निर्णय नं. ७९२२ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९२२ - उत्प्रेषणयुक्त परमादेश । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६४/१२/१५ ३४१९ निर्णय नं.७९२२ ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलाश माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्बत् २०६३ सालको रिट नं.३६२९ आदेश मितिः २०६४।१२।१५।६ बिषय :– उत्प्रेषणयुक्त परमादेश । निबेदक महोत्तरी जिल्ला, खोपी गा.वि.स.वडा नं.६ बस्ने बद्री मण्डल विरुद्ध विपक्षीः महोत्तरी जिल्ला अदालत, जलेश्वर समेत § कुनैपनि घर परिवारको जेठो सदस्य भएको नाताले मात्र घर ब्यवहार गर्ने प्रयोजनका लागि त्यस घरको मुख्य ब्यक्ति मान्नु पर्छ भन्ने तर्क कानूनी एवं ब्यवहारिक रुपले उपयुक्त नरहने हुँदा घरको मुख्य ब्यक्ति रहेको भन्ने तथ्य तर्कमा आधारित नभै मुख्य भई घर ब्यवहार सञ्चालन गरेका वस्तुनिष्ठ कागज प्रमाणबाट पुष्टि हुनु पर्ने । (प्रकरण नं.१२) § निवेदक घरको मुख्य ब्यक्ति रहेको तथ्य प्रमाण पेश गरी पुष्टि गर्न नसकेको साथै ऋण लिंदा विपक्षीको मंजुरी लिएको नदेखिएको, तमसुकमा साक्षी समेत नराखेको समेतबाट उक्त ऋण मुलुकी ऐन लेनदेन ब्यवहारको ८ नं. अनुसार गोश्वारा धनबाट ब्यहोनु नपर्ने । (प्रकरण नं.१३) निवेदक तर्फवाटः विद्वान अधिवक्ता अरविन्दकुमार सिंह विपक्षी तर्फवाटः विद्वान अधिवक्ता रामवन्धु शर्मा अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) बमोजिम दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर निर्णय यस प्रकार छ :- २. मूल पुरुष स्व.विचारी मण्डलका दुई छोराहरुमध्ये म निवेदक बद्री मण्डल–१ र कान्छा विपक्षीमध्येका परमेश्वर मण्डल–१ छन् । बाबु आमाको स्वर्गारोहण पश्चात् घरको जेठो सन्तान म निवेदक नै भएकाले घर ब्यवहारको जिम्मेवारी मेरो काँधमा आई निर्वाह गर्ने क्रममा इलाज खर्च, काजक्रिया तथा श्राद्ध समेतका अन्य ब्यवहारहरु चलाउन विभिन्न ब्यक्तिहरुसंग कर्जा लिनुपर्ने बाध्यता थियो । जसमा विपक्षी परमेश्वर मण्डलको समेत सहमति थियो । संगोलको ऋण संयुक्त नाउँमा रहेको जग्गा बिक्री गरी तिर्न सहमती अनुरुपपछि विपक्षी भाई नमानेको हुँदा निज उपर महोत्तरी जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकोमा कारवाहीको सिलसिलामा तायदाती फाँटवारी माग्दा मैले सोमा विभिन्न ब्यक्तिहरुबाट लिएको ऋण समेत उल्लेख गरेको छु । अदालतबाट फैसला हुँदा ऋणका हकमा साहुका उजुर परेका बखत कानून बमोजिम हुने गरी वादी दावी बमोजिम अंश पाउने ठहर भई फैसला अन्तिम भइबसेको अवस्था छ । ३. अंश मुद्दा चलिरहकै बखत लेनदेनका धनीहरुले आफ्नो कर्जा असुल उपरका लागि म निवेदक उपर महोत्तरी जिल्ला अदालतमा मुद्दा दिंदा लेनदेनको दावी ठहर भई निज धनीहरुले म उपर बिगो मुद्दा दायर गरेको हुँदा विपक्षीमध्येका राम बाबु मण्डलले चलाएको बिगो नं.४९१ को मुद्दा कारवाहीको सिलसिलामा महोत्तरी जिल्ला, खोपी जंगहथा वडा नं.१(क) कि.नं.१८८ को क्षेत्रफल ०–१–७ र ऐ.कि.नं.१८९ को ०–४–१३ जग्गा संयुक्त नामको र म निवेदकको नामको जग्गा समेत रोक्का रहेको थियो । विपक्षी परमेश्वर मण्डलकी श्रीमती राम कुमारी देबीले मुलुकी ऐन अ.बं.८३ नं.को अनुमति लिई संयुक्त नाउँमा रहेको जग्गामध्ये आधा फुकुवा गरिपाऊँ भनी दिएको निवेदनमा महोत्तरी जिल्ला अदालतका तहसिलदारबाट जग्गा फुकुवा गर्न नमिल्ने भनी २०६२।८।६ मा भएका आदेश उपर मुलुकी ऐन दण्ड सजायका ६१ नं.बमोजिम परेको निवेदनमा जिल्ला अदालतबाट ऋणी बद्री मण्डल घरको मुख्य ब्यक्ति रहेको पुष्टि