनरावेदन फैसला गर्ने मा.न्या.वैद्यनाथ उपाध्याय, मा.न्या.गोविन्द कुमार श्रेष्ठ § अंशियारको सम्बन्धमा नातामा बिवाद नभए पछि वादीले अंश पाउनु पर्ने कुरालाई कानून वमोजिम प्राप्त जन्मसिद्ध हक अधिकारको रुपमा लिनु पर्ने । § कुनै पनि व्यक्तिले कानून प्रतिकूल अंशियारबिहिन हुनुपर्ने वा पटक पटक अंश पाइरहने भन्ने स्थिति स्वीकार्य नहुने । § अंशमा दावी गर्ने पक्षले आफु अंशियार भएको नाता सम्बन्धमा र अंश नपाएको कुरा स्थापित गर्नु पर्दछ भने अंश पाइसकेको भनी प्रतिवाद गर्ने पक्षले सगोलको सम्पत्तिबाट कुनै सम्पत्ति वादीले पाएको भए वादीले के कुन मितिमा के कुन सम्पत्ति के कुन रुपबाट प्राप्त गरेको हो, सो सम्पत्ति वादीको हकभोग स्वामित्वमा आएको वा निजले बिक्री व्यवहार दान दातव्य वा अरु कारणबाट हाल निजको जिम्मामा नरहेको वा हक स्वामित्व समाप्त भएको भनी पुष्ट्याई गर्नुपर्ने । § अंशबण्डा भएको लिखत प्रमाण व्यवहार भोग समेतबाट देखिने हुनु पर्छ, प्रतिवादीको नाममा धेरै कित्ता जग्गा छ, तर वादीको नाममा एक कित्ता पनि दर्ता नामसारी नभएको परिप्रेक्ष्यमा अंशबण्डा भैसकेको ठहराउन न्यायोचित नहुने । (प्रकरण नं.२५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी प्रत्यर्थी वादीका तर्फबाटः विद्वान अधिवक्ताहरु कोमल प्रकाश घिमिरे, द्वारिकामान जोशी र भ्रमण श्रेष्ठ अवलम्वित नजीरः ने.का.प.२०५०, निर्णय नं.४७४२, पृष्ठ २६९ फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०५८।१०।८ को फैसला उपर प्रतिवादीको तर्फबाट परेको मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार यस अदालतबाट निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. स्व. माने खड्गीको दुई भाई छोराहरुमा जेठो म फिरादीका पीता वेखालाल खड्गी र कान्छो विपक्षी प्रतिवादीहरुको पति पिता वेखारत्न खड्गी हुन् । मेरो पिताको २००६ सालमा मृत्यु भएको, विपक्षीका पिता पतिको २०४५ सालमा मृत्यु भयो । मेरो वावुको म एक मात्र सन्तान हुँ । वावुको मृत्यु भएको २ वर्ष पछि आमाले मलाई मेरो वावुको घरमा छाडी अन्य व्यक्तिसंग विवाह गरि जानुभयो । मेरो वाल्यकाल कान्छा वावु वेखारत्न खड्गीकै रेखदेखमा वित्यो । विपक्षीहरुले मलाई घरमा वस्न नदिएकोले डेरा गरी वसेको छु । मेरो वावुको अंश भाग मलाई दिनु पर्यो भन्दा तलाई हामीले अंश दिनुपर्ने होइन भनी विपक्षीहरुले अन्याय गरे । वण्डा गर्नुपर्ने सम्पूर्ण चल अचल विपक्षीहरुकै जिम्मा छ । मेरा वावु र विपक्षीहरुको वावु बीच हाल सम्म वण्डा भएको छैन र मेरा जिम्मा कुनै सम्पत्ती छैन । मेरो अंशहकमा असर पर्ने गरी विपक्षीहरुले कुनै प्रमाण पेश गरेमा अ.वं.७८ नं. वमोजिम वयान गर्ने हक सुरक्षीत गरी मेरी आमा सानीनानी खड्गीलाई अ. वं.१३९ नं. वमोजिम वुझिपाउँ ।