निर्णय नं. ४१३६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१३६ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/३१ २३९८ निर्णय नं. ४१३६ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको रिट नं. ६९५ आदेश भएको मिति : २०४७।४।३१।४ मा निवेदक : कृषि सामाग्री संस्थान, शाखा कार्यालय रौतहट गौरको स्टोर किपर पदबाट हटाइएका गौरीशंकरप्रसाद यादव विरुद्ध विपक्षी : सञ्चालक समिति, कृषि सामाग्री संस्थान प्रधान कार्यालय, टेकूसमेत विषय : उत्प्रेषण (१) स्पष्टीकरण माग गर्ने टिप्पणी महाप्रबन्धकबाटै सदर भएको देखिँदा सञ्चालक समितिको निर्णय अनुसार स्पष्टीकरण माग गरिएको भन्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मिश्रिलाल यादव विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री दुर्गा सुब्बा आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. म निवेदक कृषि सामाग्री संस्थानको शाखा कार्यालय रौतहट गौरमा कार्यरत रहेको अवस्थामा तपाइले अञ्चल कार्यालय वीरगन्जबाट चलानी भएको च.नं. १०२९ मिति २०४१।९।२१ मा ट्रक नं. ना.अ.ख. २१२७ बाट चलानी भई गएको मल बुझी चलानी भर्पाईमा उपसहायक सुदेश खरेलको कीर्ते दस्तखत गरी सो मल आम्दानी नबाँधी संस्थानको गोदाममा मल अनलोड नगराई आफ्नै निजी घर डेरामा मल अनलोड गराई राखी हालसम्म पनि उक्त मलको हुने रकम जम्मा नगरी जानाजान आफूलाई नाजायज फाइदा र संस्थानलाई गैरकानुनी हानी नोक्सानी पुर्याउने काम कारवाही गरेकोले तपाइबाट विनियमको नियम ४३ उल्लंघन हुन गई विनियमको नियम ४४(ग)(ज)(झ) को अवस्थाहरु विद्यमान हुन आएकोले नियम ४५ बमोजिम तपाई उपर किन कारवाही नगर्ने भनेर पहिला पटक मिति २०४३।३।३० गते म बाट स्पष्टीकरण माग गरिएकोमा मैले आरोप लगाइए बमोजिम चलानी भर्पाईमा उपसहायक सुदेश खरेलको कीर्ते सही गरेर मल बुझेको र आफ्नो घर डेरामा मल अनलोड गराएको समेत कुनै काम कुरा गरेको छैन भनी स्पष्टीकरण पेश गरेकोमा मैले पेश गरेको स्पष्टीकरण प्राप्त नभएको भनेर पुनः मिति २०४३।६।१४ गते स्पष्टीकरण माग गरिएकोमा लेखिए बमोजिमको स्पष्टीकरण दिएको थिएँ । यसरी मैले दिएको स्पष्टीकरण सन्तोषजनक नभएको भनेर म बाट पुनः २०४३।९।१७ गतेको पत्रबाट अर्को स्पष्टीकरण माग गरिएकोमा पुनः स्पष्टीकरण दिएको थिएँ । मेरो जिकिरहरुको मूल्यांकन नै नगरी संस्थानको सहायक पदबाट बर्खास्तको सजायँ गर्ने निर्णय गरी मिति ०४३।११।३ को पत्रबाट जानकारी गराइएको थियो । उक्त निर्णय उपर विनियमको नियम ५१(१) अन्तर्गत सञ्चालक समितिमा २०४३।११।२९ गते पुनरावेदन गरेकोमा मेरो जिकिर उपर विचार नगरी शुरुकै निर्णयलाई नै कायम राखी मिति २०४५।४।७ गतेमा मेरो पुनरावेदन खारेज गर्ने भनी निर्णय गरियो । उक्त निर्णय उपर पुनः विचार गरियोस् भनी मैले विनियमको नियम ५१(२) नं. अन्तर्गत सञ्चालक समितिमा पुनः पुनरावेदन गरेकोमा पुनरावेदन खारेज गर्ने मिति २०४५।४।७ को निर्णय मनासिब नै देखिएकोले पुनः पुनरावेदन खारेज गर्ने निर्णय गर्ने भनी मिति २०४६।३।२९ गते भएको निर्णयको जानकारी मिति २०४६।४।५ को पत्रबाट गराइएको छ । ३. म उपर स्पष्टीकरण माग गर्ने अधिकार विनियमको नियम ४९(१) बमोजिम महाप्रबन्धकज्यूलाई रहेको छ । तर मलाई स्पष्टीकरण माग गरिएको मिति २०४३।३।३० र २०४३।६।